पाठक पत्र: समस्या सम्बोधनभन्दा सत्ताकै मोह


बर्खायाम लागेसँगै देशभर बाढीपहिरोले वितण्डा मच्चाएको छ। कहीँ पहिरोले घर पुरिएको छ त कतै घरभित्र बाढी पसेको छ । अधिकांश घर डुबानमा समेत परेका छन्। बर्खाको समय भएसँगै काठमाडौं उपत्यकावासी खानेपानीको अभावमा तड्पिएका छन्। किनकि उनीहरुको घरमा जोडिएको धारामा पानी आउँदैन। उपत्यका मात्र होइन, देशका अन्य जिल्लामा समेत खानेपानीको समस्या निकै जटिल बन्दै गएको छ।

वर्षातमा त झनै पानी नआउँदा सर्वसाधारण पीडित हुने गरेका छन्। यसको ज्वलन्त उदाहरण धरान नै हो। यता, कतिपय ठाउँमा पानी ल्याउनका लागि तीन घण्टा भीरको बाटो हिँड्नुपर्ने बाध्यता छ। ग्रामीण भेगमा अहिले पनि पानी नपाउने भएकाले त्यहाँका जनता एक गाग्री पानीका कारण रातभर धारामा बस्छन् । पानी निकै महत्वपूर्ण छ। मानिस, पशुपन्छी, जनावर कोही पनि पानीविना बाँच्न सक्दैन। मानिस जन्मिदा र मर्दा पनि पानीकै आवश्यकता पर्छ। तिर्खा मेटाउनदेखि घरायसी काम गर्न, शौचालय जान, कपडा धुनसम्म पानी चाहिन्छ ।घरधनीहरु घर भाडामा लगाउँछन्।

ठाउँअनुसार एउटा कोठाको पाँच हजारदेखि २० हजार, एक फ्ल्याटको ३० हजारदेखि ३ लाख, एउटा सटरको २० हजारदेखि १८ लाखसम्म असुल्छन्। बत्ती, पानी, फोहोर, इन्टनेटको पैसा दोब्बर लिन्छन् तर पानीचाहिँ दिँदैनन्। बजारमा पानी किन्न पाइन्छ तर निकै महँगो छ।

व्यापारीहरु एक जार पानीको ६० देखि एक सय रुपियाँसम्म लिन्छन् । एक बोतल पानीको २५ देखि ५० रुपियाँसम्म लिइन्छ । यता, ट्यांकरअनुसार एकै टयांकर पानीको दुई हजारदेखि पाँच हजारसम्म उठाइन्छ । जार, बोतल, ट्यांकरलगायत बजारमा बेचबिखन हुँदै आएका सबै पानी खोला वा जमिनमुनिको हो । अहिले ढुंगेधारा, पोखरी, कुवा निकै कम छन् । त्यसैले, पानी नहुने जनता पानी पिउनबाट समेत वञ्चित हुने देखिएको छ । वर्तमान सरकारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । उनी झण्डावाला गाडी चढेर हिँड्छन् । प्रधानमन्त्री कार्यालय र सिंहदरबारमा दाँया–बाँया राष्ट्रिय झन्डा र सुरक्षाकर्मी राखेर बस्छन् । विडम्बना, उनले पिउने पानी नेपालको होइन । प्रधानमन्त्री ओली नेपालको पानी पिउँदैनन् । उनी एकै दिन ७० हजार रुपियाँ बराबरको विदेशी पानी किनेर पिउँछन् ।

२०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले देशभरबाट तुइन हटाउने निर्णय गरेका थिए । यद्यपि, अहिलेसम्म दुर्गम जिल्लामा पुल नहुँदा तुइनबाटै खोला तर्नुपर्ने बाध्यता छ । कतिपय सर्वसाधारणले तुइनबाट खोला तर्दा ज्यानै गुमाएका छन् ।
प्रधानमन्त्री ओली अहिले फेरि रेल र पानीजहाजको कुरा गरिरहेका छन् । उनी ०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री हुँदा नेपालको विदेशी ऋण ७ खर्ब थियो । तर ०७८ असार २८ गते पदमुक्त हुँदा नेपालको विदेशी ऋण २१ खर्ब पुग्यो । विदेशीबाट ऋण ल्याएर आफ्नो क्षेत्रमा भ्युटावर बनाए । यसअघि प्रधानमन्त्री हुँदा ओली पटक–पटक बिरामी भए । सिंहदरबारभन्दा बढी उनी स्वदेश तथा विदेशको अस्पतालमा हुन्थे । उनको उपचारका लागि मात्रै जनताले तिरेके खर्बौं कर सकिएको छ । अहिले उनी दैनिक ७० हजारको विदेशी पानी पिउँछन् । तर, त्यत्रो मूल्य पर्ने पानी किन्न पैसा कहाँबाट आयो ? अहिले सर्वसाधारण भन्छन् ।

किनकि ओली न त कुनै व्यापारी हुन्, न त उनको कुनै जागिर नै छ । गरिब परिवारमा जन्मिएका उनी पटक–पटक मन्त्रीसहित प्रधानमन्त्री बने र अहिले पनि मुलुकको प्रधानमन्त्री नै छन् । तर, प्रधानमन्त्रीको तलब मात्रले त दैनिक त्यो पैसा पर्ने पानी पिउन सकिँदैन नि त ? अहिले सर्वसाधारण भन्छन्, ‘कतै ओलीले कुनै सर्तमा त विदेशीबाट महँगो पानी ल्याएर खाइरहेका छैनन् ।’
अब प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई बताउनुपर्छ कि उनले यत्रो महँगो पानी कहाँबाट पैसा ल्याएर खाइरहेका छन्।

