शिक्षक नै हुन् अग्रदूत

1.3k
Shares

मुकुन्दराज शर्मा, प्रिन्सिपल
लिटिल एन्जल्स स्कुल

जबजब बोर्ड परीक्षाको नतिजा बाहिरिन्छ, तबतब देशभरि असफलताको बाढी पहिरो बग्छ । चर्चाको ढोल बज्छ, मृदङ्ग बज्छ । त्यसमा पनि विशेषतः दस कक्षाको नतिजामा । हुनु पर्ने त बाह्र कक्षाको परीक्षाफलमा हो, किनकि बाह्र भनेको एक्जिट लेभेल हो। दस कक्षा त अब चौतारीजस्तै भयो, लामो यात्रामा एकैछिनको विश्राम ।

हुन त चारैतिरबाट विद्वान्हरूका आवाज आइरहेका छन्, दस कक्षामा बोर्ड परम्परा अब खारेज गर्नुपर्छ। उहाँहरूले तेस्र्याउनुभएका तर्कमा दम नभएको होइन। माध्यमिक शिक्षा परीक्षा (एसईई) अब एघार कक्षा पढ्ने स्वीकृति पत्रबाहेक केही रहेन । उच्च शिक्षामा यसको थप केही भूमिका छैन।

तथापि, मलगायत थप केहीको तर्क के रह्यो भने यति हुँदाहुँदै त पढाइ घर्केर यहाँ पुगिसक्यो, अझ दसको बोर्ड परीक्षा नै नरहे के कति बिजोग हुनेहोला ? चिन्ता यति मात्रै हो । सबैलाई हाइसन्चो हुन्छ भन्ने एउटा मात्रै मूल चिन्ता हो । विद्यार्थीको पढाइप्रतिको लगाव र शिक्षाको गुणस्तरमा ह्रास नआओस् भन्ने मूल चिन्ता हो। यही पत्रिकाको यही विशेष अङ्कमा यही मौसममा हो, गतः वर्ष मैले एसईई खारेजी गरी माग्ने विचारहरूका विरुद्ध खरो प्रतिकारका शब्द खर्चेको थिएँ। अहिले भने मेरा विचार अलि मत्थर, अलि मध्यम भएका छन्। मैले पनि एसईईको औचित्य र उपादेयतालाई आफ्नो अनुभवको तराजुमा जोख्दै छु ।

वास्तवमा एसईईको नतिजा हाम्रो देशको सर्वाधिक चर्चित पन्ध्र दिने पर्व हो । यसले प्रत्येक घर तताउँछ, समाज तताउँछ, सञ्चार क्षेत्र तताउँछ, संसद् भवनसम्मै तताउँछ । शिक्षाका विज्ञ र व्याख्याताहरू बुरुक्क–बुरुक्क उफ्रन्छन् । जसले पढ्ने हुन्, जसले पढाउने हुन्, ती केही बोल्दैनन् । कथाका वास्तविक पात्र नेपथ्यमै छोडिन्छन् । पन्ध्र दिन बित्दा नबित्दै खहरे खोला सुके झैँ सबै स्यामसुम्म हुन्छ, मानौँ भर्खरै कुनै आँधी आएकै थिएन ।

कोही भन्छन् मास्टरले पढाउँदै पढाएनन्, कोही भन्छन् सरकार पङ्गु भयो, कोही भन्छन् शिक्षालाई बजेटै पुगेन, कोही भन्छन् नीति अस्थिर भयो, कोही भन्छन् राजनीतिले शिक्षा बिगार्‍यो, कोही भन्छन् विदेश जानेको लर्कोले देशै रित्तियो । कसैले केही त भन्यो किस्ता किस्तामा ? अंश अंशमा ?

तर, कसैले सोध्दैन, विद्यार्थीको पठन संस्कृति किन सकियो ? पढाइमा चिन्तन गर्नुपर्छ, बुझ्नुपर्छ, केही घोक्नु पनि पर्छ, लेखेर अभ्यास पनि गर्नु पर्छ । धेरै विधिहरू मिसिएर बल्ल पढाइ पूर्ण बन्छ । किन किताब छुँदा विद्यार्थीको हात पोल्छ ? पढ्न लाग्दा आँखा टन्किन्छ ? किन अक्षरहरू काला माकुरा झैँ सल्याङ्बल्याङ् गर्छन् ? किन दुई–चार घन्टा मोबाइल नचलाई निद्रा पर्दैन ? किन भाइबर, मेसेन्जर, इन्स्टाग्राम, च्याट जीपीटी बेगर भोक लाग्दैन ? सामाजिक सञ्लालको भाइरसले मस्तिष्क कति रित्याइसक्यो ? मोबाइलको मोहमा लट्ठिएको छ पुस्ता । बरू भोजनबिना रात टर्छ, मोबाइलबिना निमेषभर पनि टर्दैन। आर्टिफिसियल इन्टेलिजेन्सले लेखिदिएका उत्तरले कति दिनसम्म गुजारा चल्छ ? यो लेखमा म सहरमुखी र सुविधाभोगी विद्यार्थीहरूमा बढी केन्द्रित छु । ग्रामीण भेगका विद्यार्थीहरूको वास्तविक पीडा बेग्लै छ । त्यसको चर्चा पनि जरूरी छ, फेरि कुनै वेला ।

