नेपाल यू १९ भलिबलमा दोस्रो



धादिङ ।

बंगलादेशमा सम्पन्न पहिलो यू १९ आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली भलिबल टोलीले दोस्रो स्थान हासिल गरेको छ। अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगितामा नेपालको यो पहिलो सफलता भएको प्रशिक्षक कुशल खड्काले बताए।

फाइनलमा बंगलादेश ए टोलीसँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भएपछि नेपाल दोस्रो भएको हो। नेपालले माल्दिभ्स र बंगलादेश बी टोलीलाई हराएर फाइनलको यात्रा तय गरेको थियो।

खेलकुदमा एड्भान्स् एकेडेमीमा भलिबल खेलायर खेलाडी उत्पादन भएपछि देशको नाम राख्न सफल भएको भन्दै एकेडेमीले विद्यालयको कार्यक्रममा धादिङका भलिबल खेलाडी इज्जत दनैलाई सम्मान गरेको थियो ।

खेलकुदका लागि सुरुको प्रशिक्षण अर्जुन श्रेष्ठ गोर्खालीले गरेका थिए। नेपाली टोलीका खेलाडीमा इज्जत दनै, सुरेश मल्ल, यज्ञराज जोशी, अभिषेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशि पुलामीमगर र भुवन तामाङ रहेका छन्। सबै खेलाडीको टिमवर्कका कारण भलिबलमा यो सफलता आएको खेलाडीको भनाई छ।त्यसैगरि टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनकबहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा मेनेजर रहेका छन्।

खेलाडीहरूलाई सरकारी निकायबाट आर्थिक व्यवस्थापन नभएको बताईएको र भक्तपुरलगायतका स्थानबाट खेलाडी र खेलप्रेमीले सहयोग उपलब्ध गराएको प्रशिक्षक खड्काले जानकारी दिँदै खेलाडीले लामो तयारी नभए पनि उत्कृष्ट प्रदर्शन गरेको बताए।

प्रतिक्रिया दिनुहोस्