सिकाइ सुधार गर्न शिक्षकको सहभागिता

770
Shares

देश विकासका लागि शिक्षा पूर्वाधारको पनि पूर्वाधार मानिन्छ। शिक्षाले व्यक्तिलाई सम्पूर्ण रूपमा विकास गर्दै असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्दत गर्दछ। राज्यको सामाजिक, आर्थिक, संस्कृतिक, पूर्वाधार निर्माण र विकास गर्न सक्षम जनशक्तिको आवश्यकता पर्दछ । त्यस्तो जनशक्ति तयार गर्नको लागि घर, परिवार, समुदाय र विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ ।

अहिलेको वर्तमान परिस्थितिमा विशेषतः औपचारिक शिक्षाको प्रमुख भूमिका रहने हुँदा विद्यालयमा सिकाइने सिकाइ नै शिक्षा विकासको लागि आधारशीलाको रूपमा रहन्छ । देशको सर्वाङ्गीण विकासको मूल आधार शिक्षा भएकोले विद्यालयमा हुने गुणस्तरीय पठन पाठनले प्रमुख भूमिका खेल्दछ । गुणस्तरीय सिकाइको वातावरण मिलाउन विद्यालयमा शिक्षकहरूको प्रमुख भूमिका हुन्छ ।

विगतको तुलनामा प्रारम्भिक बाल विकासदेखि सबै तहमा शिक्षामा पहुँचयोग्य, समावेशी हुने दरमा बढोत्तरी हुँदै गए पनि समयसापेक्ष एवं जीवनोपयोगी सक्षमता हासिल गर्न र प्रतिस्पर्धामा उत्रन अझै कठिन भइरहेको स्थिति छ । राष्ट्रिय जनगणना २०७८ अनुसार पाँच वर्षभन्दा माथिको उमेरको साक्षरतादर ७६ दशमलव ३ प्रतिशत र १५ देखि २४ वर्ष उमेरको साक्षरता दर ९२ प्रतिशत पुगेको छ ।

प्राथमिक तह  (कक्षा १ देखि ५), आधारभूत तह(कक्षा १ देखि ८) र माध्यमिक तह(कक्षा ९ देखि १२) को भर्नादर क्रमशः ९४ दशमलव ९ ,  ९६ दशमलव १५ र ५७ दशमलव ४ प्रतिशत वृद्धि हुँदै गए पनि विद्यार्थीहरूको विद्यालय छाड्ने दर र सिकाइ उपलब्धि भने सन्तोषजनक देखिँदैन ।

शिक्षा क्षेत्रका विविध पक्षमा सुधार ल्याउन नीतिगत तथा कानुनी रूपमा सुधार गर्न विभिन्न प्रबन्धहरू अघि सारे पनि सन्तोषजनक ढंगबाट शैक्षिक उपलब्धि हासिल गर्न सकेको छैन । हरेक वर्ष माध्यमिक तहको कक्षा १२ र कक्षा १० को नतिजा विश्लेषण गर्ने हो भने माथिल्लो तहमा भर्ना हुन योग्य (ग्रेडेड) भन्दा अयोग्य(ननग्रेडेड) विद्यार्थीहरूको संख्या बढ्दै गएको पाइन्छ ।

अबदेखि माथिल्ला कक्षामा भन्दा पनि कक्षा १ देखि माथिल्लो कक्षाको नतिजालाई समेत वस्तुनिष्ठ किसिमले अध्ययन गर्न जरूरी भइसकेको छ । साच्चिकै विद्यार्थी स्वयं अयोग्य छन् या शिक्षक, अभिभावक, समुदाय, शैक्षिक संस्था, सरकार कसको कति हात छ ? स्वमूल्याङ्कन गर्न ढिला गर्न हुन्न । सबै क्षेत्रले जिम्मेवारी महसुस गरेर आ–आफ्नो दायित्व पुरागरेमा मात्र शैक्षिक क्षतिलाई सम्बोधन गर्न सकिन्छ ।

