रौतहट ।
छठ पर्वका अवसरमा जलाशय तथा नदीमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले रौतहटको सदरमुकाम गौरस्थित बर्डरवा तालमा उद्धार डुङ्गासहित हेल्थ डेस्क स्थापना गरेको छ।
गौर नगरपालिका–स्थित बर्डरवा तालमा सशस्त्र प्रहरी बल (एपीएफ) ले उद्धार डुङ्गा र स्वास्थ्य सहायता डेस्कसहितको टोली परिचालन गरेको हो।
छठ पर्वका अवसरमा व्रतालु तथा श्रद्धालु भक्तजनको भीड हुने भएकाले सम्भावित डुबान तथा अन्य दुर्घटनालाई मध्यनजर गर्दै आवश्यक उद्धार सामग्रीसहित सुरक्षाकर्मीलाई ड्युटीमा खटाइएको छ।

परिचालित टोलीले तालमा छठ पूजा गर्न आउने व्रतालु, श्रद्धालु तथा सर्वसाधारणको सुरक्षामा ध्यान दिनुका साथै आवश्यक परेको अवस्थामा तत्काल उद्धार र प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।
सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणअन्तर्गत बोर्डर आउट पोस्ट गौर भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा भट्टका अनुसार सम्भावित दुर्घटना तथा विपद्का घटनामा तत्काल प्रतिकार्य गर्न उद्धार डुङ्गा र हेल्थ डेस्कसहितको टोली परिचालन गरिएको हो।
उद्धार डुङ्गा र हेल्थ डेस्कसहित एपीएफ टोली परिचालन भएपछि बर्डरवा तालमा छठ पर्व मनाउन आउने व्रतालु तथा श्रद्धालु भक्तजनलाई थप सुरक्षा प्रदान हुनुका साथै सम्भावित दुर्घटनाबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरणमा सहयोग पुग्ने स्थानीयले बताएका छन्।











प्रतिक्रिया