नागार्जुन नगरपालिकाले १९ विद्यालयलाई दियो २ करोड ५१ हजार अनुदान



काठमाडौं ।

नागार्जुन नगरपालिकाले १९ सरकारी विद्यालयलाई २ करोड ५१ हजार रुपियाँ अनुदान रकम दिएको छ। सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि सरकारी विद्यालयले विभिन्न शीर्षकमा शुल्क लिने गरिएको सन्दर्भमा नागार्जुन नगरपालिकाले भने १० कक्षासम्म निःशुल्क पढाउने भएको छ।

संविधानमा सरकारी विद्यालयले बिना शुल्क माध्यमिक तहसम्म पढाउनु पर्ने प्रावधान रहे पनि खेलकुद, अतिरिक्तलगायत शुल्कका नाममा सरकारी विद्यालयहरूले रकम लिँदै आइरहेका थिए। तर नागार्जुन नगरपालिकाले सरकारी विद्यालयलाई आवश्यक पर्ने रकम अनुदानका रूपमा दिई अनुकरणीय कार्य गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीका अनुसार नगरपालिकाले सरकारी विद्यालयलाई अनुदानस्वरूप न्यूनतम १० देखि २८ लाख रुपियाँसम्म नगद अनुदान दिएको छ। नगरपालिकाले दिएको अनुदान पानी, सरफाइ, विद्यालय मर्मत, पुस्तकालय, अतिरिक्त कक्षा शुल्क र प्रति विद्यार्थी लागतका आधारमा दिइएको जनाएको छ।

विद्यालयको आवश्यकता के हो भन्ने आधारमा रकम दिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो। १९ सरकारी विद्यालयमध्ये ७ ले प्रमाणपत्र तहको अध्ययन गराउँदै आएका छन्। प्रमाणपत्र तहलाई भने अनुदान रकम उपलब्ध नगराएको नगरपालिककाका शिक्षा शाखा प्रमखु कृष्णबहादुर कुँवरले बताउनुभयो ।

नगरपालिकाले निजी विद्यालयको शुल्क तोक्यो

नागार्जुन नगरपालिकाले निजी (संस्थागत) विद्यालयले लिन पाउने शुल्क पनि निर्धारण गरेको छ । नगर शिक्षा समितिको केही दिनअघि सम्पन्न बैठकले शैक्षिक सत्र २०८१ मा विद्यालयले लिन पाउने शुल्कको अधिकतम सीमा निर्धारण गरेको हो।

नगरपालिकाअन्तर्गत शिक्षा तथा सामाजिक शाखा प्रमुख कृष्णबहादुर कुँवरले नगरपालिकाले निर्धारण गरेको शुल्क कडाइका साथ लागु हुने बताउनुभयो । संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, ०७२ अनुसार विद्यालय वर्गीकरणका आधारमा आगामी शैक्षिक सत्रदेखि विद्यालयले लिन पाउने शुल्कको अधिकतम सीमा कायम भएको छ ।

नगरपालिकाका शिक्षा तथा सामाजिक शाखा प्रमुख कुँवरले कडाइका साथ शुल्क लागु गरिने जानकारी दिंदै ऐनले तोकेविपरीतका शीर्षकमा शुल्क लिए कारबाही गरिने बताउनुभयो। नगरपालिकाले निजी विद्यालयको वर्गीकरण गरेअनुसार शुल्क तोकेको हो।

नगरपालिकाकले भौतिक संरचना, शिक्षकको योग्यतालगायत आधारमा संस्थागत तथा सरकारी विद्यालयलाई ‘क’ ‘ख’ ‘ग’ समूहमा विभाजन गरेको छ । यसैका आधारमा शुल्क निर्धारण गरेको नगरपालिकाले जनाएको छ ।

स्थानीय पाठ्यक्रम

नागार्जुन नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा गरेर पठनपाठन गरिरहेको छ। शैक्षिक सत्र २०७८ देखि नगरपालिकाले स्थानीय पाठ्यक्रम लागु गरेको हो।

स्थानीयस्तरमा रहेका मूल्यमान्यता, कलासंस्कृतिकको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरी लागु गरेको शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवरले बताउनुभयो।

१०० पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचानलगायतका सम्पूर्ण पक्षलाई समेटिएको छ । उक्त पुस्तकको नाम ‘हाम्रो नागार्जुन’ रहेको छ। विद्यालयका शिक्षक, स्थानीय बासिन्दा र जनप्रतिनिधिबीच छलफल तथा सहमति भई रायसुझावका आधारमा पाठ्यक्रम तयार गरी लागु गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्