युरोकप २०२४ मा खेल्ने टोलीको टुंगो



लन्डन, (एजेन्सी)

फुटबलको सन्दर्भमा यूरोपलाई पावरहाउस भन्दा फरक नपर्ला । त्यसैले फिफा विश्वकपपछि सर्वाधिक चर्चित फुटबल प्रतियोगिताबाट परिचित छ यूरोकप । ब्यापक आर्थिक लगानी र प्रचार–प्रसारको स्तरियताका कारण पनि अन्य महादेशीय फुटबल प्रतियोगितालाई अहिले यूरो कपले उछिनेको छ ।
फिफा विश्वकपमा खेल्ने धेरै जसो राष्ट्रहरु सहभागी हुने कारणले पनि यूरोकपले विश्वका अधिकांश फुटबल प्रेमीहरूको ध्यान तान्न सफल हुँदै आएको छ । यसको लोकप्रियताकै कारण गत संस्करणदेखि सहभागी राष्ट्रको संख्या १६ बाट २४ पु¥याईएको हो । सन् २०१६ देखि यूरोपेली फुटबल महासंघले यूरोकपको अन्तिम चरणमा सहभागी हुने टोली संख्या बढाएको हो ।

यसपटक आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीको १० वटा सहरमा यूरोकपको १७औं संस्करण आयोजना हुँदैछ । जर्मनीमा हुने युरोकप २०२४ मा खेल्ने पुरै २४ टोलीको टुंगो लागिसकेको छ । बुधबार राति अन्तिम तीन टोली छनोट भएपछि प्रतियोगिताले पूर्णता पाएको हो । प्लेअफबाट टुंगो लागेको टोलीहरू जर्जिया, पोल्यान्ड र युक्रेन हुन् ।

पोल्यान्डले वेल्सलाई पेनाल्टी शूटआउटमा हराउँदा जर्जियाले पनि पेनाल्टी शुटआउटमै नतिजा आफ्नो पक्षमा पारेको थियो । सोभियत संघबाट स्वतन्त्र भए यता जर्जिया पहिलो पटक युरोकपमा खेल्न लागेको हो । अर्को टोली युक्रेनले आइसल्यान्डलाई २–१ ले हराएको थियो ।

यस्तो छ यूरोकप २०२४ मा खेल्ने टोली र समूह वर्गीकरण

समूह ए : जर्मनी, स्कटल्यान्ड, हंगेरी, स्विट्जरल्यान्ड

जर्मनीले विगतमा विश्वकप र युरोकप जिते पनि हालको समयमा प्रदर्शन त्यति राम्रो गर्न सकेको छैन । यो सिजनको युरोकपको आयोजक भएको हुँदा जर्मनीले समूह चरण पार गर्नेमा शंका भने हुनेछैन ।

तर, हंगेरी, स्विट्जरल्यान्ड र स्कटल्यान्ड हाल खतरनाक देखिएको छ । गत युरो २०२० मा जर्मनी अन्तिम १६ मा इंग्ल्यान्डसँग २–० ले हारेको थियो भने समूह चरणमा पनि फ्रान्सविरुद्ध १–० ले पराजित भएको थियो । समूह चरणमै जर्मनीले हंगेरीसँग २–२ बराबरी खेलेको थियो ।

समूह बी : स्पेन, क्रोएसिया, इटालि र अल्बानिया

स्पेन, क्रोएसिया र इटालि सन् २०१२ को युरोकपमा एउटै समूहमा परे यता फेरि एकपटक एकै समूहमा परेका छन् । त्यो समयमा स्पेन र इटालिले फाइनलको यात्रा तय गरेका थिए । उक्त फाइनलमा स्पेनसँग ४–० ले हारेको इटालिले भुलेको छैन होला ।
इटालि भने गत संस्करणको युरोकप विजेता टोली हो । तर, वर्तमान अवस्थामा इटालिले पनि आफ्नो साख जोगाउन संघर्ष गरिरहेको छ ।
तर, स्पेनको टोली २००८ देखि २०१२ सम्म जसरी विश्व फुटबलमा वर्चश्व जमायो त्यो स्तरको प्रदर्शन अहिले टोलीमा छैन ।

समूह सी ः स्लोभेनिया, डेनमार्क, सर्बिया, इंग्ल्यान्ड

इंग्ल्यान्ड गत युरोकप २०२० को उपविजेता टोली हो । फाइनलमा इटालिसँग पेनाल्टी शूटआउटमा पराजित भएको इंग्ल्यान्डले यसपटक पनि फाइनल यात्रा गर्ने अनुमान गरिएको छ । डेनमार्कसँग अहिले खतरनाक खेलाडी छन् । जसको नाम हो रास्मस होएलुन्ड । तर, फुटबल विज्ञहरूले भने गत युरोकपमा सेमिफाइनल पुगे पनि र रास्मस भए पनि डेनमार्क पहिले जस्तो नभएको प्रतिक्रिया दिएका छन् ।

समूह डी : पोल्यान्ड, नेदरल्यान्ड्स, अस्ट्रिया, फ्रान्स

फ्रान्स दुई वर्ष अघि कतारमा भएको विश्वकप २०२२ को उपविजेता टोली हो । अर्जेन्टिनासँग पुनरागमन गरेर खेल पेनाल्टी शूटआउटमा तानेको थियो । तर, दुभाग्र्य पेनाल्टीमा कमजोर साबित भयो र फ्रान्स र क्लियन एम्बाप्पेले लगातार विश्व उपाधि जित्न पनि सकेनन् । फ्रान्स जर्मनीमा हुने युरोकपको विजेता दावेदारीमध्ये एक टोली पनि हो । नेदरल्यान्ड्सले धेरै प्रगति गरेको छ ।

समूह ई : बेल्जियम, स्लोभाकिया, रोमानिया, युक्रेन

रोमेलु लुकाकु र केभिन डीब्रुएन टोलीमा फर्केपछि बेल्जियमको वजन बढेको छ । बेल्जियम विश्व फुटबलमा एक शसक्त टोली पनि हो । यसको बावजुद ठूल्ठूला प्रतियोगिता यो टोली अक्सर कमजोर साबित भइरहेको पनि छ । बेल्जियमा राम्रा खेलाडी छन् । तापनि जर्मनी, इटालि, फ्रान्स र स्पेनसँग प्रतिस्पर्धा गर्न अक्षम नै देखिएको छ ।

समूह एफ : टर्की, जर्जिया, पोर्चुगल, चेचिया (चेक गणतन्त्र)

यस समूहमा पोर्चुगल नै बलियो देखिनेछ । पोर्चुगलका धेरै जसो खेलाडी प्रिमियर लिगमा खेलिरहेका छन् । बु्रनो फर्नान्डेज र बर्नान्डो सिल्भा मुख्य रूपमा रहेका छन् । उनीहरूसँग क्रिस्टियानो रोनाल्डो पनि छ । चेक गणतन्त्र गत युरोकपको क्वार्टरफाइनलमा पुगेको टोली हो । यस समूहमा जर्जिया भने नयाँ टोली हो ।

प्रतिक्रिया दिनुहोस्