विद्यालय शिक्षाको दशकअघिको अभ्यास अंकमा आधारित मूल्याङ्कन प्रणाली र अहिलेको ग्रेडिङ्ग पद्दतिकै नतिजाको विश्लेषण गर्दा पनि सिकाइ उपलब्धिमा खासै सुधार भएको छैन । विद्यालयमा जुन उद्देश्यले लेटर ग्रेडिङ्ग निर्देशिका लागू भएको छ त्यो उद्देश्य पूरा हुन सकेको देखिँदैन । जबसम्म कक्षाकोठा भित्र शिक्षण सिकाइमा सुधार हुन्न तबसम्म मूल्याङ्कनको प्रक्रियागत ढाँचा बदलिएर मात्र उल्लेख्य नतिजा हात लाग्न सक्दैन । यद्यपि, परीक्षाको नतिजाले देखाएको परिणामले सिकाइ अवसर जुटाउन सरोकारवाला पक्षलाई घच्घच्याएको सन्दर्भ भने पक्कै भविष्यका लागि आशातीत देखिन्छ ।

समग्रमा अध्ययन गर्ने हो भने सिकाइ सुधार गर्न  प्रभाव पार्ने विभिन्न तत्वहरू व्यक्तिगत, मानसिक, संवेगात्मक, वातावरण्ीाय, वंशानुगत, उत्प्रेरणा, अभ्यास, सम्बलन, शिक्षकको व्यक्तिगत व्यवहारले प्रमुख भूमिका खेल्छन् । प्रमुखतः कक्षा कोठाको शिक्षण पद्दति र परीक्षा प्रणालीले सिकाइ उपलब्धि मापनमा प्रमुख भूमिका खेल्ने भएकोले विद्यालय शिक्षाको समग्र प्रक्रियागत प्रणाली नै बदल्न जरूरी देखिन्छ । तीमध्ये विद्यालय तहका विद्यार्थीहरूका लागि सिकाइ अवसर जुटाउने केन्द्रबिन्दुका रूपमा शिक्षक रहने भएकोले यहाँ प्रमुखत यस पक्षमा नै चर्चा गरिएको छ ।

माध्यमिक शिक्षाको उपलब्धि देखिने भनेकै कक्षा १० र १२ को नतिजा प्रकाशनबाट हो । राज्य, अभिभावक, समुदाय र विद्यार्थीहरूको लगानी अनुसार प्रतिफल आएन भनेर चर्चा चल्ने पनि यही नतिजा  आएपछि हुने गरेको छ । यही दुई तहमा देखिने गरेको उपलब्धि र विशेषतः अझ बढी कक्षा १० को प्रसङ्ग जोडिँदै आएको हामीले महसुस गरेका छौं । प्रत्यक्ष रूपमा विद्यार्थीहरूको मापनबाट नतिजा आएको देखिए पनि गम्भीर रूपमा विश्लेषण गर्ने हो भने अप्रत्यक्ष रूपले विभिन्न तत्वहरूले नतिजालाई असर पारेको हुन्छ । विशेषतः शिक्षक, शैक्षिक प्रशासन, अभिभावक, विद्यालयको शैक्षिक पूर्वाधार र बाह्य वातावरणले विद्यार्थीको नतिजालाई असर पारेको हुन्छ ।

वर्षैपिच्छे यस्तो नतिजाले समाजमा नकारात्मक धारणाको विकास हुँदै गएको पनि छ । सिकाइ उपलब्धि अभिवृद्धि गर्न अन्य विविध पक्षहरू आ–आफ्ना ठाउँमा जिम्मेवार भए पनि कक्षा कोठाभित्र शिक्षण सिकाइ क्रियाकलापमा शिक्षकको मुख्य भूमिका रहन्छ । शिक्षण गराउने जिम्मेवार व्यक्ति शिक्षक नै हो । कक्षा कोठामा सिकाउने पद्दति, प्रक्रिया पाठ्यक्रम निर्माणबाट शुरू हुने र पाठ्यक्रम निर्माणमा पनि शिक्षक, विज्ञहरूको नै प्रमुख भूमिका रहने गरेको छ ।

