आईपीएलमा दिल्लीमाथि कोलकाताको शानदार जित



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा कोलकाताले दिल्लीलाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै २७२ रन बनाएको थियो। कोलकाताका लागि सुनील नारायणले सर्वाधिक ८५ रन बनाए। ३९ बल खेलेका उनले ७ चौका र ७ छक्का प्रहार गरे।

अंगकृष रघवंशीले २७ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाए। आन्द्रे रसेल १९ बलमा ४१, रिन्कु सिंह ८ बलमा २६ रनमा आउट हुँदा फिल साल्ट र श्रेयस आय्यरले १८–१८ रन बनाए। यो आईपीएल इतिहासमा एक इनिंगमा बनेको दोस्रो ठुलो टोटल हो।

यसअघि यसै आईपीएलमा सनराइजर्सले मुम्बई  इन्डियन्सविरुद्ध २७७ रन बनाएको थियो। दिल्लीका अनरिख नार्खिऐले सर्वाधिक ३ विकेट लिए। इशान्त शर्माको नाममा २ विकेट रहँदा खलील अहमद र मिचेल मार्शले १–१ विकेट लिएका थिए।

कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो। दिल्लीका लागि कप्तान ऋषभ पन्तले २५ बलमा ५५ रन बनाए।

ट्रिस्टन स्टब्सले ३२ बल खेल्दै ५४ रन जोडे। दिल्लीका ओपनर डेबिड वानर १८ र पृथ्वी शा १० रनमा आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्। कोलकाताका वैभव अरोरा र वरुण चक्रवर्तीले ३–३ विकेट हात पारे। मिचेल स्टार्कले २ तथा सुनिल नारायण र आन्द्रे रसेलले १/१ विकेट हात पारे।

यो जितसँगै कोलकाता लगातार तीन खेलमा जित हात पार्दै ६ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ। ४ खेलमा तीन खेल हारेको  दिल्ली भने २ अङ्कसहित नवौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्