मुम्बई इन्डियन्स लगातार हार्दै



एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वमा हुने फ्रेन्चाइजी टी २० क्रिकेट लिगमध्ये सबैभन्दा चर्चित र महँगो प्रतियोगिता हो। यसमा सहभागी टोलीमा मुम्बई इन्डियन्स र चेन्नाई सृुपर किंग्सले सर्वाधिक ५–५ पटक उपाधि जितेका छन्। यही मुम्बई इन्डियन्सको हालत भने यस सिजनमा खराब बनिरहेको छ।

विश्वकै अर्बपतिमध्ये एक अम्बानी परिवार मालिक रहेको मुम्बई इन्डियन्सले शुरुका तीनै खेल हारेको छ। पहिलो खेलमा गुजरात टाइटन्ससँग हारेको मुम्बई इन्डियन्स दोस्रो खेलमा सनराइजर्स हैदराबादसँग पराजित भयो। तेस्रो खेलमा राजस्थान रोयल्सले त १ सय २५ रनमै प्याकअप गरिदियो।

यस सिजनमा नियमित कप्तान रोहित शर्मालाई कप्तानी भुमिकाबाट हटाएर मालिक अम्बानी परिवारले हार्दिक पाण्ड्यालाई कप्तानको जिम्मेबारी दिएको हो । तर, हार्दिकले पनि सोचे जस्तो ब्याटिङ र बलिङ गर्न सकेका छैनन्।

पहिलो खेलमा गुजरातसँग मुम्बई केवल ६ रनले पराजित भएको थियो। यो खेल हार्दा हार्दिकले सातौं नम्बरमा ब्याटिङ गर्न आएका थिए। उनले महेन्द्रसिंह धोनी (एमएस धोनी) ले जस्तै छक्का चौका हानेर टोलीलाई जिताउने टोलीका समर्थकको विश्वास थियो । तर, उनी १ चौका र १ छक्को सहयोगमा मात्र ११ रन बनाएर आउट भए ।

हार्दिक आउट हुन अघि मुम्बईले जित्न ४ बलमा ९ रन बनाउनु थियो । तर, हार्दिक अन्तिम ओभरको तेस्रो बलमा आउट भए। उनले टोलीलाई जिताउने मौका गुमाए । उनीपछि अन्यले ३ बलमा ९ रन पनि बनाउन सकेनन्।

यो खेल हारेपनि मुम्बर्ईले धेरै जसो आईपीएलको संस्करणमा पहिलो खेल हारेको रेकर्ड छ। यसैले पनि उनले गर्दा खेल हार्‍यो भन्ने हार्दिकमाथि कुनै आरोप लागेन। तर, दोस्रो खेलमा भने हार्दिकको प्रदर्शनले गर्दा हारेको धेरैको ठम्याइ रहेको छ।

हैदराबादले पहिले ब्याटिङ गरेर आईपीएलकै उच्चतम स्कोर २ सय ७७ तयार पारेको थियो । यसको जवाफमा मुम्बईले पनि निकै शानदार खेल्यो । पूर्व कप्तान रोहित शर्माले १२ बलमा २६ रन, इशान किसनले १३ बलमा ३४ रन, नमन धरले १४ बलमा ३० रन बनाए ।

मुम्बईका लागि सबैभन्दा आक्रमक खेल तिलक बर्माले देखाए। उनी क्रिजमा रहुन्जेल मुम्बईले जित्ने संभावना बढी नै थियो । तर, उनी ३४ बलमा ६४ रन बनाएर आउट भएपछि जिताउन जिम्मा कप्तान हार्दिकमा आएको थियो।

१४.१ ओभरमा तिलक आउट भएपछि मुम्बईले जितको लागि ३५ बलमा ९६ रन बनाउनु थियो । तर, हार्दिकको ब्याट निकै सुस्त बन्यो। उनी २० बलमा २४ रन बनाएर आउट भएका थिए । अरूको तुलनामा हार्दिकको ब्याटबाट कम रन आएको साबित भएको थियो ।

यसैमा रोहितका समर्थकले सामाजिक सञ्जालमा हार्दिकलाई ट्रोल गर्न पनि पछि परेन । यदि उनको स्थानमा रोहित भइदिएको भए शायद मुम्बईले रेकर्ड चेस गर्ने भन्दै पोस्ट गरेका थिए । हार्दिकमा त्यति दम छैन जति रोहितमा छ भन्नेहरू पनि आए।

उनीहरूको आलोचना पनि सही छ। किनभने रोहितले उनको कप्तानीमा मुम्बईलाई ५ पटक उपाधि जिताएका छन्। मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जितेको थियो।

गत संस्करणहरूमा भने मुम्बईको प्रदर्शन औसत रहेको थियो। रोहितको कप्तानीमा मुम्बईले १ सय ५८ खेलमा ८७ खेल जितेको थियो । यो आईपीएलको इतिहास कोही पनि कप्तानअन्तर्गत दोस्रो सर्वाधिक जित पनि हो।

पहिलो स्थानमा एमएस धोनी छन् । उनको कप्तानीमा चेन्नाई सुपरकिंग्सले २ सय २६ खेलमा १ सय ३३ मा जित हासिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्