पुजार सार्कीमा पलको लुक्स



काठमाडौं ।

तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई लिएर निर्माण भइरहेको फिल्म पुजार सार्कीको सार्वजनिक एक तस्वीर मन पराइएको छ।

फिल्मका निर्देशक दिनेश राउतले अभिनेता पल शाहको पात्र चिनाउने फोटो सार्वजनिक गरेका हुन्। यसअघि प्रदीप खड्का र आर्यन सिग्देलको पात्रको तस्वीर सार्वजनिक भइसकेको छ।

निर्देशक राउतले फिल्ममा पलको पात्रको नाम मेघराज खत्री रहेको जनाउँदै पात्र परिचय दिने फोटो सार्वजनिक गरेका हुन्। फोटोमा शाह काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देखिन्छन्। शीरमा भादगाउँले टोपी लगाएका उनले बाहुलाबिनाको कोट, कमिज र पाइन्ट लगाएका छन्।

निर्देशक राउतले फिल्ममा जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने साझा संघर्षको कथा रहेको बताएका छन्। फिल्म विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले फिल्म प्रकाशमा सहकार्य गरेका थिए।

फिल्ममा अभिनेत्रीद्वय अन्जना बराइली र परीक्षा लिम्बूले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन्। त्यसैगरी साथमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतले अभिनय गरेका छन्।

निर्देशक राउतले प्रसाद, क्लासिक, नोभेम्बर रेन, प्रकाशजस्ता फिल्मबाट हालसम्म दर्शक रिझाउँदै आएका छन्।

एक दर्जन फिल्ममा संगीत दिइसकेपछि संगीतकार सुवास भुसालले पहिलोपटक निर्माण गरिरहेको फिल्ममा उनकै संगीत हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीको गीत रचना, प्रकाश सपूत, शान्तिश्री परियार र केतन क्षेत्रीको स्वर, हिमाल केसीको द्वन्द्व निर्देशन, साजन बस्ताकोटी र सदीक्षा महत्राको कला निर्देशन, राजेश श्रेष्ठको डिओपी र सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ रहनेछ।

प्रतिक्रिया दिनुहोस्