कोलकाताले जित्यो आईपीएलको उपाधि



काठमाडौं । 

इण्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं संस्करणको उपाधि कोलकाता नाइट राइडर्सले सहजै जितेको छ । आईतबार चेन्नाईमा भएको फाइनल खेलमा नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको हो ।

यो तेस्रो आईपीएल उपाधि जित्न टोलीलाई १० वर्ष लाग्यो । यसअघि टोलीले २०१२ र २०१४ का संस्करणहरूमा उपाधि जितेको थियो ।

२०१६ को विजेता सनराइजर्सले १ सय १४ रनको विजयी लक्ष्य दिएपछि खेल एकतर्फी र निरस बनेको थियो। यति झिनो लक्ष्य जित्न नाइट राइडर्सका लागि कुनै कठिनाई भएन। टोलीले २ विकेट गुमाएर १०.३ ओभरमै विजयी लक्ष्य प्राप्त गरेको थियो। विजेता टोलीका लागि वेन्केटस अय्यरले सर्वाधिक ५१ रन बनाए । रहमानुल्लाह गुरबाजले ३९ रन बनाए। सनराइजर्सका लागि पेट कमिन्स र शाहबाज अहमदले १/१ विकेट लिएका थिए।

पहिले ब्याटिङ गरेको सनराइजर्सले केवल १ सय १३ रन मात्रै बनाएको थियो । टोलीले निकै खराब प्रदर्शन ग¥यो । आफ्नो कप्तानीमा कमिन्सले गत वर्ष भारतमै अस्ट्रेलियालाई विश्वकप उपाधि दिलाएका थिए । उनी सनराइजर्सका पनि कप्तान भएका हुँदा टोलीलाई उपाधि दिलाउने सबैको अनुमान थियो । तर, ब्याटिङ नचल्दा उनले उपाधि दिलाउन सकेनन्।

नाइट राइडर्सका बलरमा आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए। यस्तै मिचेल स्टार्क र हर्षित रानाले २/२ विकेट हासिल गरेका थिए। वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवर्तिले  १/१ विकेट हात पारे। उनीहरू सामु सनराइजर्सका ब्याटरहरूमा कप्तान कमिन्सले सर्वाधिक २४ रन बनाए। अन्यमा एडिन मार्करामले २० रन, हेनरिक क्लासनले १६ रन र नितिशकुमार रेडीले १३ रन बनाए।

यसबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। जसमा, ओपनरद्वय अभिषेक शर्मा (२) र ट्राभिस हेड (०) पनि सामेल थिए। यी दुबै खेलाडीले यस सिजनको आईपीएलमा आक्रमक ब्याटिङको नमूना पेश गरिरहेका थिए। तर, फाइनलमा भने दुबै जना असफल हुँदा हैदराबादले सम्मानजनक स्कोर समेत बनाउन सकेन।

प्रतिक्रिया दिनुहोस्