आठ पास भए कांग्रेस सभापति



हेटौंडा ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकाका करिब ५२ वर्षीय सन्तबहादुर गुरुङले कक्षा–८ को परीक्षा उत्तीर्ण गर्नुभएको छ। थाहा नगरपालिका वडा–५, फुर्केवसन्त निवासी गुरुङले नियमित विद्यालय छाडेको ३८ वर्षपछि ८ कक्षा पास गर्नुभएको हो।

थाहा नगरपालिका–१ मा रहेको झम्केश्वरी माविमा भर्ना हुनुभएका गुरुङ चैत १ गते शुरू भएको थाहा नगरस्तरीय कक्षा–८ को परीक्षामा सहभागी हुनुभएको थियो।

थाहा नगरपालिकाले नगरस्तरीय आधारभूत शिक्षा (कक्षा–८) को परीक्षाफल प्रकाशन गरेपछि गुरुङ उत्तीर्ण भएको खबर आयो। उहाँ खुशीले गद्गद् हुनुभयो । ८ कक्षा उत्तीर्ण भएपछिको खुशी परिवारसँग साट्नुुभयो । सबै खुशी भए। ‘उक्त पल सम्झँदा बडो आनन्द आउछ’ – उहाँले भन्नुभयो।

५ कक्षासम्म गाउँकै वसन्त प्राविमा अध्ययन गर्नुभएका गुरुङले कक्षा–६, ७ र ८ थाहाकै जनकल्याण माविमा अध्ययन गर्नुभएको थियो । ८ कक्षा भने अनुत्तीर्ण भएपछि गुरुङले नियमित विद्यालय छाड्नुभएको थियो । विद्यालय छाड्दा उहाँ १४ वर्षका हुनुहुन्थ्यो।

गुरुङले निकै उत्साहसाथ परीक्षा दिनुभएको थियो । ‘परीक्षाको राम्रो तयारी गरेको थिएँ । राम्रै हुने आश थियो। सोचेजस्तै भयो’, उहाँले भन्नुभयो–पास भएपछि सबैको हौसला पाएकाले उत्साह थपिएको छ। शिक्षाबिनाको जीवन कठिन भएको महसुस गरेपछि पढ्न थालेको हुँ। औपचारिक शिक्षा नभएका कारण धेरै ठाउँमा पछाडि हट्नुपरेको र खल्लो महसुस भएपछि पढ्न जाँगर लागेको उहाँको कथन छ । उत्तीर्णको नतिजापछि सबैले फोन गर्छन्, बधाई दिन्छन्, थप पढ्ने सोच बनाएको छु ।

‘कक्षाकोठा छिर्दा अनौठो लागेन’, उहाँले भन्नुभयो– ‘तर, साना र कलिला भाइबहिनी झ्यालमा झुम्मिएर मलाई हेर्थे र हाँस्थे ।’ आफूले कक्षा–५ सम्म अध्ययन गरेको वसन्त प्राविको व्यवस्थापन समितिको २ कार्यकाल अध्यक्षसमेत भइसक्नुभएका उहाँले भन्नुभयो– ‘विद्यार्थी पढेको देखेर मलाई पनि सधैं पढ्ने चाहनाले सताउने गर्थ्यो। त्यसपछि नजिकको विद्यालयमा भर्ना भएर ८ कक्षा उत्तीर्ण गरेको हुँ । जीवनमा एउटा सफलता हात परेको महसुस भइरहेको छ।’

गुरुङका २ छोरा र पत्नी छन्। उहाँका जेठो छोरा स्नातकोत्तर अध्ययनरत् हुनुहुन्छ। उहाँ एनआईसी एसिया बैंकका जागिरे हुनुहुन्छ। कान्छा छोराले बीएससी एजी पास गर्नुभएको छ। पत्नी मञ्जुकुमारी गुरुङले ५ कक्षा पास गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्