कांग्रेसलाई भोट हाल्ने वामपन्थी होइनन् : केपी ओली



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वामपन्थी भन्नेहरू अहिले पनि कांग्रेलाई भोट हाल्दै हिँडेका बताएका छन् ।
सोमबार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई भोट हाल्दै हिँड्नेसँग वामपन्थी एकता गरेर बलियो पार्टी नबन्ने ओलीले बताए ‘वामपन्थी भन्ने, भोट चाहिँ कांग्रेसलाई हाल्नेहरूसँग एकता गरेर पार्टी बलियो हुँदैन, यस्ता शक्तिहरूसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम कसैले राख्नुहुँदैन’, उनले भने ।

ओलीले बलियो बनाउन संगठन विस्तार र सुदृढ गर्नुपर्ने बताए । सो काममा सिङ्गो पार्टी लाग्नु पर्नेमा उनले जोड दिए ।
ओलीले वामपन्थी शक्ति एक ठाउँमा आउन आवश्यक रहेको भए पनि अहिले नै वामपन्थी एकता हुन नसक्ने बताए । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने भए पनि कांग्रेसमा भोट हाल्ने कम्युनिष्टलाई जोडेर कम्युनिष्ट पार्टी नबन्ने उनले प्रष्ट पारे ।

अहिलेको अवस्थामा वामपन्थी शक्ति एक हुँदा मात्रै सरकार नबन्ने र त्यसबाट देश पनि नचल्ने ओलीले बताए । त्यसैले अहिले राष्ट्रवादी र प्रगतिशील शक्ति एक ठाउँमा उभिनुपर्ने ओलीको धारणा छ । ‘अहिले सुशासन समृद्धिको बाटोतर्फ अघि बढ्ने, नराम्रो काम नगर्ने भनेर प्रतिबद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक छ, आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ’, उनले भने ।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरामा आफू जानकार भए पनि अहिले त्यो अवस्था नरहेको उनले बताए । हिजो त्यसैलाई महसुस गरेर कम्युनिष्ट पार्टी निर्माण गरेको भए पनि त्यो टिक्न नसकेको ओलीले स्पष्ट पारे । नेकपा फुटाउँदा वामपन्थी एकताको आन्दोलन कमजोर भएको उनले बताए ।

एमाले वाम एकताकै पक्षमा रहेको भए पनि त्यसको लागि सही समय आउनु पर्ने ओलीले बताए । अब वामपन्थी शक्ति बिच एकता गर्दा पनि छानेर गर्नुपर्ने उनले उल्लेख गरे ।

ओलीले माधव नेपालमा दक्षिणपन्थी अवसरवाद मौलाउँदै गएको बताए । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउन माधव नेपालको पार्टी कांग्रेसँग मिल्न जानु यसैको परिणाम भएको उनले स्पष्ट पारे ।

एकीकृत समाजवादीले कम्युनिष्टको साइन बोर्ड राखेर दक्षिणपन्थीलाई सहयोग गरिरहेको उनले टिप्पणी गरे । उसका गतिविधि समाजवादको पक्षधरलाई कमजोर पार्ने तर्फ लक्षित रहेको ओलीले टिप्पणी गरे ।

ओलीले अहिले देश ओरालो बाटोमा रहेकोले त्यसबाट जोगाउन प्रमुख कार्यभार रहेको बताए । यस्तो बेला प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा लडाइँ गर्नु उपयुक्त नहुने धारणा राखे ।

अहिले मन्त्रालयगत र पदगत प्रश्नमा अलमलिने बेला नरहेको उनले बताए । मन्त्रालयको विषयमा तनाव गरेर जाने कि नयाँ समीकरणलाई बलियो बनाएर जाने भन्ने कुरा प्रमुख रहेको उनले स्पष्ट पारे ।

आफूले अहिलेको समीकरण बदल्न चाहेको तर प्रधानमन्त्री पदलाई महत्त्व नदिएको उनले बताए । ‘देश ओरालो लागिरहेको छ, हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहन्छौँ भने, प्रधानमन्त्री नभएरै पनि देशको ओरालो लाग्ने क्रमलाई रोक्ने बाटोतिर जाँदैनौँ भने राम्रो हुँदैन’, ओलीले भने ।
उनले देशलाई ओरालो लाग्नबाट जोगाउने कुराको अगाडि प्रधानमन्त्रीको कुर्सी महत्पूर्ण नहुने बताए । त्यसैले नयाँ समीकरण बनाउने बेलामा नै आफूले प्रधानमन्त्रीमा आफ्नो रुचि नभएको कुरा राखी सकेको ओलीले स्पष्ट पारे ।

ओलीले आफ्ना सांसदहरूलाई कुनै पनि प्रलोभनमा नफस्न पनि निर्देश गरे । संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न उनले निर्देशन दिए । विगतमा सांसदहरू रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको सम्झाउँदै संसदीय दलको परामर्शमा मात्रै विदेश जान आग्रह गरे ।

सहकारी लगायतका विभिन्न ठगी प्रक्रियामा सांसदहरू मुछिएका बताउँदै ओलीले त्यस्ता कार्यमा नफस्न सांसदहरूलाई सचेत गराए । गलत क्रियाकलापमा सहभागी भई अप्ठेरोमा परेमा त्यसको जबाफदेही पार्टी नहुने ओलीले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्