कुन विषय, कुन पाठलाई कति पाठ्यभार दिने, कसरी कक्षा कोठाको पढाइलाई रचनात्मक, सिर्जनशील बनाउने भन्ने कुराहरूमा पाठ्यक्रम निर्माण प्रक्रियाले पनि प्रभाव पार्दछ । प्राप्त पाठ्यक्रमअनुसार बढी भन्दा बढी सिकाइ केन्द्रित र व्यवहारमुखी भएर पठन–पाठन गराउन शिक्षकहरूको भूमिकाले असर गर्दछ । शिक्षकले देखाउने व्यवहारका आधारमा विद्यार्थीहरू सिकाइप्रति लक्षित हुनसक्छन् । योग्य र दक्ष शिक्षकले मात्र विषय वस्तु, शिक्षण कौशलका कुराहरू बझ्न सक्छन्। शिक्षण क्रियाकलापमा विद्यार्थीहरूलाई सक्रिय बनाउँदै सिकाइलाई सहज बनाउन शिक्षकले नै मद्दत पुर्‍याउन सक्ने भएको हुँदा शिक्षकका विभिन्न पक्षहरूलाई समेत अध्ययन गर्नुपर्ने हुन्छ ।
शिक्षकको व्यक्तिगत कारणले पनि सिकाइलाई असर पार्न सक्छ । शिक्षक स्वयं सिकाइप्रति कतिको उत्प्रेरित छ ? व्यक्तिगत रूपमा कतिको मनोबल उच्च छ ? जस्ता कुराले पनि प्रभाव पार्दछ । म जान्ने छु भन्ने घमण्ड पाल्ने, दम्भ बोक्ने, बालबालिकाको मनोभावना बुझ्न नसक्ने शिक्षकहरूले विद्यार्थीलाई सिकाइप्रति चाख जगाउन सक्दैनन् । समयसापेक्ष नयाँ–नयाँ प्रविधि, ज्ञान, सिप पनि शिक्षकहरूले ग्रहण गर्न सक्ने हुनुपर्दछ ।

शिक्षकले विद्यार्थीमा सिकाइका लागि उत्साह भर्ने, प्रेरणा दिने, विद्यार्थी केन्द्रित शिक्षण विधि प्रयोग गर्न सक्ने, विद्यार्थीहरूलाई जुनसुकै बखत सिकाइको लागि तयारीमा राख्ने, नियमित कक्षा कार्य, गृह कार्यको परीक्षण गर्दै अभिलेखीकरण गर्ने, समयको व्यवस्थापन गर्न गाह्रो परेको बखत पनि समय समयमा छड्के परीक्षण गर्ने, बालबालिकाको क्रियाकलापमा नियमितता बढाउने, सिर्जनशीलता बढाउने कार्यमा जुट्नु पर्दछ । शिक्षक उत्तरदायी, गुणी, असल विचार र व्यवहार भएको एवं पेशाप्रति सदैव समर्पित हुनु  पर्दछ ।

विद्यालयभित्र शैक्षिक पूर्वाधार कस्तो छ ? विद्यार्थीहरूका लागि सिकाइ अवसर प्राप्त गर्ने वातावरण छ कि छैन ? जस्ता कुराहरूले पनि सिकाइ प्रक्रियालाई असर गर्दछ । विद्यालयमा पठन पाठन गराउने शिक्षकको सदैव असल अनुशासन हुनु पर्दछ । विद्यालय हातालाई राजनीतिक दलका भ्रातृ सङ्गठनका रूपमा कार्य गर्ने थलो हैन स्वतन्त्र, योेग्य, सक्षम व्यक्तिका रूपमा शिक्षक खडा भएर उभिनु पर्दछ । राजनैतिक सहभागिताका कुरा, घरायसी गन्थनका कुरा, अनावश्यक टिका टिप्पणी, व्यक्तिगत स्वार्थका कुरा ल्याउन नै दिनु हुँदैन । विद्यालयको वातावरण पढाइका, सिकाइका कुरा मात्र गर्ने थलोका रूपमा हुनुपर्दछ । यस्ता क्रियाकलापका लागि विद्यालयले प्रष्ट आचारसंहिता नै निर्माण गर्ने र अनिवार्य कार्यान्वयन गर्नु पर्दछ ।

