प्रदूषण फैलाउनेविरुद्ध खबरदारी गर



काठमाडौं ।

जलवायु परिवर्तनका कारण नेपालजस्तो अल्पविकसित मुलुकले भोग्नुपरेको पीडालाई विश्वका शक्तिशाली राष्ट्रले नजरअन्दाज गर्नाले गरिब मुलुकमाथि पीडामाथि पीडा थप्ने काम भएको छ। विकसित मुलुकले उत्पादन गरेको प्रदूषणको मारमा नेपाललगायतका मुलुकहरु पर्ने गरेका छन्। यसका कारण आज नेपाललगायतका गरिब र साना मुलुकले आफूले नखाएको विषको सामना गर्नुपर्ने अवस्था आएको छ।

आज मुलुकभर ताममान वृद्धि हुने, जनजीवन असामान्य बन्दै जाने, मानिसको दैनिकीमा परिवर्तन हुँदै जाने भइरहेको छ। यसका कारण नेपाली नागरिक विभिन्न रोगबाट ग्रस्त हुनुपर्ने अवस्थामा पुगेका छन् भने नेपालको पर्यापर्यटनमा समेत नराम्रो असर परिरहेको छ। तर प्रदूषण फैलाउने काममा व्यस्त रहेका भारत र चीनजस्ता मुलुकलाई राज्यस्तरबाट खबरदारी गर्न नसक्नुले नेपाललगायतका न्यून आय भएका मुलुकको हरेक आयाममा असर पारेको छ।

आज पृथ्वीको तापमान बढ्दो अवस्थामा रहेको छ। तापमान वृद्धिले आउँदो पुस्तालाई समेत गम्भीर असर पार्ने भए पनि त्यसको न्यूनीकरणका लागि अपनाउनुपर्ने सतर्कता अपनाउन कुनै मुलुक तयार नरहनुले पनि उनीहरुको नियतमाथि प्रश्न उठेको छ। नेपालजस्ता गरिब मुलुकले विश्वका विभिन्न फोरममा यस विषयमा जोडतोडका साथ कुरा उठाउनुपर्ने भए पनि त्यसो गरेको पाइँदैन।

सरकारका तर्फबाट विभिन्न फोरममा प्रतिनिधित्व हुने भए पनि शक्तिराष्ट्रका बारेमा प्रश्न गर्ने हिम्मत गर्न नसक्नुले गरिब मुलुकका निर्दोष जनताले पीडा भोग्नुपरेको छ। त्यसैले राज्यले आफ्नो भनाइ राख्ने हिम्मत गर्न सक्नुपर्ने विज्ञहरु बताउँछन् तर त्यसो भएको कहीँ–कतै सुनिदैन । आज तापमान वृद्धिका कारण तराईका जिल्लाहरुमा तातो हावा चल्ने क्रम तीव्र बन्दै छ भने हिमाली क्षेत्रमा समेत गर्मीको महसुस गर्न थालिएको छ।

यसले नेपालका हिमशृङ्खलाहरुमा पनि नराम्रो असर पार्ने देखिन्छ । त्यसैले जलवायुको प्रभाव कम गर्न नेपालले अहिलेदेखि नै आन्तरिक तथा बाह्यरुपमा गर्नुपर्ने कामको बारेमा सोच्ने बेला आएको छ।

नेपालले यस विषयमा एक्लै आवाज उठाउन नसके जलवायु परिवर्तनको चपेटामा परेका मुलुकहरुलाई एकजुट गराएर वायु प्रदूषण गर्ने विकसित मुलुकलाई सचेत गराउने र उनीहरुले गरेको अपराधलाई स्वीकार गर्न लगाई उनीहरुलाई समेत पृथ्वीको बढ्दो तापमान रोक्नेतर्फ सचेत गराउनुपर्ने देखिन्छ।

मानव अस्तित्व नै संकटमा पर्ने खालको यो समस्याको समाधान बेलैमा खोजिएन भने यसले आउँदो पुस्तालाई समेत नराम्रो असर गर्ने भएकाले यसको रोकथामका लागि लाग्नुपर्ने देखिन्छ । नेपालले यसको नेतृत्व गर्ने हिसाबले अघि बढ्ने हिम्मत गर्न सक्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्