सरकारसँगको वार्तापछि बंगलादेशमा चिकित्सकको आन्दोलन फिर्ता



ढाका ।

स्वास्थ्य मन्त्री डा. सामान्तलाल सेनले भत्ता बढाउने आश्वासन दिएपछि पोष्ट ग्राजुएट्सका ट्रेनि र इन्टर्नहरुको पाँच दिनदेखि जारी आन्दोलन फिर्ता भएको छ । उनीहरू बिहीबार देखि नै काममा फर्किएका छन्।

त्यसअघि पोष्ट ग्राजुएट्स प्राइभेट ट्रेनिज डाक्टर एसोसिएसनका प्रतिनिधि र स्वास्थ्यमन्त्री डा. सेनबीच शेख हसिना नेशनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा वार्ता भएको थियो। मागका विषयमा सरकार सकारात्मक पाएपछि आन्दोलन फिर्ता लिइएको वार्तामा सहभागी चिकित्सकहरूले बताएका छन्।

वार्तापछि स्वास्थ्य मन्त्री डा सेनले पनि डाक्टरहरूको भत्ता वृद्धिको माग तार्किक भएको र आफू त्यो मागसँग सहमत भएको बताएका थिए। ‘अहिलेको बजारको परिप्रेक्ष्यमा पारिश्रमिक नबढाइए उनीहरूलाई बाँच्न मुस्किल हुनेछ। अर्को कुरा उनीहरू अस्पताल सञ्चालन गर्ने मुख्य चालक दल हुन् त्यसैले पनि उनीहरूको मागका बारेमा म सुरु देखि नै सकारात्मक थिएँ,’ मन्त्री डा सेनले भने ।

उनले डाक्टरका मागका विषयमा प्रधानमन्त्री शेख हसिनासंग कुरा गरेको र प्रधानमन्त्री समेत सकारात्मक भएपछि आफू आन्दोलनरत डाक्टरसँग छलफलमा बसेको बताए। ‘प्रधानमन्त्री दयालु हुनुहुन्छ। डाक्टरको मागको विषयमा मैले कुरा बुझाएपछि उहाँले तत्काल पुरा हुने आश्वासन दिँदै काम फर्किने वातावरण मिलाउन मलाई निर्देशन दिए। त्यही अनुसार मैले आन्दोलनरत पक्षसँग कुराकानी गरेँ र काममा फर्किने वातावरण बनाएँ’ मन्त्री डा. सेनले भने ।

आन्दोलनरत चिकित्सकले पोष्ट ग्राजुएट ट्रेनि डाक्टरको भत्ता २५ हजार टाँकाबाट बढाएर ५० हजार टाँका बनाउनु पर्ने माग राखेका छन्। यस्तै पाँच वर्षे एमबीबीएस पछि इन्टर्नको रूपमा काम गर्दा दिइने भत्ता १५ हजार टाँकाबाट बढाएर ३० हजार पुर्‍याउनुपर्ने माग राखेका थिए।

उनीहरूले गत पाँच दिन देखि सेवा बहिस्कार गरी आन्दोलनमा उत्रिएका थिए। मन्त्री ज्यूले इद पछि छिट्टै नै हामीले उठाएको माग कार्यान्वयनमा ल्याउने आश्वासन दिनु भएको छ । तर भत्ता कति बढ्छ भनेर चाहिँ भनिएको छैन। हामीले मन्त्री ज्यूको कुरालाई विश्वास गरेर आन्दोलनबाट फिर्ता भएका हौँ । पीजीका ट्रेनि डाक्टर हबिबुर रहमान सोहागले भने।

बङ्गलादेशमा ५ वर्ष एमबीबीएस कोर्स पुरा गरी इन्टर्नको रूपमा २००० जनाले र पीजी ट्रेनि डाक्टरको रूपमा ८००० जनाले विभिन्न अस्पतालमा सेवा दिइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्