शिक्षक र विद्यालय व्यवस्थापन समिति बीचको असमझदारी बढ्ने स्थिति पनि आउन दिनु हुँदैन । विद्यालयको प्रमुख व्यक्ति प्रधानअध्यापक सदैव मिलनसार, मिहिनेति, सिर्जनशील, कर्मठ भएमा समग्र विद्यालयको वातावरण सुध्रिन मद्दत पुग्छ । यसैले हरेक प्रधानअध्यापक योग्य र सक्षम हुनु पर्दछ । शिक्षकहरू विद्यालयमा नियमित भए नभएको, सामाजिक र निजी आचरण कस्तो छ ? त्यस्ले पनि सिकाइलाई प्रभाव पार्ने हुँदा अनुशासनविपरीत कार्य गर्ने शिक्षकलाई दण्ड, सजायको व्यवस्था र राम्रो कार्य गर्नेलाई प्रोत्साहित गर्ने वातावरण गर्नुपर्दछ ।

आत्मअनुशासन, आत्ममूल्याङ्कन गर्न सक्ने शिक्षकहरूले मात्र इमान्दारिता, अनुशासन कायम गर्न सक्छन् । अतः विद्यालय प्रशासनले शिक्षकहरू योग्य छन्  कि  छैनन् रेखदेख गर्नु पर्दछ । क्षमतावान् शिक्षक आफैं सदैव सिक्न जागरूक हुन्छन् । हरेक शिक्षक जवाफदेही बन्न सक्नु पर्छ । सुधार गर्न तम्सने शिक्षकहरूलाई अध्ययन तालिमको अवसर जुटाई शिक्षण सिकाइमा लगाउने र सिक्न नखोज्ने, मनोबल नै नभएकालाई अवकास नै दिने वातावरण मिलाउनु पर्दछ ।

विद्यार्थीहरूको नियमितता हुनु र नहुनुले पनि सिकाइमा प्रभाव पार्न सक्छ ।  स्थानीय सरकारसँग समन्वय गरेर अभिभावक सचेतता समेत बढाउन जरूरी हुन्छ । शिक्षकहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन, शैक्षिक योजना, कार्ययोजना निर्माण र प्रयोग गर्न पर्याप्त समय दिन सक्ने गरी कक्षा कोठाको व्यवस्थापन समेत विद्यालयले मिलाउन सक्नुपर्दछ । देशको भौगोलिक, सामाजिक, सांस्कृतिक चलनअनुसार समुदायमा सञ्चालन हुने विभिन्न सांस्कृतिक गतिविधि, मौसमी कामकाजमा समेत समुदायका बौद्धिक, अगुवा व्यक्तिसँग छलफल गरेर, समन्वय गरेर कक्षा व्यवस्थापनका लागि विशेष समय समायोजन गर्न सक्ने गरी मात्र सरिक हुन अनुरोध गर्नुपर्दछ ।

सिकाइ सुधारका लागि शिक्षकसँगै जोडिएको अर्को पक्ष भनेको प्रशासनिक पनि हो । सिकाइ अवसर जुटाउन र शिक्षण पेशालाई मर्यादित बनाउन, राष्ट्र सेवकको मर्यादा क्रममा शिक्षकको स्थानलाई प्राथमिकतामा राख्न जरूरी छ ।
बेला बेलामा हुने कमसल र अव्यावहारिक नीतिगत व्यवस्थाहरूले शैक्षिक सुधारमा तगारो लाग्ने काम गराउँछ । विद्यालय तहमा लागू गरिएको ग्रेडिङ्ग प्रणालीहरूको पटक पटक फेरबदल भइरहनु, न्यून ग्रेड आएकालाई शिक्षा विषयमा अध्ययन गर्न सक्ने बनाउनुले पनि शिक्षक उत्पादन हुन नसक्ने र भए पनि कमसल क्षमताका मात्र उत्पादन भइरहेको हामीले भोग्दै आएका छौं ।

