मदन भण्डारी सभाहल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग

490
Shares

उदयपुर ।

उदयपुर जिल्लाका लागि गौरवको योजनाका रुपमा रहेको मदन भण्डारी सभाहल निर्माणमा ठेकेदार कम्पनिले गुणस्तरहीन सामाग्री प्रयोग गरेको र काममा ढिला सुस्ती गरेको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७२।०७३ मा देशका २५ नगरपालिकालाई स्मार्ट सिटी घोषणा गर्दा त्रियुगा नगरपालिकाको गाईघाटमा मदन भण्डारी सभाहल बनाउने योजना अनुसार प्रदेश स्तरीय सभा भवन बनाउने योजना अघि सारेको थियो ।

तत्कालिन प्रतिनिधिसभा सदस्य मञ्जु कुमारी चौधरीको अगुवाईमा सभाभवन बनाउनकालागि ४६ अर्ब बजेट राष्ट्रिय योजना आयोगको रातो किताबमा पारिएको थियो । सोही योजना अनुसार सभा भवन निर्माण भैरहेको राजबिराज स्थित सघन शहरी विकास तथा भवन निर्माण आयोजनाले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं १३ स्थित पुरानो हवाई फिल्डको जग्गा मध्ये केही जग्गा सगरमाथा कृषि बजारकालागि र करिब २ विघा मदन भण्डारी सभाहलकालागि छुट्याएको थियो । २०७२ सालदेखि निर्माण शुरु गरिएको भए पनि हालसम्म पनि काम सकिएको छैन भने गिट्टी बालुवा गुणस्तरहीन प्रयोग गरिएकोमा स्थानीयहरुले विरोध गरेका छन् ।

यस विषयमा नेपाल सरकार शहरी विकास मन्त्रालय सघन शहरी विकास तथा भवन निर्माण अयोजना राजविराज सप्तरीका मदन भण्डारी सभाहलको निर्माण कार्य हेर्ने साइड इन्जिनियर सुशिल चौधरीले आफूले गुणस्तरहीन सामाग्री प्रयोग गरेर निर्माण गरेको सुचना पाएपछि निर्माण कम्पनिलाई चिठ्ठी लेखेको र त्यसपछि ठेकेदार कम्पनिले काम रोकेको बताए ।

इन्जिनियर चौधरीले गुनासो आउने बित्तिकै आफुले काम गरेको ठाउँमा हेर्दा कमसल निर्माण सामाग्री भुँइमा झार उम्रेको ठाउँको बालुवा गिट्टी प्रयोग गरेको देखेकोले पत्र काटेर कमसल निर्माण सामाग्री प्रयोग नगर्न भनेको बताए । यसैगरी ठेकेदार कम्पनिका प्रतिनिधि अनिस थापा मगरले निर्माण गर्दा ढिलो भएको स्वीकार्दै सामानको अभावले पनि ढिलो भएको हो । असार मसान्त सम्ममा ट्रस्ट लगाउने काम सक्ने लक्ष्य रहेको र पछाडितिरको काममा ड्रइङ नभएकोले ढिला भएको र सो आएपछि लगाउने बताए ।

नेकपा एमाले उदयपुरकी उप सचिव गंगा राईका अनुसार यो सभाहल २०७२/०७३ सालमा नेकपा एमाले पोलिट व्युरो सदस्य यसै जिल्लाकी तत्कालिन प्रतिनिधिसभा सदस्य मञ्जु चौधरी शहरी विकास राज्यमन्त्री भएका समयमा निर्माण शुरु गरिएको हो । उदयपुरको पहिचानकालागि, आवश्यकता ठानेर ठूलो कार्यक्रम गर्नु पर्दा धेरै जना सहभागी अटाउने ठाउँ नभएकोले निर्माण गरिएको हो । तर विभिन्न कारणले निर्माणमा ढिला भएको, भवन निर्माणमा समस्या आएको, सुरक्षित नभएको, प्राविधिक समस्या आएको जन गुनासो आएपछि काममा सुस्तता भएको हो ।

मदन भण्डारी सभा हलमा दुई वटा ठूला र एउटा सानो सभा हल हुने छ भने चमेना गृह समेतको व्यवस्था हुने गरी निर्माण भैरहेको र वातानुकुलित यन्त्र जडान गर्ने काम बाँकी रहेको छ । शुरुमा मूल्यअभिवृद्धि कर बाहेक रु. २४ करोड ९लाख ४१ हजार १ सय ८७ रुपैया६० पैसाको लागत स्वीकृत भएको योजना एक वर्षपछि परिमार्जित स्टीमेट गर्दा २७ करोड हाराहारीमा लागत पुगेको थियो । अहिलेसम्ममा सबै संरचना काम भएको तर योजनाको भुक्तानी १७ करोड ५० लाखमात्र भएको पहिलो चरणकोे निर्माण कम्पनि रविना, जोशी, पवित्रा जेभी काठमाण्डौले जाएको छ ।

दोश्रो चरणको काम सुनकोशी निर्माण कम्पनि नेपाल काठमाण्डौले १८ करोड २ लाख १६ हजार १ सय १ रुपैया ७० पैसामा भ्याट बाहेक लिएर२०७९ मंसिर १४ मा सम्झौता गरेको हो । २०८१ जेठ १३ गतेभित्रमा काम सक्ने योजना रहेकोमा काम नसकिएको अवस्था हाल देखिएको छ । हाल कामको गति अत्यन्त सुस्त रहेको छ भने ठेकेदार प्रतिनिधि अनिस थापा मगरले असार मसान्तसम्ममा ट्रष्टको काम सकेर अन्य काम आउदो मंसिरसम्ममा सक्ने बताएका छन् ।