राखेपले ६० औं वार्षिकोत्सव मनायो



काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सव भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भव्यताका साथ मनाइयो। राखेपले सोही अवसरमा विभिन्न ६ विधामा १८ जनालाई सम्मान गर्‍यो। ५ खेलाडी, २ खेल पत्रकार तथा ८ कर्मचारी (२ करारसहित) लाई सम्मान समेत गरिएको थियो।

सिनियरको पुरुषमा एथलेटिक्सका दीपक अधिकारी र महिलामा बक्सिङकी सुष्मा तामाङलाई सर्वोत्कृष्ट खेलाडी अवार्डका साथै १–१ लाख पुरस्कार पनि प्रदान गरियो। दीपकले नवौं राष्ट्रिय खेलकुदमा १० हजार किलोमिटरमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए । उनी १६ औं एसियाली क्रसकन्ट्री एथलेटिक्सका दोहोरो स्वर्ण विजेता समेत हुन् ।

यस्तै सुष्माले थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली महिला बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। नेपाली बक्सिङ खेलाडीले कुनैपनि एसियाली स्तरको बक्सिङमा रजत जितेको यो पहिलो अवसर हो। सुष्माले नवौं राष्ट्रिय खेलकुदको ४८ केजीमा पनि स्वर्ण जितेकी थिइन्।

जुनियरको पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामालाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड दिइयो। उनीहरू दुवैलाई जनही ५०–५० हजार रुपैयाँ प्रदान गरियो।

यस्तै पारा एथलिट खेलाडीको अवार्ड पौडीका भीमबहादुर कुमालले जिते। खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत नवलपरासीको मध्यविन्दु नगरपालिकालाई उत्कृष्ट स्थानिय तह तथा नेपाल भलिबल संघलाई उत्कृष्ट राष्ट्रिय खेल संघका रुपमा पुरस्कृत गरियो।

सर्वोत्कृष्ट, उत्कृष्ट र परिषद् सेवा पुरस्कारबाट पुरस्कृत हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित पुरस्कार पाए। कर्मचारीतर्फ नै इन्जिनियर सविन महर्जन तथा सहायक बक्सिङ प्रशिक्षक राज श्रेष्ठले करार सेवा पुरस्कार प्राप्त गरे। दुवैलाई जनही १० हजार नगद प्रदान गरियो।

प्रतिक्रिया दिनुहोस्