बाघखोर बजारमा सिसि टिभी



दोलखा ।

दोलखाको दक्षिणी क्षेत्रमा पर्ने शैलुङ गाँउपालिकाको केन्द्र बाघखोर बजारमा एसएस फाउण्डेशनले सिसि टिभी राखेको छ । बरिष्ठ समाजसेवी एवं एसएस फाउण्डेशनका संरक्षक शोभित उप्रेतीको आर्थिक सहयोग तथा शैलुङ गाँउपालिकाको समन्वयमा बाघखोर बजारमा सिसि टिभी राखिएको फाउण्डेशनका दोलखा संयोजक नवराज खड्का (राजभाइ) ले बताए ।

बाघखोर बजारमा अपराधिक घट्ना नहोस र नेपालकै प्रसिद्ध पर्यटकीय केन्द्र शैलुङ पुग्ने पर्यटकहरुले पनि सुरक्षित महशुस गर्न सकुन भनेर एसएस फाउण्डेशन मार्फत सिसि टिभी राख्न सहयोग गरेको बरिष्ठ समाजसेवी शोभित उप्रेतीले बताउनु भयो । शैलुङ गाँउपालिकाको केन्द्र बाघखोर बजारमा सिसि टिभी जडान गरिएपछि बजारको गतिविधि निगरानी गर्दै सुरक्षा प्रदान गर्न प्रहरीलाई सहज भएको बाघखोर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक श्रीराम फुँयालले बताउनु भयो ।

जिल्लाको दक्षिणी भेगको मुख्य ब्यापारीक केन्द्र तथा पर्यटकीय केन्द्र शैलुङको थुम्का प्रवेश गर्ने मुख्य नाका बाघखोर बजारमा सिसि टिभी राखिएपछि जाँड रक्सी खाएर हिड्ने तथा खराब मनसाय भएका मानिसहरु पनि सर्तक हुने गरेको प्रहरी सहायक निरीक्षक फुँयालले बताउनु भयो । सिसि टिभीको मुख्य मनिटर बाघखोर प्रहरी चौकीमै रहेकोले पनि बजारको गतिविधि निगरानि गर्न सहज भएको उनले बताए ।

सिसि टिभी जडानपछि शैलुङ गाँउपालिकाका प्रमुख रिमालबाबु श्रेष्ठ, द्वन्द्वविज्ञ डा. बिष्णुराज उप्रेती, शैलुङ गाँउपालिका वडा नम्बर– ८ का पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती, बाघखोर बजार व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठ, एसएस फाउण्डेशन दोलखाको संयोजक नवराज खड्का लगायतले मनिटरबाट बजारको गतिविधि अवलोकन गर्दै अभियानको उद्घाटन गरेका थिए ।

सो अवसरमा शैलुङ गाँउपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले पालिकाको केन्द्रमा सुरक्षा सहजताको लागि एसएस फाउण्डेशनले सिसि टिभी जडान गरिदिएको भन्दै धन्यवाद दिएका छन् । उनले फाउण्डेशनसंगको सहकार्यमा अन्य सामाजिक काम गर्ने समेत बताए । द्वन्द्वविज्ञ डा. बिष्णुराज उप्रेती सिसि टिभी जडान गर्नु अपराध नियन्त्रणको हिसाबले महत्वपूर्ण हुने उल्लेख गर्दै यसको संरक्षण र उपयोगीताको लागि सबै पक्षले चासो दिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्