उपनिर्वाचनले नेपालको राजनीतिक शक्ति एमाले भएको पुनःपुष्टि भयोः नेता बोगटी



काठमाडौं ।

इलाम र बझाङको उपनिर्वाचनको अन्तिम परिणामले नेकपा (एमाले) नेपालको एक मात्र राजनीतिक शक्ति भएको पुष्टि गरेको नेकपा (एमाले) स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले बताएका छन्।

‘सिङ्गो राष्ट्रको ध्यान केन्द्रित गर्दै सम्पन्न भएको उपनिर्वाचनको परिणामबाट चौतर्फी घेराबन्दी गर्दा पनि दुवै क्षेत्रका न्याय प्रेमी मतदाताहरूले नेकपा (एमाले) का सूर्य ध्वजावाहक उम्मेदवारहरूलाई विजयी गराउनु भएको छ’, एमाले सुर्खेत जिल्ला इन्चार्ज समेत रहेका नेता बोगटीले भने, ‘यसबाट नेकपा (एमाले) को नेतृत्व, नीति, सिद्धान्त, बिचार र  कार्यक्रमप्रति आम नेपाली जनताको दृढ विश्वास रहेको  विषय छर्लङ्ग भएको छ। त्यति मात्र नभएर यो परिणामले नेकपा (एमाले) साँच्चै आम नेपाली जनताको रोजाइको पार्टी एवम् नेपाली जनताको भरपर्दो राजनीतिक शक्ति भएको विषय पुनः पुष्टि पनि भएको छ।’

परिणामसँगै एमालेको मिसन ०८४ को लक्ष्य पूरा गर्ने एक बलियो आधार बनेको उनकाे भनाइ छ। गाउँमा मतदाताको लहर एमालेको नीति, सिद्धान्त र बिचारमा अडिग रहेको भएपनि बिचका राजनीतिक बिचौलियाका कारण एमालेप्रति नकारात्मक भ्रम सृजना गरेकै कारण एमालेको जनमत तलमाथि गराउने काम भएको उल्लेख गर्दै नेता बोगटीले त्यसलाई चिर्न सबै तहका कमिटीहरूले आफ्नो भूगोल र क्षेत्रमा खट्नु पर्नेमा जोड दिए।

उपनिर्वाचनबाट विजयी प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ र सुदूरपश्चिम प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीलाई बधाई दिँदै उनले  इलाम र बझाङका नेकपा (एमाले) का नेता,कार्यकर्ता तथा मतदाताहरूप्रति  आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्