बादल वर्षा गायिका प्राश्नालाई दुबईमा तालीको वर्षा



काठमाडौं

लोकप्रिय गायिका प्राश्ना शाक्यले हालैमात्र आफ्नो शब्द रचना र संगीत तथा गायक निर्णय श्रेष्ठको साथमा आफ्नो स्वरमा आज मेरो मनमा बोलको गीत बजारमा ल्याइन्।

बादल वर्षा बिजुली, आवाज देऊ, हाम्रो गाउँले जीवनजस्ता लोकप्रिय गीतकी गायिका आफ्नो नयाँ गीत बजारमा ल्याएलगत्तै दुबईमा हालै आयोजित एभरेष्ट साँझ २०२४ मा गुञ्जिइन्। कार्यक्रममा प्राश्नाले आफ्ना हिट नम्बर प्रस्तुत गरेर युएईवासी नेपाली दर्शकलाई तताईन्।

उनले बादल वर्षा बिजुली, हाम्रो गाउँले जीवनजस्ता गीत गाएर दर्शकको तालीको वर्षा गराइन्। दुई दशकअघि रिलिज भएको फिल्म कर्तव्यका लागि लोकप्रिय गायक आनन्द कार्की साथ प्राश्नाले गाएको बादल वर्षा बिजुलीले केही समययता आएर पुर्नजीवन प्राप्त गरेको छ।

केही समययता यो गीत नेपालीसँगै विदेशी कलाकार र दर्शकका माझ यति धेरै लोकप्रिय भएको छ कि विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई पछ्याइरहेका छन्। यो गीतमाथि लाखौं प्रयोगकर्ताले टिकटक र रिल्स बनाइरहेका छन्।

दुबईको कार्यक्रममा जब प्राश्नाले यो गीत प्रस्तुत गरिन्, सहभागी सबैले उनलाई तालीले त साथ दिए नै, सँगसँगै गीत गाएर र नाचेर उत्साह भरे। कार्यक्रममा गायक एम बराल, सुनिता थेगिमलगायतले नेपाली गीत संगीत पस्किएर दर्शकलाई मनोरञ्जन प्रदान गरे।

एम बरालले बादलुको घुम्टोलेलगायत आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दा गायिका सुनीता थेगिमले कालो केशमा रेलीमैलगायत पुर्वेली भाकामार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिन् भने लोकगायक खेम सेन्चुरीले नेपाली लोकभाकामा दर्शक नचाए।

एभरेष्ट र साथीभाई इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा सम्पन्न एभरेष्ट साँझमा स्थानीय कलाकारले समेत विभिन्न प्रस्तुति दिएका थिए।

युएईमा क्रियाशील विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, एनआरएन राजनीतिक दलका प्रतिनिधिलगायत समाजसेवीको सहभागिता रहेको एभेरेष्ट १०० ग्रु्पका सञ्चालक तथा एनआरएन अभियान्ता पासाङ शेर्पाको प्रमुख आतिथ्यता, सञ्चारकर्मी सुरेन्द्र परियारको सञ्चालन र ईस्वर श्रेष्ठको अध्यक्षतामा सांगीतिक साँझ सम्पन्न भएको थियो।

आगामी आइतबार आबुधावीमा आफू र एम बरालको साथमा गायकहरू सञ्जय श्रेष्ठ, रोजमान मर्हजनलगायतको सांगीतिक प्रस्तुति रहने प्राश्नाले जानकारी गराइन्।

प्रतिक्रिया दिनुहोस्