नृत्यमा जीवन



काठमाडौं ।

गुल्मीको लिम्घामा जन्मिएर हुर्किएका, तर रूपन्देही सैनामैना–१ का बासिन्दा जीवनकुमार ज्ञवालीलाई बाल्यकालमा स्कुलमा गर्ने नाचगानले राष्ट्रियस्तरको डान्स आर्टिस्ट बनाउँछ भन्ने थाहा थिएन।

निरन्तर रुचिको विषयलाई पछ्याइरहने हो भने एक न एक दिन सफल भइँदोरहेछ भन्ने आभाष उनलाई अहिले आएर भएको छ।

‘मैले डान्स आर्टिस्ट नै बन्छु भन्ने सोच या योजना त बनाएको थिइनँ। तर, डान्समा बच्चैदेखि विशेष रुचि थियो। चार पाँच क्लास पढ्दादेखि नै डान्समा रम्न थालेको थिएँ। डान्स गरेर सर्टिफिकेट पनि पाउथेँ। मेरो आमा दुर्गा ज्ञवाली डान्स टिचर हुनुहुन्थ्यो। मलाई डान्स गर्न उहाँको प्रेरणा र प्रशिक्षणले पनि काम गरेको थियो,’ उनले भने, ‘शायद बच्चा बेलामै राम्रै डान्स गर्ने रहेछु। मेरो डान्स हेरेर सबैले तारिफ गर्नुहुन्थ्यो र हौस्याउनुहुन्थ्यो।’

जीवनकुमार त्यो समयमा गरेको नृत्यले अहिले डान्सर र मोडलका रूपमा स्थापित हुन सघाएको बताउँछन्। ‘त्यो बेलादेखि गरेको डान्सले मलाई आज सफल डान्सर र मोडलको रूपमा स्थापित गराइदिएको छ,’ उनको भनाइ छ।

तर, जीवनले यो सफलताको स्वाद चाख्नुअघि कम्ता संघर्ष गरेका छैनन्। उनी कलाकार बन्ने सपना बोकेरै काठमाडौं आए। कलाकार बन्न इच्छुकले सम्पर्क राख्नु भन्ने विज्ञापन पछ्याउँदै दर्पण फिल्म्स् पुगेर नृत्यको प्रशिक्षण लिए। त्यसपछि कृष्ण फिल्म्स् पुगेर शंकर बिसीबाट नृत्यको प्रशिक्षण पनि लिए। र, आफूलाई नृत्यमा निखार्दै लगे।

यस क्रममा विस्तारै उनले डान्स आर्टिस्टका रूपमा काम पाउन थाले। काम गर्दै जाँदा उनले डान्स आर्टिस्टको रूपमा काम गरेका फिल्म र अन्य गीतको भिडियोको संख्या नै डेढ सयभन्दा बढी पुगिसकेको छ।

नृत्यको क्षेत्रमा विस्तारै अघि बढ्दै जाँदा उनले कोरियोग्राफर कविराज गहतराजको सहायकको रूपमा झन्डै तीन दर्जन फिल्ममा काम गरेपछि आफैँले नृत्य निर्देशन र कोरियोग्राफी पनि गर्न थाले। यो सँगसँगै उनी मोडल र लिड डान्सरका रूपमा पनि मन पराइएका छन्।

औपचारिक रूपमा यो क्षेत्रमा १५ वर्ष लामो समय बिताइसकेका उनले आठ वर्षदेखि फिल्म र अन्य विधाका गीतको भिडियोमा मोडलिङ र नृत्य गर्दै आएका छन्।

उनले स्वरुपराज आचार्यको तिमी खुशी, फिल्म शिवम्को रोधी घरमै, माधवप्रसाद पुडासैनी र पूर्णकला बिसीको राप्ती प्यूठान, सुदीप कार्की, शिवहरि कार्की र मेनुका परियारको मुट फुट्दा पनि, सन्तोष तिरुवाका खुशीका लहर, प्रकाशन कटुवाल र चन्दा अर्यालको जान्नँ बाबा जान्नँ, राजु परियार र समीक्षा अधिकारीको सुर्ती जर्दालेजस्ता गीतको भिडियोको नृत्य र मोडलिङबाट दर्शकको मन जित्दै आएका छन्।

त्यसै गरी उनले मोडलिङ र नृत्य गरेको हिन्दी गीत हावा हावा है जिन्दगी र सनम मे अधुरा, भोजपुरी गीत अभि तो खाली झाँकी है रिलिजको तयारीमा छन्।

नेपाली र भोजपुरी गरी नौ फिल्मका गीतको भिडियोमा कोरियाग्राफी गरेका उनीद्वारा नृत्य निर्देशन गरिएका थुप्रै गीत चलेका छन्।

नृत्य निर्देशन र कलाकारितामा कुन सजिलो कुन कठिन? स्वाभाविक रूपमा प्रश्न उठ्छन्। उनीचाहिँ भन्छन् ‘दुवैका आ–आफ्ना विशेषता छन्। तर, म यी दुवै विधालाई सँगसँगै लिएर हिँडिरहेको छु,’ जीवन भन्छन्।

प्रतिक्रिया दिनुहोस्