शिक्षकमा पेशागत सन्तुष्टि हुन पनि जरूरी छ । शिक्षकको व्यावसायिक दक्षता बढाउन र समयसापेक्ष कार्य सम्पादन मूल्याङ्कन, प्रोत्साहन, वृत्ति विकास, राज्यले दिने पुरस्कार, मानपद्वी वितरणमा समेत सिकाइ उपलब्धिका आधारमा शिक्षकलाई प्राथमिकतामा राखेर छनौट गर्नुपर्दछ । योग्य, सक्षम शिक्षकको छनोट गर्ने र सकेसम्म आफ्नै घरपायक भौगोलिक क्षेत्रमा पदस्थापनका लागि व्यवस्था मिलाउन सक्नुपर्दछ । शिक्षक विद्यालयको मात्र नभएर समुदायको समेत अगुवा हुने भएकोले आफ्नै घर नजिकको ठाउँमा शिक्षण गर्दै पारिवारिक  र अन्य सामाजिक जागरणका अभियानमा समेत लाग्न सजिलो हुन्छ । धेरै टाढाको भूगोलमा खटिँदा स्थानीय लवज, भाषा, संस्कृतिमा फरक पर्दा केही न केही मात्रामा पठन पाठनमा कठिनाइ भएको सन्दर्भ पनि छ ।

शैक्षिक तहबाट दिइने शिक्षक तालिमलाई वस्तुनिष्ठ र तालिममा प्राप्त ज्ञान, सिपलाई प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्न लगाउनु पर्दछ । समग्र पठनपाठन, मूल्याङ्कन प्रक्रियाका बारेमा समय समयमा स्थानीय सरकार, सम्बन्धित सरोकारवाला संस्थाहरूबाट अनुगमन, नियमन गर्नुपर्दछ । शिक्षकलाई राजनैतिक दलको सहभागितावाट टाढा राख्दै विद्यालय हाताभित्र राजनैतिक गतिविधि हुने क्रियाकलापलाई रोक्नुपर्दछ ।

विद्यार्थीले सिकेका कुराहरू कति मात्रामा अभ्यास गर्ने वातावरण पाएका छन् ? सिकेका कुराहरू शिक्षक, अभिभावक र विद्यार्थीबीच आदान प्रदान गर्ने अवसर पाएका छन् कि छैनन् ? यस्तो वातावरण मिलाउन शिक्षकहरूले सकिरहेका छन् कि छैनन् ? विद्यालयमा प्रर्याप्त शिक्षक छन् कि छैनन् भन्ने कुरामा समेत प्रशासनिक निकायवाट अनुगमन हुनुपर्दछ । कतिपय अवस्थामा पाठ्यक्रमको मर्म र भावनाअनुसार पठन पाठन, मूल्याङ्कन भएको पाइँदैन । यसैले विद्यालयमा हुने निर्णयात्मक मूल्याङ्कन, आन्तरिक मूल्याङ्कनलाई प्राथमिकता राखिएको छ कि छैन ? हरेक पाठ पढाउनेबित्तिकै क्रियाकलाप अनुसार नमूना प्रस्तुत गर्न र परीक्षण गर्ने पद्दति कस्तो छ ? यस्तो कार्यमा शिक्षक कति अभ्यासरत छन् ? शिक्षकसँग प्रर्याप्त समय छ कि छैन ? जस्ता कुराहरूमा समेत ध्यान पुर्‍याउन आवश्यक छ ।

राम्रो शिक्षण गर्ने, असल व्यवहार र शैक्षिक उपलब्धि हासिल गराउन सक्ने शिक्षकहरूलाई वृद्धि विकासका अवसर जुटाउन प्रशासनिक तहबाट विशेष पहल गर्नु पर्दछ । शिक्षकहरूको भूमिकालाई प्रभावकारी बनाउन प्रशासनसमेत सक्षम हुन जरूरी छ ।

