इन्टर मिलानले जित्यो सिरी ए को उपाधि



काठमाडौं ।

इन्टर मिलानले यस सिजनको इटालियन सिरी ए को उपाधि जितेको छ। गए राति सम्पन्न खेलमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ए को उपाधि ५ खेल अघि नै जितेको हो।

इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एक एक गोल गरेका थिए। त्यस्तै एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल गरेका थिए। यस खेलमा एसी मिलानका २ र इन्टर मिलानका एक खेलाडीले खेलको ९० मिनेटपछि रातो कार्ड पाएका थिए। यो जितपछि इन्टर मिलानको ३३ खेलमा ८६ अङ्क भएको छ र लिगमा ५ खेल बाँकी हुँदै सिरी ए को उपाधि जितेको छ।

त्यस्तै दोस्रो स्थानमा रहेको मिलानको भने ३३ खेलमा ६९ अङ्क रहेको छ। इन्टर मिलानले योसहित सिरी ए को उपाधि २० पटक जितेको छ । सिरी ए को उपाधि अहिले सम सबैभन्दा बढी जित्ने क्लब भने युभेन्टस हो। युभेन्टसले अहिलेसम्म ३६ पटक यो उपाधि जितेको छ। युभेन्टसले २०१९- २० सिजन यता सिरी ए उपाधि जितेको छैन।

प्रतिक्रिया दिनुहोस्