कोशी प्रदेश अंक बिहीन



काठमाडौं ।

जारी वीर गणेशमान सिंह राष्ट्रिय टी २० प्रतियोगितामा कोशी प्रदेशले लगातार हार बेहोरेको छ। बिहीबार भएको खेलमा कोशी कर्णाली प्रदेशसँग ५ विकेटले सहजै पराजित भएको हो।

योसँगै कोशीले लगातार छैटो हार बेहोरेको छ र प्रतियोगिताबाट अंकविहीन हुँदै बाहिरियो पनि। कोशीले भने यो चौथो जितसँगै फाइनल पुग्ने संभावनालाई बलियो बनाएको छ।

कोशीले ९४ रनको सामान्य विजयी लक्ष्य दिएकोमा कर्णालीले ६.३ ओभरमा ५ विकेट गुमाउँदै जित हासिल गरेको थियो । ओपनर विपिन रावल शुन्यमा आउट भए पनि विपिन शाहीले ३८ रनको योगदान दिए। यस्तै मनिष थापाले २७ रन जोड्दा अर्जुन घर्तीले २५ रन बनाए । बलिङमा दीपेश कँडेल र श्रवण यादवले समान २ विकेट लिएका थिए।

यसअघि कोशीले १९.३ ओभरमा सबै विकेट गुमाएर ९३ रन जोडेको थियो। टोलीका लागि ओपनर मिनाष थापाले सर्वाधिक ३५ रनको योगदान दिए। अन्यमा दिपेश कँडेलले २३ रन र सौजन घिमिरे १८ रन बनाए। यसबाहेक अन्यले दोहोरो रन छुन सकेनन्। कोशीलाई सस्तैमा समेट्न दीपेन्द्र रावत र प्रकाश जैसीले ३/३ विकेट लिंदा दिनेश अधिकारीले २ विकेट लिए।

कर्णालीले ६ खेलमा ४ जितसहित ८ अंक बनाएको छ। बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र मधेश प्रदेशले पनि ८/८ अंक नै बनाएका छन्। बागमती र सूदुरपश्चिम प्रदेशबीचको खेलबाट फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । ४ अंक जोडेको सुदूरपश्चिमको भने फाइनल पुग्ने संभावना सकिसकेको छ।

हिजै मधेशले पनि चौथो जित हासिल गरेको थियो। माथिल्लो मूलपानी मैदानमा भएको खेलमा मधेशले सुदूरपश्चिमलाई सुपरओभरमा पराजित गरेको थियो। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो भने मधेशले पाँचौ बलमा जित हात हासिल गरेको थियो। यसअघि दुबै टोलीले १ सय २१ रन बनाएर खेललाई सुपरओभरमा पुर्‍याएका थिए।

प्रतिक्रिया दिनुहोस्