वायु प्रदूषणको चपेटामा नेपाल



काठमाडौं ।

प्रचण्ड गर्मी बढेसँगै देशभरका सरकारी तथा सामुदायिक वनमा भीषण आलगालीको घटना ह्वात्तै बढेको छ। यसका कारण देशभरको वातावरण बिग्रँदै गएको छ।

लामो समयको खडेरी र आगलागीका कारण देशैभरको भिजिबिलिटी कम हुँदै जाँदा हवाई उडान प्रभावित भएको छ। देशभरका मुख्य राजमार्ग निर्माणका क्रममा उड्ने धूलोको कारण पनि नेपालमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको विज्ञहरुले बताउँदै आएका छन्।

यसको रोकथाम तथा नियन्त्रणका लागि राज्य वा सरोकारवाला निकायले जसरी ध्यान दिनुपर्ने थियो त्यो दिन नसकेको कारण पनि समस्या बढ्दै गएको आँकलन गर्न थालिएको छ ।

दैनिक नेपालभरका राष्ट्रिय, सामुदायिक र निजी वनमा ८ सयदेखि ९ सय ठाउँमा आगलागीका घटना हुने गरेका छन्। ती आगलागीबाट निस्किएको धुवाँको मुस्लो वायुमण्डलमा लामो समयसम्म रहँदा त्यसले पारेको दुष्प्रभावबाट बढी वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन्।

यसका कारण रुघाखोकी लाग्ने, श्वास–प्रश्वासमा समस्या देखा पर्न थालेको छ भने दमका रोगीहरु धमाधम अस्पताल भर्ना हुन थालेका छन् । यसरी जनस्वास्थ्यमा परेको असर न्यूनीकरणमा राज्यले चाल्नुपर्ने कदम चाल्न नसक्दा जनता थप मारमा परेका छन् ।

विश्वका प्रदूषित शहरको पहिलो सूचीमा रहँदै आएको नेपालका बारेमा विश्वमा सकारात्मकभन्दा पनि नकारात्मक प्रचार बढी भएको पाइन्छ । कोभिडपछि भर्खर बामे सर्ने अवस्थामा रहेको पर्यटन उद्योगलाई अहिलेको यो वायु प्रदूषणले मारमा पार्न थालेको छ।

देशभरका पर्यटकीय क्षेत्रमा रहेका होटलहरुको बुकिङ धमाधम रद्ध हुन थालेपछि पर्यटन व्यवसायीहरु चिन्तित हुन थालेका छन् । यसले पर्यटन उद्योगमा क्रमशः प्रभाव पार्दै लगेकाले यसलाई न्यूनीकरण गर्दै लैजान राज्यले के–के गर्न सक्छ ? त्यसतर्फ ध्यान दिन जरुरी देखिन्छ। जलवायु परिवर्तनका कारण विश्वको बढ्दै गएको तापमानबाट मानिसहरु प्रभावित भइरहेको बेला वायु प्रदूषणको मारमा नेपालजस्ता गरिब मुलुकहरु परेका छन् ।

यस्ता प्रदूषणबाट हुने हानि र यसले नेपालको आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा पार्ने असरका बारेमा समयमा नै सोचविचार गरेर काम नगर्ने हो भने मुलुकले अर्को चुनौतीको सामाना गर्नुपर्ने देखिन्छ।

त्यसैले प्रकृतिजन्य प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले नयाँ कदम चाल्नुपर्ने देखिन्छ। त्यसैले जनताले पनि सचेतना अपनाउने र सरकारले पनि यस्ता घटना न्यूनीकरणका लागि समयमा नै कमद चाल्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्