सम्पदा पुनर्निर्माणमा विलम्ब नगर



काठमाडौं ।

शक्तिशाली भूकम्प गएको ९ वर्ष पूरा भएको छ। उक्त अवधिमा विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाका ९ सम्पदा अझै बन्न सकेका छैनन्। केही सम्पदा स्थानीय निकायको कारण त केही ठेक्का विवाद र उपभोक्ता समितिमा देखिएको समस्याको कारण पूरा हुन सकेका छैनन्।

तीमध्ये एउटा सम्पदाको विषयमा अदालतमा मुद्दा चलिरहेको छ। समस्या देखिएपछि रोकिएको सम्पदा तत्काल पुनर्निर्माण गर्न सरोकारवाला निकायले पहल गर्नुपर्छ। तथ्याङ्क विश्लेषण गर्दा हनुमानढोका, पाटन र भक्तपुर दरबार क्षेत्रका करिब सय सम्पदा क्षतिग्रस्त भएका थिए। तीमध्ये झन्डै एकतिहाइ पूर्णरुपमा ध्वस्त भएका थिए।

भक्तपुर, पाटन र हनुमानढोका दरबार क्षेत्रमा क्षतिग्रस्त सम्पदाको अहिले विभाग र स्थानीय तहले पुनर्निर्माण जारी राखेका छन्। हनुमानढोका परिसरका १८ पूर्ण र ११ वटामा आंशिक क्षति पुगेको थियो। पाटनमा २७ सम्पदामध्ये धेरैजसो पूर्ण र केहीमा आंशिक क्षति भएको थियो। भक्तपुरमा करिब ३५ सम्पदामा क्षति पुगेको थियो । विश्व सम्पदा क्षेत्रभित्र रहेका केहीबाहेक सबै सम्पदा पुनर्निर्माण भइसकेको दाबी विभागको छ।

केही सम्पदा पुनर्निर्माण गर्न विवाद छ, तीबाहेक अधिकांश पुनर्निर्माण सम्पन्न भइसकेको विभागको धारणा छ। विवादित ९ सम्पदा कहिलेबाट पुनर्निर्माण हुन्छन् ? यो प्रश्नको उत्तर विभागसँग छैन। हनुमानढोका दरबार क्षेत्रभित्र पर्ने नेपाल संस्कृत विश्वविद्यालय भवन, आगमछें, कुमारीघर, नारायण मन्दिर र हनुमानढोका प्रहरी कार्यालय पुनर्निर्माण गर्ने विषयमा विवाद छ।

पाटन दरबार क्षेत्र परिसरका एकाधबाहेक अधिकांश पुनर्निर्माण सम्पन्न भइसकेका छन्। शंखमूलको जगतनारायण मन्दिर पुनर्निर्माण गर्ने विषयमा विवाद भएपछि मुद्दा परेको छ । बुंगमतीको रातो मच्छिन्द्रनाथ मन्दिर उपभोक्ता समितिको विवादको कारण बजेट नपुगेर रोकिएको छ।

भक्तपुरमा भूकम्पले क्षतिग्रस्त ४७ मध्ये अधिकांश पुनर्निर्माण भइसकेका छन्। लालबैठक मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने कि अहिलेकै शैलीमा भन्ने विषयमा विवाद छ। यी विषय समाधान गर्न विभाग, स्थानीय तह र जनसमुदायको मुख्य भूमिका रहन्छ।

९ वर्षदेखिको विवाद समाधान हुने अवस्थामा पुगेको स्थानीय तहको भनाइ छ। समस्या समाधान भएर सम्पदा पुनर्निर्माण भए विश्व सम्पदा क्षेत्रको सान बढ्नेछ । विश्वभर नेपाली संस्कार, संस्कृति र सम्पदा पुनर्निर्माण भएको विषय खुलेरै प्रशंसा हुनेछ।

तथ्याङ्कअनुसार ९ वर्षमा ध्वस्त र क्षतिग्रस्त ९ सय २० मध्ये वर्षमा ७ सय ८० सम्पदा पुनर्निर्माण भइसकेका छन् । अब १ सय ४६ वटा सम्पदा पुनर्निर्माण गर्न बाँकी छ । हालसम्म झन्डै ८५ प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको सरकारी दाबी छ।

तथ्याङ्कअनुसार हालसम्म सय वर्ष पुराना ५ वटा गुम्बा र अन्य ९ वटा गरी १५ वटाको निर्माण सम्पन्न भएको छ। मागअनुसार बजेट उपलब्ध भए भूकम्पबाट क्षतिग्रस्त सबै सम्पदाको पुनर्निर्माण सम्पन्न गर्न अब २ वर्ष मात्र लाग्ने जनाइएको छ।

त्यसको लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउनुपर्छ । समयमै बजेट पाए बाँकी रहेको सम्पदा पुनःनिर्माण सम्पन्न भएर नेपालको नाम विश्वमै उच्च स्थानमा रहनेछ।

प्रतिक्रिया दिनुहोस्