नइ एकेडेमी अस्ट्रेलियाद्वारा १४ व्यक्ति तथा संस्थालाई नइ पुरस्कार प्रदान


काठमाडौं।

नइ एकेडेमी अस्ट्रेलियाले सन् २०२६ का लागि विभिन्न १४ विधामा व्यक्ति तथा संस्थालाई ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान गरेको छ।

नेपाली समुदायको पहिचान, सांस्कृतिक सम्पदा र सामाजिक विकासमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई एकेडेमीले सन् २०२२ देखि प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ। अस्ट्रेलियामा नेपाली समुदायको उत्थान, नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनेहरूलाई यस वर्ष सम्मान गरिएको हो।

पुरस्कारअन्तर्गत बहुसांस्कृतिक नेतृत्व तथा सामुदायिक विकास विधामा डा. कृष्ण हमाल सम्मानित हुनुभएको छ। मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी सचेतना फैलाएको योगदानका लागि भरत नेपाललाई पुरस्कृत गरिएको छ।

त्यस्तै, नेपाली तथा अस्ट्रेलियाली समुदायको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सञ्जीवकुमार शर्मालाई ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान गरिएको छ। नेपाली साहित्यमा उत्कृष्ट लेखनका लागि प्रकाश पन्थीलाई ‘नइ पारिजात पुरस्कार’ प्रदान गरिएको छ।

सञ्चार तथा मिडियामार्फत सामुदायिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्‍याएको भन्दै डा. भरत पौडेल सम्मानित हुनुभएको छ। मानवसेवा अस्ट्रेलियालाई सामाजिक सेवामा पुर्‍याएको योगदानको कदर गर्दै एक हजार अस्ट्रेलियन डलर राशिको ‘नइ मानवसेवा पुरस्कार’ प्रदान गरिएको छ।

अस्ट्रेलिया इन्कर्पोरेटेड तथा पत्रकारिता र सांस्कृतिक सम्पदा संरक्षणमा योगदान पुर्‍याएको भन्दै आचार्य राजन शर्मालाई पनि नइ पुरस्कार प्रदान गरिएको छ।

संस्थागततर्फ नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया इन्कलाई उत्कृष्ट सामुदायिक संस्थाका रूपमा सम्मान गरिएको छ। पश्चिमी अस्ट्रेलियामा नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र नेपाली समुदायको सशक्तीकरणमा संस्थाले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको एकेडेमीले जनाएको छ।

यसैगरी, बहुभाषिक पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षण विधामा डा. राजु मानन्धर, सामुदायिक सेवा तथा विकास विधामा प्रकाश पौडेल र महिला सशक्तीकरण तथा नेतृत्व विधामा उषाकिरण बरिया पोखरेल पुरस्कृत हुनुभएको छ।

साङ्गीतिक विधातर्फ नेपाली सांगीतिक सम्पदाको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै निशा केसीलाई सम्मान गरिएको छ। त्यस्तै, ‘द भ्वाइस अफ नेपाल’मार्फत चर्चामा आएका उदाउँदा गायक तथा संगीतकर्मी ‘तिखतार’लाई पनि पुरस्कार प्रदान गरिएको छ।

नेपाली समुदायको विकास र उन्नतिमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै राजकुमार भण्डारीलाई समेत नइ पुरस्कार प्रदान गरिएको छ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति, पत्रकारिता, सामुदायिक सेवा तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व र संस्थालाई सम्मान गर्दै आएको नइ एकेडेमी अस्ट्रेलियाले यस वर्ष पनि विभिन्न विधामार्फत नेपाली समुदायका योगदानकर्तालाई प्रोत्साहित गरेको छ।