‘जीवन्त सम्बन्ध’ को बिक्रीबाट प्राप्त रकमले छात्रावृत्ति, २० हजार प्रति बिक्री



काठमाडौं ।

मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक बजारमा आएको छ महिनाको अवधिभित्रै २० हजार प्रतिभन्दा बढी बिक्री भएको छ।

गत असोज ६ गतेदेखि बजार उपलब्ध पुस्तक विमोचनपूर्व नै प्रिबुकिङ भएको थियो। पाठकहरूद्वारा अत्यधिक रुचाइएको पुस्तकहरूको सूचीमा यस वर्ष पर्न सफल उक्त पुस्तक पाठकको व्यापक प्रतिक्रियासहित समीक्षकहरूको प्रशंसा बटुल्न सफल भएको छ।

पाठक प्रतिक्रियासहितको ‘माउथ पब्लिसिटीका कारण स्वदेश तथा विदेशबाट पुस्तकको दिनहुँ माग भइरहेको पुस्तकको प्रकाशक डा. ओम फाउन्डेसनले जनाएको छ। उक्त पुस्तकलाई स्वदेशमा समीक्षा पब्लिकेसन्स्, प्रमुख शहरका पुस्तक पसल, भाटभटेनी सुपरमार्केटका सबै आउटलेटलगायत विभिन्न अनलाइन प्लेटफर्म र वितरकमार्फत् पाठकसमक्ष पुर्‍याउँदै आएको फाउन्डेसनले जनाएको छ।

त्यस्तै फाउन्डेसनका अनुसार भारत, अमेरिका, बेलायत, जापानलगायत मध्यपूर्वीका देशहरूमा अमेजन तथा विभिन्न च्यानलबाट पुस्तक बिक्रीको व्यवस्था मिलाइएको छ। पुस्तकप्रति पाठकको धारणाहरु सार्वजनिक भएपछि स्वदेश तथा विदेशबाट माग बढिरहेको छ। तर, पाठकको अपेक्षा अनुरुप छिटो पुस्तक पठाउन नसकिएको फाउन्डेसनको भनाइ छ।

पाठकको उत्साहजनक सहभागिता र माग बढिरहेकाले फाउन्डेसनले छिट्टै पुनः संस्करण ल्याउने तयारी गरेको छ। लेखकले आफ्नो जीवन भोगाई, अनुभव र ज्ञानलाई रचनात्मक तरिकाले पुस्तकमा समाविष्ट गरेको हुँदा पाठकलाई आफ्नै कथाव्यथा जस्तो लाग्दा सबैको मन जित्न सफल भएको समीक्षकहरूको भनाइ छ।

संस्मरणात्मक विधाअन्तर्गतको गैरआख्यान उक्त पुस्तकले सम्बन्धहरूको गहिराईलाई छर्लङ पारेको छ। ५३ वटा खण्डलाई २३१ पृष्ठमा समेटिएको ‘जीवन्त सम्बन्ध’ पुस्तक कुल २४० पृष्ठको रहेको छ । यस पुस्तकमा विशेषगरी बुबा–आमा र सन्तानबीचको सम्बन्धलाई मिहीन ढंगबाट केलाइएको छ।

त्यस्तै बदलिँदो नेपाली समाजमा खड्किँदै गएको सम्बन्धको महत्वलाई पुस्तकमा सुन्दर तरिकाले प्रस्तुत गरिएको छ। सामाजिक रूपान्तरणका निम्ति बलियो आधार बन्ने ‘जीवन्त सम्बन्ध’ पुस्तकका हरेक खण्डले मानिसलाई आफ्नो दायित्वबारे बुझाउन मद्दत गर्नेछ।

विशेषगरी लेखकले ‘म’ पात्रमार्फत् बुबासँगको सम्बन्धलाई प्रतिनिधिमुलक घटनाका रूपमा दर्शाउँदै नेपाली समाजको बिम्ब प्रस्तुत गर्नुभएको छ। जनस्वास्थ्यका विविध विषयमा आममानिसलाई सुसुचित गराउन सक्रिय डा. ओम मूर्ति अनिलको सामाजिक छवीलाई पुस्तकले सामाजिक रुपान्तरणको अभियानमा समेत समावेश गराएको छ।

यसैबीच वर्ष २०८० को बहुचर्चित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम लेखकले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका निम्ति स्थापित ‘डा. ओम फाउन्डेसन’ मार्फत् खर्च गर्नुहुनेछ।

जस अनुरुप पहिलो चरणमा पुस्तक बिक्रीबाट संकलित रकमबाट शैक्षिक सत्र २०८१ मा ७७ वटै जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने कार्यक्रम तय भएको फाउन्डेसनले जनाएको छ।

छात्रवृत्तिका निम्ति छिट्टै आवेदन माग गरिने तयारी भएको फाउन्डेसनले जनाएको छ। पुस्तकमा उल्लेखित विषयले सामाजिक एवम् वैचारिक रुपान्तरणमा अभिप्रेरित गरेको छ भने छात्रवृत्ति प्रदान गर्ने निर्णयले सामाजिक कार्य गर्न धेरैलाई प्रेरणा मिल्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्