यसरी नै शिक्षकहरूको मर्यादालाई उच्च राख्न र उपयुक्त वातावरण तयार गर्न सामाजिक परिवेशले समेत प्रभाव पार्दछ । समाजमा शिक्षकको मर्यादा कस्तो छ ? शिक्षाप्रतिको धारणा, चिन्तन कस्तो छ ? विद्यालय क्षेत्रभित्रको सामाजिक परिवेश, वातावरण कस्तो छ ? आदि जस्ता कुराहरूले शिक्षकप्रति हेर्ने दृष्टिकोण बन्छ र विद्यार्थीहरूको सिकाइस्तर सुधार्न समाजको समेत सक्रिय सहभागिता रहेको हुन्छ ।

समग्रमा शैक्षिक लगानीलाई वस्तुनिष्ठ किसिमले परिचालन गर्दै लगानीअनुसारको प्रतिफल प्राप्त गर्न सारोकारवाला सबै जागरूक हुनुपर्दछ । शिक्षा नीति समयसापेक्ष र स्पष्ट हुन नसक्दा एवं कार्यान्वयन तहमा विभिन्न पक्षहरू सचेत र गम्भीर नहुँदा आउने अनेकौं उल्झन त  छदैछन् ।

यसका बाबजुद पनि शिक्षकले कक्षा कोठामा सिकाइ सहजीकरण गर्न प्रमुख भूमिका खेल्ने भएकोले विद्यार्थीहरूको सिकाइ उपलब्धि हासिल गराउन कर्मठ र इमान्दार भएर लाग्न आवश्यक देखिन्छ। उपलब्ध स्रोत, साधन र समयलाई व्यवस्थापन गर्दै दोसहरू एक आपसमा नथोपरी आफ्नो कर्तव्यलाई ख्याल गर्नु नै बढी श्रेयष्कर हुन्छ। सर्वप्रथम शिक्षकले नै कक्षा कोठामा साँच्चै मन लगाएर विद्यार्थीहरूमा सिकाई अवसर जुटाउन अघि सरौं त शैक्षिक स्तर सुधार हुन्छ कि हुन्न ! पक्कै पनि शैक्षिक उपलब्धि अहिलेको भन्दा दोब्बर रूपमा हासिल हुन्छ भन्ने मलाई लाग्छ।

कमजोर नतिजा

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ लशमलव १४ प्रतिशत परीक्षार्थी नन ग्रेडेड (एनजी) भएका छन् ।  सरकारी विद्यालयको कमजोर नतिजाको कारण नौ वर्षपछि सबैभन्दा धेरै अर्थात २ लाख ४२ हजार ३ सय १३ जना एनजी ल्याएका छन्  । यो वर्ष संस्थागत विद्यालयको नतिजा उत्कृष्ट भएको कारण सरकारको नाक जोगिएको हो । नत्र नौ वर्षको इतिहासमा सबैभन्दा बढी फेल हुने संख्या धेरै हुन्थ्यो । यो वर्ष  ४ लाख ६४ हजार ७ सय ८५ विद्यार्थीले परीक्षा दिएका थिए ।

 एकसाता अघि बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार २ लाख २२ हजार ४ सय ७२ जना  अर्थात ४७ दशमलब .८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसमा १ सय ८४ जना विद्याथीले ४ जीपीए ल्याएका छन् । सबभन्दा धेरै ७८ हजार ८ सय ७४ जना जीपीए २ दशमलव ८० देखि ३ दशमलव २० ल्याएका छन् ।

विसं २०७१ अगाडिसम्म नजिता श्रेणीमा प्रकाशित हुन्थ्यो । विद्यार्थीले पाएको अंकका आधारमा विशिष्ठ, प्रथम, दोस्रो र तेस्रो श्रेणीमा पास हुन्थे भने ३२ भन्दा कम अंक ल्याउनेहरू अनुत्तीर्ण हुन्थे । त्यसबेला बढीमा ४८ प्रतिशतसम्म विद्यार्थी पास भएका थिए ।

