दिनेश र भुवन शीर्षमा



काठमाडौं । 

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश प्रजापति र भुवन नगरकोटी संयुक्तरूपमा शीर्षमा रहेका छन्।

नगरकोटी र प्रजापतिले ३६ होलको समाप्तीमा रवि खड्कालाई दुई स्ट्रोकले पछि पारेका हुन्। दिनेशले ४ अन्डर ६४ मा खेल सकाए भने भुवनले २ अन्डर ६६ को स्कोरकार्ड तयार पारे। योसँगैं उनीहरूले समग्रमा २ अन्डर १ सय ३४ स्को बनाएका छन् ।

समग्रमा इभनपार १ सय ३६ स्कोरमा खड्का तेस्रो स्थानमा छन्। समग्रमा १ ओभर १ सय ३७ सहित रामे मगर, निरज तामाङ र भुवनकुमार रोक्का संयुक्तरुपमा चौथो स्थानमा छन् । यसैगरी जयराम श्रेष्ठ र सञ्जय लामा संयुक्तरुपमा सातौं स्थानमा छन्। उनीहरूले समग्रमा २ ओभर १ सय ३८ को स्कोर बनाएका हुन् ।

चार दिने प्रतियोगितामा कुल पुरस्कार रकम ७ लाख ३ हजार ५ सय रहेको छ। विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन्। यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन्। शीर्ष २१ मा पर्ने व्यवसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्