सुशासनको लयमा बडिमालिका नगरपालिका



बाजुरा ।

बडिमालिका नगरपालिका सुशासनको लयमा फर्किने संकेत देखिएको छ। कर्मचारीको विषयलाई लिएर बारम्बार विवादमा तानिने यस नगरपालिकामा बमबहादुर केसी गत माघ १६ गते प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भएयता कर्मचारी प्रशासनमा केही सुधार आएको हो।

कर्मचारीमा आत्मअनुशासन र कर्तव्यनिष्ट नभएसम्म नगरपालिकाले काम लिन नसकिने निष्कर्ष निकाल्दै कर्मचारीलाई कामको लयमा फर्काउने प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत केसीले बताउनुभयो।

केसीले भन्नुभयो– ‘निजामती सेवामा आचरण शुद्ध, काममा प्रतिबद्धता र कर्ममा विश्वास गर्ने कर्मचारीबाट राष्ट्रले उल्लेख्य काम लिन सक्छ ।’

उहाँले सरकारी समय प्रयोग गर्ने हो भने मात्र जनताका धेरै काम गर्न सकिने उल्लेख गर्दै समयको दुरुपयोग गर्ने, काम छोडेर दिउँसै भाग्ने प्रवृत्तिले कार्यसम्पादन हुन नसकेको बताउनुभयो। सबै कर्मचारीले आ–आफ्नो जिम्मेवारी पूरा गरे नगरपालिकाले एक वर्षमा राम्रो रिजल्ट ल्याउने उहाँको भनाइ थियो।

‘तराईको जनसंख्याको हिसाबमा पहाडमा कर्मचारी बढी छन् । यहाँ काम कम छ तुलनात्मक रूपमा कर्मचारी बढी छन्। प्रविधिमैत्री भए काम गर्न झन् सजिलो भएको छ’ –अधिकृत केसीले भन्नुभयो।

गत फागुनमा बडिमालिका नगरपालिकाको मेड्पा परियोजनाका दुई कर्मचारीबीच आपसी झगडाको विषयलाई लिएर सामाजिक सञ्जालमा भाइरल भएपछि कर्मचारी आचारसंहिता पालना गर्न भन्दै गत फागुन १८ गते सामूहिक प्रतिबद्धता जारी गरेको थियो ।

मिडियाको सन्दर्भमा उहाँले भन्नुभयो– ‘अहिलेसम्म मिडिया सेन्टरसँग पालिकाको तालमेल नमिलेको जस्तो लाग्यो। लोककल्याकारी विज्ञापन कार्यविधि नगरसभाबाट पारित भइसकेको छ।’ उहाँले प्रक्रिया पुगेर सूचीकृत भएका मिडियालाई अब काखापाखा नगरिने प्रतिबद्धता जाहेर गर्नुभएको छ।

नगरपालिकाका कर्मचारीसँग व्यापक छलफल गरी १७ बुँदे सामूहिक प्रतिबद्धतापत्र जारी भएको छ। कर्मचारीबीचको आपसी विवादलाई न्यूनीकरण गर्न र कर्मचारीका कारण सरकारी काममा व्यक्तिगत स्वार्थ बाझिने गरी काम नगर्न उक्त प्रतिबद्धता जाहेर गरेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्