चित्त बुझ्दो जवाफ आओस्



काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्को राज्य व्यवस्था समितिमा दिएको उत्तर चित्त बुझ्दो नभएको कुरा बाहिर आएको छ। सहकारीको अनियमिततालगायतका विषय जोडेर समितिमा दिएको दर्जनौँ प्रश्नको जवाफमा समितिका सांसदले चित्त बुझाएनन्।

कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिनुभएका गृहमन्त्री लामिछानेले आफ्नो संलग्नता नभएको भन्दै चोखिन चाहे। गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई साक्षी राखेर सहकारी ठगी प्रकारणमा उत्तर दिइरहँदा जनताको प्रतिनिधिको रुपमा रहेका सांसदले हेरिरहे।

गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल भनेर समितिले बैठक बोलाएको थियो। सो बैठकमा गृहमन्त्री लामिछानेलाई बोलाइएको थियो । समितिमा जवाफ दिँदा लाग्छ, उहाँ निर्दोष हुनुहन्छ । प्रश्नको जवाफ सुन्दा उहाँले कुनै गल्ती गर्नुभएको छैन । तर कास्की प्रहरीमा उहाँविरुद्ध परेको उजुरी सामान्य होइन ।

जीबी राई समूहले सञ्चालन गरेको सहकारीको रकम अपचलनलाई लिएर रास्वपाका सभापति एवं गृहमन्त्री लामिछानेमाथि प्रश्न उठ्दै आएको छ। पोखराको सूर्यदर्शन, चितवनको सहारा र बुटवलको सुप्रिमलगायतका सहकारीमा सर्वसाधारणले जम्मा गरेको ३० करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी टीभीमा लगानी गरेको भेटिएको छ।

टेलिभिजनको नाममा लामिछानेले एक करोड रुपियाँ ऋण लिएको प्रमाण फेला परेको छ । उहाँले सो विषयमा अनुसन्धान गर्दा आफूले कुनै पनि अवरोध नगर्ने जानकारी दिनुभयो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको बागडोर सम्हालेका लामिछानेले तत्काल राजीनामा दिनुपर्ने माग पटक–पटक गरेको छ। कांग्रेसले सोही विषयमा तीनपटक संसद् अवरुद्ध गरिसकेको छ।

आफ्नो सरकारको गृहमन्त्रीमाथि आरोप लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले उहाँको बचाउ गर्नुभएको छ। गृहमन्त्रीको विषयमा कुनै आरोप पुष्टि नभएकाले उहाँ निर्दोष देखिनुभएको प्रधानमन्त्री दाहालको भनाइ छ।

यस विषयलाई लिएर लामिछानेमाथि निरन्तर प्रश्न उठ्दै आएको छ, प्रतिपक्षी दलले सदन तताएको छ । गत फागुन २१ गतेसम्म प्रचण्ड सरकारमै रहेको कांग्रेसले संस्थागतरुपमा यो मुद्दा उठाएन। तर सरकार छाड्नेबित्तिकै कांग्रेसले सोही विषयमा प्रश्न उठाएको छ।

अहिले यस विषयलाई नेपाली कांग्रेसले पेचिलो बनाउँदै गएको छ। ६ चैतमा प्रधानमन्त्री दाहालले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध प्रमाण नदेखिएको प्रहरी ब्रिफिङ रहेको जवाफ दिँदा पनि कांग्रेसले चित्त बुझाएन । गृहमन्त्रीसँग सहकारी मात्र नभई विभिन्न विषयमा प्रश्न सोधियो।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अनुमतिपत्र लिएको हतियारको विषय, मिटरब्याजी, सहकारी, लघुवित्तलगायतका विषयमा प्रश्न उठेका थिए। तर कतिपय विषयमा चित्त बुझ्दो जवाफ नआएको भनाइ बाहिर आएको छ। त्यसैले चित्त बुझ्दो जवाफ दिने संस्कार बसालियोस्।

प्रतिक्रिया दिनुहोस्