बाह्य शक्तिको हस्तक्षेप नहोस्



काठमाडौं ।

भूराजनीतिक हिसाबले नेपाल जोखिमयुक्त अवस्थामा रहेको छ । दुई विशाल छिमेकी मुलुकको नेपालमा आ–आफ्नै रुचि रहेका कारण अन्य शक्तिराष्ट्रले पनि नेपालमा आँखा गाडेको अवस्था छ।

भारत नेपाल आफ्नो अधिनबाट टाढा नहोस् भन्ने चाहना राख्दै अघि बढेको छ भने अर्को छिमेकी मुलुक चीन पनि नेपाललाई आफ्नो काबुबाट बाहिर नजाओस् भन्दै आ–आफ्नो स्वार्थअनुरुप प्रयोग गर्न उद्यत् रहेको देखिन्छ। शीतयुद्धको अन्त्यपछि विश्वमा एकछत्ररुपमा आफ्नो राज चलाउँदै आएको अमेरिका पछिल्लो समय ओझेलमा पर्न थालेको छ।

विश्वमा उदयमान राष्ट्रको रुपमा चीन अघि बढेपछि अमेरिकाले पनि नेपालमा आफ्नो भूमिका खोज्न थालेको छ । हिजोसम्म नेपाललाई भारतीय आँखाले हेर्दै आएकोमा पछिल्लो समयदेखि नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको छ।

अहिले नेपाल यी सबै राष्ट्रको चासोको रुपमा परिणत हुँदै गएको छ। भारत, युरोपियन युनियन र अमेरिकाले नेपाललाई प्रयोग गरेर उत्तरी छिमेकी मुलुक चीनमाथि आँखा गाड्न खोजिरहेको भान हुन्छ। पछिल्लो समय नेपालको आन्तरिक मामिलामा हस्तक्षेपकारी भूमिकामा चीन देखिँदै आएको छ। नेपालको भूमि कसैविरुद्ध प्रयोग हुन नदिने नेपालले प्रतिबद्धता व्यक्त गरे पनि कमजोर राज्य प्रणालीको फाइदा विभिन्न मुलुकले उठाउँदै आएका छन्।

कुनै पनि शक्तिराष्ट्रसमक्ष आफ्नो दमदार प्रस्तुति राख्नमा नेपाल चुक्दै आएको छ। नेता मात्र होइन, कर्मचारीतन्त्र पनि व्यक्तिगत स्वार्थका लागि मुलुकको भविष्यका बारेमा बोल्न नसक्ने अवस्थामा पुग्नु पक्कै पनि मुलुकको लागि हितकर छैन। नेपालको सार्वभौम सत्तामाथि जानिदो वा नजानिदोरुपमा हस्तक्षेप भए पनि त्यसको प्रतिकार गर्ने हिम्मत लिएर कुनै पनि निकाय अघि बढेको देखिँदैन।

स–साना कुरामा समेत छिमेकी मुलुकले हस्तक्षेप गर्ने अवस्थामा मुलुक पुग्नु पक्कै पनि राम्रो पक्ष होइन। सबै समूह आ–आफ्नो स्वार्थमा रुमलिँदा नेपालको अस्तित्व भने संकट उन्मुख हुँदै जानु चिन्ताको विषय हो । पुराना दललाई गालीगलौज गर्दै आफूलाई राजनीतिमा अब्बल भएको दाबी गर्ने नयाँ शक्तिहरु पनि विदेशीका सामु निरीह हुन पुगेको देखिन्छ। भाषणमा चर्का कुरा गर्नेहरु लुसुक्क उत्तर र दक्षिणको भ्रमण गरी आफ्नो हितार्थ जस्तोसुकै सौदाबाजी गर्न तयार रहने नयाँ दल भनिएकाहरुबाट पनि आश गर्ने ठाउँ देखिँदैन ।

त्यसैले अहिले नेपाललाई कुनै पनि शक्तिराष्ट्रको रणभूमि हुन नदिन सचेत जनता जाग्नुको विकल्प देखिँदैन । नेपालले शक्तिराष्ट्रलाई आफ्नो पक्षमा पारेर मुलुकको विकासमा हातेमालो गर्ने वातावरण तयार गर्नुपर्नेमा राज्य सञ्चालकहरु चुकेको देखिन्छ । सत्ताको खेलले दलहरुलाई यस्ता विषयमा सोच्ने फुर्सदसमेत छैन। त्यसैले जागरुक जनताले नै राज्य सञ्चालकहरुलाई दबाब दिएर कुनै पनि मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने परम्पराको अन्त्यका लागि लाग्नुको विकल्प छैन।

प्रतिक्रिया दिनुहोस्