नेपालको ब्वाइजमा सान्त्वना जित



काठमाडौं ।

अघिल्ला दुई दिन लगातार हार बेहोरेको नेपालले जारी एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) को ब्वाइजमा जित हािसल गरेको छ।

बुधबार समूह बी को लिगमा नेपालले भुटानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। यसअघि नेपाल श्रीलंका र पाकिस्तानसँग हारेको थियो । यी दुई हारसँगैं नेपाल प्रतियोगिताबाट बाहिरिएको हुनाले भुटानमाथिको जित सान्त्वना मात्रै भयो ।

पहिलो सिंगल्समा नेपालका विश्वविशेष डल्लाकोटीले डुडु तेन्जिङलाई ६–० र ६–३ ले हराए। यस्तै, निश्चल ज्ञवालीले पेल्थोप छिरिङलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे। डबल्समा नेपालका विश्व र साहनावाज आलमको जोडीले पेल्थोप र मिफाम छिरिङको जोडीलाई ६–० र ६–२ को सेटमा हराएको थियो।

ब्वाइजमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतको भेट श्रीलंकासँग हुनेछ भने पाकिस्तानले बंगलादेशको सामना गर्नेछ ।
गर्ल्समा भने नेपालले तीनै खेलमा पराजय आत्मसात गर्‍यो ।

लिगको अन्तिम खेलमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गरेको थियो। सिंगल्समा नेपालका लागि सारा पन्त, अनुश्री धोजु र आयुशा जिसीले प्रतिस्पर्धा गरेका थिए । यसअघि नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्