यस वर्ष २०७८मा जारी भएको नयाँ लेटर ग्रेडिङ प्रणाली लागू भयो । उत्तीर्ण हुन हरेक विषयमा सैद्धान्तिकतर्फ (७५ पूर्णाङ्क) ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ (२५ पूर्णाङ्क) ४० प्रतिशत अंक ल्याउनैपर्ने भयो । अर्थात अनिवार्य रूपमा  सैद्धान्तिकमा २७ र प्रयोगात्कममा १० अंक ल्याउनै पथ्र्यो । कम अंक ल्याएका कारण  वर्ष २ लाख ४२ हजार ३१३ जना विद्यार्थी ननग्रेडमा परेका हुन् ।

दुई विषयमा ३५ प्रतिशत अंक ल्याउन नसकेका विद्यार्थीको संख्या १ लाख १५ हजार ८ सय ३४ छन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जति विषय ल्याए पनि पुनः परीक्षा दिन पाउने व्यवस्था थरेको छ । अर्थात साउन २३ देखि ३१ गतेसम्म हुने ग्रेडवृद्धी परीक्षामा ५२ प्रतिशत बढी विद्यार्थीले परीक्षा दिनेछन् ।  एसइईको नतिजाअनुसार १ लाख १५ हजार ८ सय ३४ परीक्षार्थीले मौका परीक्षामा सम्मिलित हुन पाउने  थिए ।  अब परीक्षा फारम भरेर सहभागी नहुने ८ हजार १ सय ९५ सहित निर्देशिका संशोधन भएमा २ लाख ४२ हजार ३ सय विद्यार्थीले पुनः परिक्षा दिन पाउने छन् ।

तथ्याङ्क अनुसार १ लाख ७७ हजार ९ सय ८५ जना विद्यार्थीले अनिवार्य गणित विषयमा एनजी अर्थात पूर्णाकको ३५ प्रतिशत अंक ल्याउन सकेका छैनन् । विज्ञानमा १ लाख २६ हजार ९ सय ३३ जना, अंग्रेजीमा १ लाख १३ हजार ३ सय ८३, नेपालीमा ७९ हजार ६१ र सामाजिक विषयमा ७३ हजार ८ सय  ७७ विद्यार्थीले ३५ प्रतिशत अंक अर्थात २७ नम्बर अंक ल्याउन असफल भए ।  त्यसो भनिरहँदा सामुयादीक विद्यालयमा यसले गणित, विज्ञान, अंग्रेजी र सामाजिक जस्ता अनिवार्य विषयको शिक्षण सिकाइमा कमजोर् नतिजा साबित भयो ।

विद्यालयमा विषय शिक्षक, भौतिक संरचना, पाठ्य सामग्री अभावको कारण पढाइमा सुधार हुन नसकेको शिक्षाविद्को भनाइ छ । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले माथिका विषयमा ध्यान दिने हो भने सामुदायिक विद्यालयको सिकाइको स्तर माथि पुग्ने थियो । संघ, प्रदेश र स्थानीय सरकारको समन्वय नभएका कारण पढाइ खस्केको हो ।

तैपनि यो वर्षको नतिजाअनुसार कक्षा ११ मा भर्ना हुन योग्य २ लाख २२ हजार ४ सय ७२, दुई विषय लाग्ने १ लाख १५ हजार ८ सय ३४ र दुई विषय भन्दा बढीमा २७ अंक पनि नल्याएका १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले पुनः परीक्षा दिन पाउनेछन् ।

यो वर्षको लागि मात्र हो वा अर्को वर्ष पनि सबै विषय लागेकाले परीक्षा दिने पाउने नपाउने टुंगो छैन । यो वर्ष सबै विषयमा एनजी ल्याए पनि परीक्षा दिन पाउने व्यवस्था छ । एनजी आउने सबै विद्यार्थीले परीक्षा दिन पाउने भएपछि यो वर्षको कक्षा ११ को भर्ना पछि धकेलिनेछ । भने पढाई शुरू हुन झण्डै भदौ अन्तिमसम्म कुनुपर्ने अवस्था छ । कमजोर नतिजाको कारण यो वर्ष कक्षा ११ को पढाइ कहिलेबाट शुरू हुन्छ भन्न सक्ने अवस्था छैन ।