दलीय तमासा त्याग



कांग्रेस छोडेर एमालेसँग सत्ता गठबन्धन गरेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएपछि गठबन्धन मिलाउन भएका तमासाले जनतामा झन् नकारात्मक असर पर्दै गएको देखिन्छ । अहिले साना दलहरु मौकाको फाइदा उठाउन उद्यत् रहेका छन् । मन नहुँदा नहुँदै अहिलेको गठबन्धनमा रहेको नेकपा एसले देखाएको तमासा झन् घत लाग्दो बन्दै गएको छ । उसले आफ्नो हैसियत बिर्सेर बार्गेनिङ गर्दै आएको पछिल्लो अवस्थालाई हेर्ने हो भने, उसले अबका दिनमा सदाको लागि सत्ताबाट विमुख हुनुपर्ने र त्योभन्दा पहिला नै फाइदा उठाउने खालका माग राखेर अन्य दललाई दबाबमा पार्न सफल भएको देखिन्छ । नेकपा एसको हैसियत र उसले बार्गेनिङ गर्दै आएको सत्ता साझेदारीलाई हेर्ने हो भने लाजले मुख छोप्नुपर्ने अवस्था देखिन्छ ।
अस्थिर राजनीतिक चरित्र बोकेका साना दलहरुले राष्ट्र, राष्ट्रियता, जनताका समस्या समाधान गर्नेतर्फ भन्दा पनि आफ्नो अनुकूलको निर्णय गराउन ठूला दललाई झुकाउन सकेकोमा खुशी व्यक्त गर्दै आएको पाइन्छ । यसले जनतामा निरासा त बढाएको छ नै, ती साना दलहरुको राजनीतिक भविष्यमाथि समेत प्रश्नचिह्न उठेको छ । उनीहरुको घमण्डले उनीहरुलाई सिध्याउने अवस्था नआउला भन्न सकिँदैन । जनताका सारथी बन्नुपर्ने सरकारमा सहभागी दलहरु कुन मन्त्रालय, कुन प्रदेशको मुख्यमन्त्री आफूले पाउने, नपाए सरकारबाट बहिरिने धम्की दिएर ती दलहरुले आफ्नो निष्ठालाई सत्तासँग बेचबिखन गर्नेतर्फ लाग्नुले पनि उनीहरुको हैसियत प्रमाणित गरिदिएको छ । सत्ताका लागि पार्टीमा देखिएको विचलन र स्खलनले समेत नयाँ जन्मिएका दलहरुको हैसियतलाई प्रमाणित गरिदिएको छ ।
सत्तामा सामेल भएको अर्को पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरुको अवस्था हेर्ने हो भने अवस्था दयनीय बन्दै गएको छ । राष्ट्रसेवक कर्मचारीलाई निकम्मा घोषित गरेर आफ्ना अनुकूलका मानिसलाई कर्मचारीका रुपमा ल्याउन गरिएको पछिल्लो प्रपञ्चले पनि यिनीहरुको हैसियतलाई प्रस्ट पारिदिएको छ । बिग्रेका संरचना बनाउने र भ्रष्ट कर्मचारीतन्त्रविरुद्ध लागेर मुलुकलाई समुन्नत बनाउन लाग्नुपर्ने यी दलहरु आ–आफ्नै डम्फु बजाएर जनतालाई बेवकुफ बनाउन उद्यत भएको पाइन्छ । जुन जोगी आए पनि कानै चिरेका भनेझैँ यी दलहरुले अहिलेबाटै गाईजात्रा देखाउन शुरु गरेकाले यिनीहरुबाट जनताले जे अपेक्षा गरेका छन् त्यो पूरा हुने देखिँदैन । उता संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको नेकपा एमालेलाई चौतर्फीरुपमा खुम्च्याउनका लागि अन्य साना दल सफल हुँदै गएको देखिन्छ । सत्ताविना पनि राजनीति गर्न सकिन्छ भन्ने हेक्का नभएको एमालेलाई अहिले साना दलले जसरी खेलाएका छन् यसले उसको आउँदो राजनीतिक भविष्यमाथि प्रश्नचिह्न खडा गरेको छ । त्यसैले अहिलेको परिवेशमा दलहरुमा देखिएको तमासा उनीहरुले त्याग्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्