गुणराज नगदसहित सम्मानित



काठमाडौं ।

थाइल्यान्डको बैंककमा भएको १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडी मंगलबार नगदसहित सम्मानित भएका छन्। नेपाल राष्ट्रिय मुवाँथाई संघले आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको हो।

नेपाली खेलाडीले मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा १ ऐतिहासिक स्वर्णसहित २ स्वर्ण, २ रजत र १ कांस्य जितेका थिए । गुणराज रुचालले सेमी प्रोको पुरुष ५४ केजीमा इटालीका ग्राभियल ओलारिउलाई पराजित गरी ऐतिहासिक स्वर्ण जितेका थिए । यसअघि विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनैपनि नेपाली मुवाँथाई खेलाडीले स्वर्ण जितेका थिएनन् ।

विश्व च्याम्पियनसिपको आठौं सहभागितामा गुणराज स्वर्ण जित्न सफल भएका हुन्। गुणराजको उपलब्धि मुवाँथाईमा कुनैपनि नेपाली खेलाडीले हासिल गरेको अहिलेसम्मकै उच्च हो। यसअघि पलिस्था कक्षपतिले २०१९ तथा सञ्जय राईले २०१७ मा भएको विश्व च्याम्पियनसिको एमेच्यारेतर्फ स्वर्ण जितेका थिए।

विश्व च्याम्पियनसिपको १९ औं संस्करणमै परिका बतासले एमेच्योरतर्फ स्वर्ण जितेकी थिइन्। एमेच्यारतर्फ सुशील शाह ठकुरी र सञ्जय राईले रजत तथा गुमान घर्तीमगरले कांस्य जिते।

गुणराजले १ लाख, परिकाले ५० हजार तथा सुशिल, सञ्जय र गुमानले समान १०–१० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र पाए।

प्रतिक्रिया दिनुहोस्