राज्यलाई कर तिर्ने, राजनीतिक दललाई मतदान गर्ने जनता खान नपाएर, उपचार नपाएर मरिरहेका छन् । केही दिनअघि मात्र शास्त्रीय संगीतज्ञ गुरुदेव कामतको निधन भयो । मिर्गौला रोगबाट पीडित उनले उपचार गर्ने पैसा नहुँदा ज्यान गुमाए । उनी त उदाहरण मात्रै हुन् । नेपालमा धेरै यस्ता व्यक्तित्व छन्, जसले आफ्नो जीवन राष्ट्रको सेवाका लागि वा आफ्नो देशलाई विश्वसामु चिनाउन लगाएका छन् । विडम्बना, तीनैलाई राज्यले नहेर्दा उनीहरुले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनुपरिरहेको छ । हाम्रा नेताहरु अलिकति पेट दुख्नेबित्तिकै उपचारका लागि विदेशी अस्पताल पुग्छन्।

राष्ट्रिय कलाकार/संगीतकारदेखि सर्वसाधारणसम्म उपचार नपाएर मर्नुपरिरहेको छ । दुर्भाग्यको कुरा त के छ भने जनताले उपचारसमेत राम्रो पाउँदैनन् । सरकारले जनताका लागि भन्दै सरकारी अस्पतालको त स्थापना गरिदिएको छ तर अहिले सरकारी अस्पतालमा जाँदा खुट्टा टेक्नेसमेत ठाउँ हुँदैन । फेरि निजी अस्पतालमा जाँदा मानिससँग पैसा हुँदैन । अनि उपचारका लागि त्यहाँ पुगेका जनता अस्पतालमा बेड नभएपछि भुइँमै सुतेको पनि भेटिन्छ ।

रोग लागेर मर्नै लाग्दासमेत सरकारी अस्पतालका चिकित्सकहरु बिरामीको चेकजाँच गर्दैनन् । कतिपय बिरामीले त पालो कुर्दाकुर्दै ज्यानै गुमाएको पनि थुप्रै घटना छन् । यता, नेताहरुका लागि मुलुकमै सुविधासम्पन्न अस्पताल भए पनि उनीहरु उपचारका लागि विदेश पुग्ने गरेका छन् । केही महिनाअघि संसद् भवनबाट निस्कँदा ओलीलाई सञ्चारकर्मीले सोधेका थिए, ‘तपाईं देशको प्रधानमन्त्री बन्न लाग्नुभएको हो ?’

उनको जवाफ थियो कि ‘म अझै एक–दुई वर्ष प्रधानमन्त्री बन्दिन ।’ यता, गिरीबन्धु प्रकारणबारे सोध्दा उनले ठाडै काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) लाई गएर सोध्नुस् भने । उनी आफूमाथि लागेको आरोपको समेत खण्डन गर्न सक्दैनन् । ०७८ वैशाख ७ गते र मंसिर १३ गतेको मन्त्रिपरिषद्को बैठकले झापाको गिरीबन्धु टी स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय गरेको थियो । अनि त्यतिखेर देशको प्रधानमन्त्री ओली थिए कि बालेन ? अरुमाथि खनिएर आफू पन्छिन पाइँदैन, प्रधानमन्त्री ओलीज्यू । केही दिनअघिको मन्त्रिपरिषद् बैठकमा उनले आफू दुई वर्ष प्रधानमन्त्री हुने तर एक हप्ताअघि नै राजीनामा दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताए । यसअघि ३९ महिना प्रधानमन्त्री हुँदा ओलीले बालुवाटारमा बसेर बाँसुरी बजाउनेदेखि देशको नक्सालाई केक नै बनाई काटेर खाए ।

यतिसम्म कि सरकारको विरोध गर्नेलाई कालो अरिँगालजसरी डस्नु भनेर निर्देशन दिए । उनले प्रधानमन्त्री भए पनि केही काम गरेनन् । अनि पार्टीबाटै विरोध शुरु भएपछि पद छोड्नुपर्ने डरमा संविधानविपरीत ०७७ पुस ५ गते र ०७८ जेठ ५ गते दुईपटक संसद् विघटन गरिदिए । अहिले शेरबहादुर देउवाले आफ्नी श्रीमती डा. आरजु राणा देउवा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जाने भएपछि ओलीसँग मिलेर सरकार गठन गरेका हुन् ।

कांग्रेस–एमाले मिल्दा अहिले कसैले पनि आपत्ति जनाएका छैनन् । किनकि देउवाले सबैलाई फकाएर राखेका छन् । ओलीसँग मिल्दा कांग्रेस पार्टीभित्र विरोध हुने देखिएपछि उनले शेखर कोइरालालाई अर्कोचोटि पार्टी सभापति बनाउँछु भनेर फकाएका छन् । कोइराला पनि पार्टी सभापति पाउँछु भनेर चुप लागेर बसेका छन् ।

ओली प्रधानमन्त्री भएको महिनौं हुन लागिसकेको छ तर उनले अहिलेसम्म केही काम गरेका छैनन् । न त यातायात क्षेत्रमा भएको सिन्डिकेट हटाउन सकेका छन्, न त नयाँ ट्याक्सी, ढुवानी गाडी, फोस्टक ट्याम्पोको नै दर्ता खुलाएका छन् । यसपटक पनि ओलीले आफ्नो विरोध हुन थालेसँगै संसद् विघटन गर्नेछन् । दुई वर्ष त परको कुरा हो, उनले अबको केही महिनामै संसद् विघटन गर्नेछन् ।
– सविना केसी ।