विद्यार्थी मिहिनेतका पर्याय हुन् । मिहिनेत पढाइको पहिलो आवश्यकता हो । अचेलका विद्यार्थी मिहिनेतका द्रोही भएका छन् । मिहिनेत गर्न सिकाउने विद्यालयलाई ‘घोकन्ते’ को माला पहिर्‍याइन्छ । जतिसुकै ‘कन्सेप्चुअल लर्निङ’का कुरा गरे पनि अभ्यासबिना, प्रयोगबिना, मिहिनेतबिना सित्तैमा सजिलै प्राप्त हुने शिक्षा कतै छैन । गृहकार्य खै भनेर सोध्यो भने विद्यार्थीलाई दुई दिन ज्वरो आउँछ । उल्टै शिक्षक आरोपित हुन्छ । समाज नै अनुशासनको परिधिभन्दा पर पुगेका बेला विद्यार्थीमा कति अनुशासनको अपेक्षा गर्न मिल्छ ? हामी हाम्रै समयलाई ध्यान दिऔँ । बालमनोविज्ञान, बालरहर र बालअपेक्षाका विरुद्धमा जाने शिक्षकप्रतिको हाम्रो घृणाभाव कति उग्र हुन्थ्यो ? अहिले ‘बालमनोविज्ञान’ आफैँ पुलपुलिएको अवस्थामा छ । निरीह छन् अभिभावक, निरीह छन् शिक्षक । सबैले मुसो चुटे झैँ चुटिरहेका छन् शिक्षकलाई । शिक्षकले पढाएनन्, त्यसैले शिक्षा बिग्रियो ।

हुन त शिक्षा बिग्रिने थुप्रै ‘फ्याक्टर’ मध्ये शिक्षकले ठूलो हिस्सा ओगट्दछ। सत्य हो । तर, पूर्ण हिस्सा होइन । स–साना हिस्साहरूले भित्री बाहिरी ‘फ्याक्टर’ को अहम् भूमिका निर्वाह गरेका हुन्छन्। यो कुरालाई इन्कार गर्न मिल्दैन कि शैक्षिक सुधारको मूल नायक शिक्षक नै हो। उसले चाहेमा धेरै प्रतिकूल स्थितिमा पनि सकारात्मक सूचक निर्माण गर्न सक्दछ । तर, सबै दोषको भारी शिक्षकलाई बोकाएर आफू पानीमाथिको ओभानो हुने परिपाटीले वाक्क छ नेपालको शिक्षा । मूल्याङ्कन विधि शिक्षाको सिकाइस्तर मापनको एउटा मूल क्रिया हो। यसले सिकाइको वास्तविक अवस्थालाई ‘रिफ्लेक्ट’ गरिदिन्छ जसलाई आधिकारिक आधार मानेर शिक्षण पद्धतिमा सुधार र विकास गर्ने हो । तर, यदि मूल्याङ्कन पद्धति नै दोषमुक्त हुन सकेन भने शिक्षालाई तलतिर लैजाने कारक बन्न सक्दछ ।

प्रश्नपत्र निर्माण, एकरूपताका साथ स्तरीय परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्कको सही योग र तालिकीकरण जस्ता कार्यहरूले मूल्याङ्कनलाई बल्ल विश्वसनीय बनाउँछ। उत्तरपुस्तिका परीक्षणका बारेमा त धेरै किस्साहरू सुनेका छौँ । केही प्रत्यक्षदर्शीले सुनाएका किस्सा पनि मैले सुनेको छु । वर्षैपिच्छेका फरक फरक निर्णयले त झन् कायल छ देश। २०७१ सालमा पहिलोचोटि लेटर ग्रेडिङ पद्धतिको आरम्भ हुने घोषणा गर्दै अबदेखि कोही अनुत्तीर्ण नहुने भनेर जब ऐलान भयो, त्यसयता विद्यार्थी, शिक्षक, अभिभावक सबैको हाइसञ्चोलाई कति जाँच्नुभएको छ ? अनि अचानक गिर्दो पठन संस्कृतिलाई ध्यान दिनुभएको छ ? अनि त्यसैमाथि थपियो कोरोना महाशय। सित्तैका ग्रेडसिट हातहातमा ।

खराब नतिजाको दोषको अंशियार सबैजना हुनुपर्छ, न कि एक्लो मास्टर प्राणी। राम्ररी नपढाउने पनि होलान्, तर नपढ्ने पनि उत्तिकै छन्। पोखरीमा पुर्‍याउँदा पनि पानी नपिउनेहरू प्रशस्तै छन्। प्रिय शिक्षक साथीहरू, हाम्रो भूमिका यी बालबालिकाहरूका लागि धेरै उचो छ। सम्झाउने, फकाउने, माया गर्ने, पढाउने, सिकाउने सबैथोक हामीले नै हो। अरूसँग न त्यो सिप छ, न जिम्मेवारी। त्यसैले आउनुस्, शिक्षाको अनुहार हामीले नै फेरिदिऔँ । हामी आफैँ बनौँ अभियन्ता, आफैँ बनौँ अग्रदूत।