आँखा उपचारमा अब्बल तिलगंगा



तिलगंगा आँखा प्रतिष्ठान नेपालको आँखा उपचारको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अस्पताल हो । यसलाई उच्च बनाउनेमा डा. सन्दुक रुइतको योगदान रहेको छ। उहाँकै दृढ संकल्पले विश्व मायोपिया सचेतना सप्ताह मे १३–१९ र विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह मे १२–१८ मा निःशुल्क उपचारलगायत जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ।

प्रतिष्ठानले यस अवसरमा काठमाडौंलगायत देशैभरका सामुदायिक आँखा केन्द्र तथा सर्जिकल आँखा केन्द्रहरुमा सचेतनात्मक कार्यक्रमको आयोजना गरेको थियो । यसले सर्वसाधारण नागरिकको आँखा स्वास्थ्यप्रति महत्वपूर्ण काम गरेकोमा सराहना गर्नै पर्छ।

यसै क्रममा रेटिनोब्लास्टोमा अर्थात् बालबालिकाको आँखामा हुन सक्ने क्यान्सरबारे सही समयमा पहिचानको आवश्यकता रहेको विषयलाई प्रतिष्ठानले मुख्य जोड दिएको थियो। अकुलोप्लास्टी तथा अकुलर अंकोलोजी विभागकी प्रमुख डा. पूर्णिमा राजकर्णिकार स्थापितले तयार पारेको नेपालका बालबालिकाहरुको अवस्थाको सचित्र प्रस्तुतिले आम नागरिकले आँखा उपचारमा ध्यान दिनुपर्ने कुरा प्रस्ट देखिन्थ्यो।

उहाँले जो बालबालिकामा आँखाको क्यान्सर हुन सक्छ तिनको अँध्यारो कोठामा तस्वीर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टीका देखिनु, आँखा असामान्यरुपमा रातो हुनु, दुख्नु, आँखाको आकार ठूलो हँुदै जानु र बाहिरतिर आउनु, आँखाको डेढोपन हुनु अनि आँखा सुक्दै जानु रेटिनोब्लास्टोमाको लक्षण हुन सक्ने प्रस्ट्याउनुभयो । त्यसैले लक्षण देखिनासाथ चिकित्सकको सल्लाहअनुसार उपचारमा लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो।

प्रतिष्ठानले ओपन आइज नेपालसँगको सहकार्यमा यो समस्या भएका बालबालिकाका लागि निःशुल्क ओपीडी सेवा, उपचार सेवा तथा प्रोस्थेसिस सफाइको व्यवस्था गरेको थियो । प्रतिष्ठानले यो रोगको विगत दुई वर्षदेखि नेपालमै उपचार गर्दै आएको छ । दिवसका अवसरमा पनि निःशुल्क सेवा लिने रेटिनोब्लास्टोमाका बिरामीहरु १० जना अस्पतालमा आएका थिए । सो अवसरमा बालबालिकाको समय–समयमा आँखा जाँच गर्ने, प्रत्येक दिन बाहिरी वातावरणमा दुई घण्टा खेल्न प्रेरित गर्ने, मोबाइल र टीभी स्क्रीनबाट टाढा राख्नेजस्ता कुरा पालन गर्नुपर्ने बाल आँखारोग विशेषज्ञहरुले जानकारी गराएका थिए। हरेक बालबालिकाले शुरुमा विद्यालय जानुअधि अनिवार्य आँखा जाँच गर्नुपर्ने सुझावसमेत दिइएको थियो । यस्ता सुझावलाई सरकार तथा सरोकारवाला निकायले ध्यान दिई कार्यान्वयनमा ल्याउनु महत्वपूर्ण विषय हो ।

आँखा उपचारका क्षेत्रमा तिलगंगा आँखा प्रतिष्ठानमा नियमितरुपमा ४४ जना विज्ञ चिकित्सकहरुका साथै नर्स, प्राविधिक, स्वास्थ्यकर्मीहरुले १ हजार ३ सयभन्दा बढी आँखाका बिरामीलाई विभिन्न सिफ्ट तथा विभागमा दैनिक सेवा दिँदै आएका छन्। अनलाइन तथा टेलिफोनबाट एक साताका लागि बिरामीको नाम दर्ता गरी तोकिएको समयमा उपचारका लागि तिलगंगामा आउन सकिने सुविधा पनि यस प्रतिष्ठानले मिलाएको छ। तैपनि यस अस्पतालमा जनशक्तिका साथै क्षमता वृद्धि गर्नुपर्ने देखिन्छ।

तिलगंगा आखा प्रतिष्ठानले गरेको येगदानको कदर गर्दै यसको क्षमता अभिवृद्धिका लागि सक्दो सहयोग गर्नु सरकारको दायित्व हो। सरकारको योजनाविना नै जसरी आँखा उपचारका क्षेत्रमा गैरसरकारी संस्थाहरुले सहयोग जुटाएर नेपालमा स्वदेशी एवं विदेशीहरुको समेत आँखा उपचारमा ख्याती कमाएका छन्, नेपाल सरकारले पनि साथ–सहयोग गरी आँखा उपचार सेवालाई सर्वसुलभ बनाउनु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्