रुबीभ्यालीमा एम्बुलेन्स



धादिङ ।

धादिङको बिकटमा पर्ने रुवीभ्याली गाउँपालिकालाई हिमालयन हेल्थ केयर नेपाल नामक सामाजिक संस्थाले एम्बुलेन्स उपलब्ध गराएको छ ।

विकट गाउँमा सवारी साधन संचालन हुन थालेपछि सो उच्च पहाडी क्षेत्रको विकट वस्तीका नागरिक बिरामी पर्दा ओसारपसारमा सहजता ल्याउन एम्बुलेन्स उपलब्ध गराएको हो ।

विगत ३२ बर्षदेखि रुवीभ्यालीका स्थानीयको शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनको क्षेत्रमा समन्वय गर्दै आएको संस्थाले यो पटक एम्बुलेन्स सहयोग उपलब्ध गराएको रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले बताउनुभयो ।

जेनतेन सवारी चल्न सुरु गरेको रुवीभ्यालीमा एम्बुलेन्स संचालनमा आएपछि बिरामी पर्दा मंहगो शुल्क तिरेर हेलिकप्टर चार्टड गर्नुपर्ने स्थानीयको बाध्यता हट्ने भएको छ । सडक सञ्जाल र एम्बुलेन्स नहँुदा वर्षमा ५० पटक भन्दा बढी हेलिकप्टर चार्टड गरेर बिरामीलाई अस्पताल लाने गरेको उपाध्यक्ष तामाङले बताउनुभयो ।

यो वर्ष धादिङबेसी तिप्लिङ सडकको मुख्य दुई ठाउँमा पुल निर्माण पनि भएको छ’, तामाङले भन्नुभयो–‘अघिल्लो वर्षको तुलनामा सडक सञ्जाल सहज भएसँगै संस्थाको सहयोगमा एम्बुलेन्स संचालन हुँदा स्थानीयले राहत महशुस गर्नेछन् ।’

एम्बुलेन्स संचालनको लागि छुट्टै समिति निर्माण गरी कार्यविधि बनाएर प्रयोगमा ल्याइने उपाध्यक्ष तामाङले जानकारी दिनुभयो । एम्बुलेन्स रुवीभ्याली आधारभुत अस्पतालले सञ्चालन गर्ने छ ।

गाउँपालिकासँग तीन दशकदेखिको सहकार्य गर्दै आएकोमा अहिले एम्बुलेन्स सहयोग गरिएको हिमालयन हेल्थ केयर नेपालका कार्यकारी निर्देशक तुलमणी बस्नेतले बताउनुभयो । आगामी दिनमा गाउँपालिकालाई १० लाख बराबरको स्वास्थ्य उपकरण सहयोग गरिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्