मधेसी कल्याण समाजद्वारा होलीका दहन



उदयपुर । 

उदयपुरमा हिन्दु धर्म संस्कार अनुसार होलिकाको दहन गरिएको छ । मधेसी कल्याण समाज उदयपुरले फागु पूर्णिमाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै हिन्दु धर्मका राक्षस हिरण्यकशिपु बहिनी होलिकाको दहन गरेको छ ।

समाजले सदरमुकाम गाईघाटको डिएमगेटमा असत्यको अन्त्य र सत्यको जित भन्दै पौराणिक मान्यता अनुसार भक्त प्रल्हाद जलाउन खोज्दा आफैँ जलेकी होलिकाको प्रतिमा बनाई जलाइएको थियो ।  होलीका आगोमा जलेर नष्ट भएको र सोही जलेको खरानी लगाएर रमाइलो गरेको उपलक्ष्यमा होली खेलिने चलन छ । सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको होली दहन कार्यक्रमको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेतले सामाजिक सद्भाव र एकताको प्रतीक होली पर्व रहेको बताए ।

उनले विकृति बिसंगतीको अन्त्य गर्दै होलीले सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न योगदान पुर्‍याउने बताए । होली राष्ट्रिय एकताको प्रतीक भएकाले यसलाई सभ्यपुर्वक मनाउन आग्रह गरे ।  उपमेयर महेश्वरी राईले कसैको स्वतन्त्रतामाथि प्रभाव नपर्ने गरी होली मनाउनु पर्ने धारणा व्यक्त गरिन् । उनले कसैको इच्छा विपरीत, जबरजस्त रमाइलो गर्न नहुने भन्दै सद्भावकोरुपमा पर्वलाई लैजानु पर्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा स्थानीय कलाकार मिथुन ठाकुर, कृतिका शर्मालगायतले दर्शकको मन लोम्याएका थिए । कार्यक्रममा मधेसी आयोगका अध्यक्ष डाक्टर विजय दत्तले अडियो मार्फत शुभकामना सन्देश पठाएका थिए ।  मधेसी कल्याण समाजका संयोजक सुरज साहको अध्यक्षता र ललित नायकले सञ्चालन गरेकाे कार्यक्रममा मधेसी कल्याण समाजका संस्थापक संरक्षक खेमनारायण यादव (राहुल), नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य इश्वरमणि राउत, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, गैसस महासंघका अध्यक्ष सृजना पौडेल, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइली लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्