सन्दीपलाई फेरि भिसाकै समस्या



काठमाडौं ।

सन्दीप लामिछानेको टी २० विश्वकप २०२४ मा खेल्ने इच्छा अहिलेका लागि अधुरै भएको छ । नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई अमेरिकाको भिसा दिन अस्विकार गरेपछि उनको लागि विश्वकप खेल्न अधुरो रहने देखियो।

साथै नेपाली क्रिकेट समर्थकका लागि पनि सन्दीप विश्वकप खेलेको हेर्ने सपना पनि अहिलेको लागि पुरा नहुने देखिएको छ।  नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्रीमार्फत् परराष्ट्र मन्त्रालयमा सन्दीपको भिसा मिलाउन पहल गरिरहेको छ। यदि दुई चारदिनपछि आएमा भने सन्दीपसहित क्रिकेट समर्थकमा खुशीको लहर हुनेछ। यसअघि २०१९ मा पनि यस्तै भएको थियो ।

त्यतिबेला वेस्ट इन्डिजमा आयोजना हुने.क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेल्न जानको लागि भिसा सन्दीपले पाएका थिएनन्। शुरुमा नपाएपनि पछि त्रुटि भएको भन्दै उनलाई अमेरिकी दुतावासले भिसा उपलब्ध गराएको थियो।

सन्दीपले बलात्कार मुद्धामा सफाई पाएसँगै स्पिनरलाई नेपालको टी २० विश्वकप टोलीमा राख्न क्यानले पहल शुरू गरेको थियो। क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी) का पदाधिकारीसँग पनि छलफल गरेको थियो । आईसीसीका पदाधिकारीबाट ग्रीन सिग्नल पाएसँगै सन्दीपलाई नेपाली टोलीमा सामेल गर्न प्रक्रिया चालिएको थियो ।

टी २० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा संयुक्तरूपमा जून १ देखि शुरू हुँदैछ। यस हिसाबले प्रतियोगिता आयोजना हुन धेरै दिन पनि बाँकी छैन। त्यसो त नेपालको पहिलो खेल नेदरल्यान्डस्सँग जून ४ मा डल्लासमा हुँदैछ।

नेपाललाई विश्वकपमा पुर्‍याउन सन्दीपको पनि ठूलो योगदान छ। उनले गत वर्ष टी २० विश्वकप एसिया छनौटमा कूल ९ विकेट लिएका थिए। यो विकेटसंख्या नेपालबाट लिएकोमा सर्वाधिक पनि हो। यहीबाट नेपाल पनि विश्वकपमा छनौट भएको हो।

नेपालको विश्वकप टोली अहिले क्यारिबियनमा छ । उनीहरूले सेन्ट भिन्सेन्टमा प्रशिक्षण लिइरहेका छन् । उनीहरू अभ्यास खेलका लागि त्यहीबाट छिटै अमेरिका जानेछन्। नेपाली टोलीले अमेरिकामा मे २७ मा क्यानडाविरुद्ध खेल्नेछ भने अर्को खेल मे ३० मा अमेरिकासँग खेल्नेछ।

गत साता पाटन उच्च अदालतले सन्दीपलाई बलात्कार मुद्धाबाट निर्दोष ठहर गरेको थियो । यसले उनलाई पुन क्रिकेटमा फर्काएको छ । निर्दोष ठहरपछि उनले क्रिकेट प्रतियोगिताहरू खेल्न अनुमति पनि पाए।

सन्दीपले क्रिकेट नखेलेको पनि झण्डै एक वर्ष भइसकेको थियो। गत वर्ष दुबईमा भएको क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक शृंखलामा उनले खेलेका थिएनन् । गत वर्ष नै भएका टी २० शृंखलाहरूमा पनि उनले खेलेका थिएनन् ।

जमेको रोहित र टोली

हाल रोहित पौडेलको कप्तानीमा नेपालले शानदार प्रदर्शन गरिरहेको छ। एक दुई वटा खेललाई छाडिदिने हो भने रोहितको कप्तानी निकै परिपक्व देखिएको छ । अघिल्लो टी २० शृंखलामा वेस्टइन्डिजको ए टोलीसँग रोहितले निकै अविस्मरणीय प्रदर्शन गरेका थिए । जबकी वेस्ट इन्डिजमा नामि नामि खेलाडी रहेका छन् ।

उनले पहिलो खेलमा शतक हानेर नेपाललाई जित दिलाएका थिए । यसपछि पनि उनले नेपालको लागि राम्रो ब्याटिङ गरे । टोलीमा रहेका सबै खेलाडीले आ–आफ्नो ठाउँमा राम्रो प्रदर्शन गरिरहेका छन् । विश्वकपमा नेपालले नेदरल्यान्डस्, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसँग खेल्दैछ । यसमा दक्षिण अफ्रिकाबाहेक नेपालका लागि अन्य टोलीहरू औसतकै छन् । यसैले नेपालले समूह चरण पार गर्ने संभावना पनि बनेको छ ।

प्रतिक्रिया दिनुहोस्