सम्बन्धविच्छेदको भयावह स्थिति



काठमाडौं ।

सामाजिक परिवेशमा आएको परिवर्तनले नेपालमा सम्बन्धविच्छेद गर्नेहरुको संख्या ह्वात्तै बढेको देखिएको छ। बितेको एक दशकमा झन्डै ९३ हजार जोडीले सम्बन्धविच्छेद गरेको तथ्याङ्क सार्वजनिक भएको छ।

गतवर्ष सबैभन्दा धेरै ३७ हजार विवाहित जोडीले सम्बन्ध बिच्छेद गरेको देखिन्छ। यसले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ। किन नेपालमा सम्बन्धविच्छेदका घटना बढ्दै गए भन्ने बारेमा भने अहिले कहीँ कतै खोजिनीति भएको देखिँदैन। सामान्य कुरामा बेमेल हुनासाथ अदालत जाने जुन प्रवृत्ति बढेको छ, यसले भविष्यमा ठूलो समस्या ल्याउने निश्चित प्रायः देखिन्छ । तर समाजले यसलाई अहिलेसम्म आफ्नो दायित्व भएको महसुस गरेको छैन ।

नेपालमा यसअघि सम्बन्धविच्छेद सामाजिक प्रतिष्ठाको विषय बन्ने गरेको थियो। यसको कारण अदालतमा नै गएर सम्बन्धविच्छेद गर्नेको संख्या न्यून रहेको थियो। तर पछिल्लो एक दशकदेखि भने यो संख्या हरेक बर्ष चौगुनाले बढ्दै गएको देखिन्छ।

२०७० सालमा नेपालमा सम्बन्धविच्छेद गर्नेको संख्या ३ सय ९४ रहेकोमा २०८० सम्म आइपुग्दा यो संख्या बढेर एक वर्षमै २७ हजार पुगेको छ। २०७० देखि २०८० सम्मको एक दशकको सम्बन्धविच्छेदको जम्मा संख्या भने ९३ हजारको हाराहारीमा पुगेको देखिन्छ। यो संख्याले भयावह रुप देखाएको छ।

नेपालमा सम्बन्धविच्छेद गर्नेको संख्या बढ्नुको प्रमुख दुई कारण रहेको देखिन्छ। युवायुवतीमा विदेश जाने लालसाले जस्तोसुकै सामाजिक परिवेश भएको भए पनि कानुनी विवाह गर्ने र तोकिएको ठाउँमा पुगेपछि सम्बन्धविच्छेद गर्ने समूह ठूलो छ।

आफ्नो सामाजिक मान–प्रतिष्ठाभन्दा पनि व्यक्तिगत लाभका लागि जे गर्न पनि युवायुवती तयार रहेको देखिनुले नेपाली समाज कता जाला भन्ने चिन्ता र चासो व्यक्त गर्न थालिएको छ। नेपालमा सामाजिक सञ्जालको प्रयोगमा आएको उच्छृङ्खलताका कारण पनि यो समस्या बढ्दै गएको मनोविश्लेषकहरुले बताउँदै आएका छन् तर नेपालमा यसको नियमन गर्ने निकाय नै निद्रामा रहेको कारण यो समस्या बढेको विश्लेषण गर्न थालिएको छ ।

विगत १० वर्षको सम्बन्धविच्छेदको संख्यालाई हेर्ने हो भने २०७० सालमा ३ सय ९४ जोडीले सम्बन्धविच्छेद गरेका थिए भने २०७१ सालमा १ हजार ३ सय ७५, २०७२ सालमा १ सय ६५, २०७३ सालमा २ हजार २ सय ८३, २०७४ सालमा २ हजार ७ सय ७६ जोडीले सम्बन्धविच्छेद गरेको तथ्याङ्कले देखाउँछ।

त्यस्तै २०७५ सालमा ३ हजार ९ सय ३५, २०७६ मा ५ हजार ८ सय ४६, २०७७ मा ६ हजार ६ सय ४४, २०७८ मा १४ हजार २ सय ७९, २०७९ मा १८ हजार ३ सय ४० र २०८० सालमा ३७ हजार जोडीले सम्बन्धविच्छेद गरेको पाइएको छ।

हरेक वर्ष यो संख्या बढ्दो अवस्थामा रहेकाले यसलाई नियन्त्रण नगर्ने हो भने नेपालको सामाजिक परिवेशमा ठूलो बेमेल आउनुका साथै यसले समाजलाई नै तहसनहस बनाउने देखिन्छ। त्यसैले यस विषयमा बेलैमा सम्बन्धित निकायले सोच्ने बेला आएको छ।

प्रतिक्रिया दिनुहोस्