सुवेदीलाई लन्डनको जज कमेन्डेसन अवार्ड


काठमाडौं ।

गीतकार तथा भूकम्पविद् डा. शिव सुवेदीले विश्व चर्चित साइन्स जर्नलबाट प्रदान गरिने द जोन म्याडक्स प्राइज २०२४ अन्तर्गतको जज कमेन्डेसन अवार्ड प्राप्त गरेका छन्।

हालै लन्डनमा सम्पन्न समारोहमा उक्त अवार्ड घोषणा गरिएको थियो। भूकम्पविद्का रूपमा काम गर्दै आएका उनलाई नेपालमा भूकम्प चेतना जगाउन तथा भूकम्पको पूर्वतयारीका लागि अभियान चलाएवापत यो अवार्ड प्रदान गरिएको हो।

यो वर्षको अवार्डमा मनोनयमा छनोट भएका आठ वैज्ञानिकमध्ये विकाशोन्मुख मुलुकबाट मनोनयनमा पर्ने शिव एक्ला वैज्ञानिक थिए।

डा. सुवेदी संगीतकार पनि हुन्। उनीद्वारा रचित घामजस्तो चम्किलो हुन हुँदैन, भुमरीमा परे भने म, किन यस्तो हुन्छ, भुल्ने भयो धौ, बाँचेको छु धन्न, नरोउ है आमालगायत दर्जनौं गीत लोकप्रिय छन्। उनी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा भूकम्पविद्को रूपमा कार्यरत छन्।