बाँडेर नथाक्ने कुँवर

अपाङ्गता भएकालाई ह्वील चियर प्रदान



 काठमाडौं ।

हजुरलाई नमस्ते सामाजिक संस्थाले शारीरिकरुपमा अपाङ्गता भएकाहरुलाई ह्वील चियर वितरण गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका नेता तथा समाजसेवी डा. ताराबहादुर कुँवरले शारीरिक रुपमा अशक्त भएकाहरुलाई सहयोगस्वरुप ह्वील चियर प्रदान गर्नुभएको हो । उहाँले संस्थामार्फत काभ्रेका विभिन्न पालिकामा रहेका वृद्धवृद्धा, असहाय, बालबालिका, अशक्त र एकल महिलाहरुलाई सहयोग गर्दै आउनुभएको छ । हालै मात्र समाजसेवी कुँवरले भुम्लु गाउँपालिकाका वडा नम्बर ६ र ८ मा रहेका शारीरिक अशक्तहरुलाई एक–एकवटा ह्वील चियर उपलब्ध गराउनुभएको थियो ।

कुँवरले अहिलेसम्म एकल सक्रियतामा सामाजिक गतिविधि अगाडि बढाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हजुरलाई नमस्ते संस्थामा कसैको पनि आर्थिक सहयोग छैन । जे जति सेवा गर्न सकेँ त्यो सबै व्यक्तिगत खर्चबाट गरिएको हो ।’ आर्थिक रुपमा कमजोर, सामाजिक अपहेलनामा परेका, शारीरिक रुपमा हिँडडुल गर्न नसक्ने, सहाराविहीनहरुलाई थोरै भए पनि सहयोग गर्ने उद्देश्यले सामाजिक कार्यको थालनी गरिएको उहाँको भनाइ छ ।

विगत लामो समयदेखि दुवै खुट्टा नचलेर हिँडडुल गर्न नसक्ने काभ्रे भुम्लु–६ का हीरालाल दमाई, ८ का धनबहादुर तामाङ र चम्पा लामाले चियर पाए पछि खुसी व्यक्त गर्दै समाजमा कुँवरजस्ता समाजसेवी र मनकारी मान्छे अझै रहेछन् भन्दै प्रशंसा गर्नुभएको छ । ‘मैले साह्रै दुःख पाएको थिएँ । मेरो कारण परिवारले झन् धेरै सास्ती र हैरानी खेप्नुपरेको थियो । चियर पाएपछि अब समाएर हिँडाउनुपर्दैन । यही चियर घुमाएर आफैं भित्रबाहिर गर्न सक्ने भएको छु’ –चियर पाएपछि धनबहादुर लामाले हर्षित हुँदै भन्नुभयो ।

समाजसेवी कुँवरले यसअघि पुस, माघको जाडो महिनामा वृद्धवृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको थियो । साथै पाँचखाल नगरपालिकाको रानीपानी, भुम्लुमा गरी १ सय ३५ थान ब्लाङ्केट बाँडिएको थियो । उहाँले बालबालिकाको शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले भुम्लु गाउँपालिका–८ स्थित श्री प्रकाश उच्च माध्यमिक विद्यालयमा एक लाख रुपियाँ बराबरको व्यक्तिगत अक्षय कोष स्थापनार्थ सहयोग गर्नुभएको थियो । हजुरलाई नमस्ते संस्थामार्फत कुँवरले हालसम्म ८ वटा चियर, १ सय ३५ थान ब्लाङ्केट, १५ थान स्वयम्सेवक सेफ्टी ज्याकेट, विद्यार्थीका लागि विद्यालय पोसाक वितरण गरिसकेको अध्यक्ष डा. कुँवरले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्