खेलकुदको बजेटमा पूर्वाधार र प्रतियोगिता प्राथमिकता



काठमाडौं ।

युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि पूर्वाधार निर्माण तथा प्रतियोगिता आयोजनालाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । जसमा, प्रदेश र स्थानीय तहलाई अनुदान उपलब्ध गराउने बजेट तथा कार्यक्रम प्रस्ताव गरेको हो ।

खेलकुद मन्त्रालयको स्रोतअनुसार मुलपानी क्रिकेट एकेडेमी तथा रंगशालाका लागि ५० करोड रुपैयाँ राखेको छ। त्रिवि मैदानको फ्लड लाइट र स्कोरबोर्ड जडानका लागि २० करोड रुपैयाँ माग गरिएको छ। यस्तै, मोरङको बैजनाथपुर क्रिकेट मैदानका लागि १० करोड, पोखरा क्रिकेट रंगशालाका लागि १ करोड ५ लाख रुपैयाँ रहेको छ।

यसबाहेक पोखरा रंगशालाको स्तरोन्नतिका लागि १ करोड ५ लाख तथा दशरथ रंगशाला, सातदोबाटो र लैनचौरको कभर्ड हलका लागि १ करोड ५ लाख रुपैयाँ छुट्टयाएको छ। यसबाहेक प्रदेश सरकारबाट कार्यान्वयन हुने बजेटका लागि कर्णालीमा पातारासी हाइ अल्टिच्युडका लागि ४ करोड रुपैयाँ र दोलखाको सैलुंगमा ३ करोड रुपैयाँ रहेको छ।

मन्त्रालयलले मिसन २०२६ विशेष प्रशिक्षणका लागि २ करोड ५० लाख माग गरिएको छ। इन्डोर मार्सल आर्ट्स गेम्सको तयारीमा पनि २ करोड रुपैयाँ राखिएको छ। विभिन्न खेलका संघहरूको राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि २०–२० लाख रुपैयाँ छुट्याइएको छ। रग्बीको दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि ४० लाख रुपैयाँ राखेको छ।

यसैगरी खेलाडी दुर्घटना विमामा ५० लाख तथा ओलम्पियनका भत्तालाई ५० लाख र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई १ करोड ७८ लाख रुपियाँ राखिएको छ। एसियाली ई स्पोर्ट्स प्रतियोगिताका लागि ५० लाख तथा पेरिस ओलम्पिक सहभागिता व्यवस्थापनका लागि ९० लाख रुपैयाँ माग गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्