दलालको फन्दामा बेरोजगारहरु



काठमाडौं ।

नेपालमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै बेरोजगार युवायुवतीसँग मोटो रकम लिएर फरार हुने क्रम बढ्दो अवस्थामा रहेको छ। नेपालमा आफूले सोचेजस्तो रोजगारी पाउन नसक्दा दलालको प्रलोभनमा परेर हजारौँ युवायुवतीले अर्बौं रुपियाँ डुबाइसकेका छन्।

विभिन्न व्यक्ति प्रयोग गरेर बेरोजगार युवायुवतीलार्ई युरोप, अमेरिका, जापान, क्यानडा, अस्ट्रेलिया मात्र होइन, खाडी मुलुकमा समेत आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्ति बढ्दो अवस्थामा छ। पछिल्लो समय राजधानीलगायत देशका प्रमुख शहरहरुमा खटिएका दलालहरुले भ्रमको खेती गर्दै त्यस्ता युवायुवतीलाई फसाउने गरेको पाइएको छ।

पछिल्लो समय काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिनेको संख्या बढ्दो छ। आफू नै बेरोजगार रहेका दलालहरुले रोजगारीको लागि भौँतारिएका युवायुवतीलाई खोजी–खोजी आफ्नो जालमा पार्ने र उनीहरुलाई विदेशमा रहेका खास गरी पाकिस्तानी, बंगलादेशी तथा भारतीय नागरिकसँग कुरा गर्न लगाएर रोजगारीका लागि विभिन्न डकुमेन्ट माग गर्ने गरेको पाइएको छ । त्यसका लागि तत्काल पैसा पठाउन अनुरोध गर्ने गरेको समेत पाइन्छ।

राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय गिरोहले बेरोजगार युवायुवतीसँग रकम लिएर अलपत्र पार्ने क्रम बढ्दो अवस्थामा छ। प्रहरी प्रशासनले बेलाबेलामा दलालको चंगुलमा पर्दा नेपालीले पाउने गरेको दुःखका बारेमा जानकारी गराउने गरेको भए पनि त्यसरी विदेश जान खोज्ने युवायुवतीले सोधखोज नै नगरी दलाललाई पैसा बुझाउने र दलाल भागेपछि मात्रै प्रहरीमा जाने प्रवृत्ति छ। काठमाडौं उपत्यकामा मात्रै दलालको फन्दामा परेर सम्पत्ति गुमाएका २० भन्दा बढी युवायुवती हरेक दिन दलालबाट ठगिएको भन्दै उजुरी गर्न जाने गरेको पाइएको छ।

देशभर दलालबाट ठगिएको भन्दै एक सयभन्दा बढी उजुरी प्रहरी कार्यालयमा परेको र प्रहरीले दलाललाई खोजेर पक्राउ गरे पनि कानुनको अभावमा उनीहरु छोटो समय थुनामा बसी छुट्ने गरेको पाइन्छ। यसरी छुटेपछि पुनः यही पेसामा जाने गरेको पाइएको छ। सरकारले बेरोजगार युवायुवतीलाई स्वदेशमा नै रोजगारी दिन नसक्नुको फाइदा उठाउँदै दलालले हजारौँ युवायुवतीलाई यसरी ठगी गर्दै आएका छन्।

यस्ता गिरोहबाट युवायुवतीलाई जोगाउन राज्यस्तरबाट जनचेतना तथा रोजगारीका अवसरको सिर्जना गर्नुपर्ने देखिन्छ। सरकारले नेपालमा रोजगारी दिन नसके पनि जापान, कोरियालगायतका मुलुकमा जीटुजी प्रक्रियामार्फत नेपाली श्रमिकलाई पठाउने गरेकोमा अन्य देशमा पनि त्यस्तै प्रक्रियामार्फत बेरोजगार युवायुवतीलाई पठाउने व्यवस्था गर्न सके दलालबाट ठगिने क्रम रोकिने थियो कि ! यसतर्फ सरकारको ध्यान जान जरुरी छ। अर्कोतर्फ दलालको गुलियो कुरा सुनेर जथाभावी पैसा दिने काम रोक्न सरकारबाट पहलकदमी हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्