बहराइनसँग ५-० ले हार्‍यो नेपाल



काठमाडौं ।

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ।

रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले तीन गोल पहिलो हाफमै गरेपनि नेपालले दोस्रो हाफमा दुई मात्रै आत्मसात गरेको थियो। नेपालले घरेलु मैदानमा यो खेल खेल्नु पर्ने थियो।

दशरथ रंगशालाको अवस्था विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि खेल बहराइनमै खेलाइएको हो । नेपालले छनोट अन्तर्गत नै बहराइनसँगको अवे खेल आगामी मंगलबार रिफामै खेल्नेछ ।

खेलको दोस्रो मिनेटमै माहदी हुमाइदानले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए । मोहमद मारहुनको पास सदुपयोग गर्दै हुमाएदानले गोल गरे।

नवौँ मिनेटमा सायद बकेरले गोल गर्दै बहराइनको अग्रता दोब्बर पारे। कर्नरबाट प्राप्त बलमा अनमार्क रहेका बकेरले सहजै गोल गरे । वालियद अलहायमको कर्नरमा नेपाली डिफेण्डरहरुले बल क्लियर गर्न नसकेपछि बकेरले सहजै गोल गरे।

यस्तै पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अली मादनले गोल गर्दै बहराइनलाई ३–० को अग्रता दिलाए । मोहमेद मरहुनल करिब ३० यार्डबाट हानेको फ्रिकिक पोष्टमा लागेर फर्केको थियो। रिबाउन्डमा मादनले हानेको बल गोलकिपर किरणले बचाउन कोशिस गरेका थिए।

नेपालका मुख्य स्ट्राइकर अन्जन विष्ट घाइते हुँदै पहिलो हाफमा मैदान बाहिर आएका थिए । उनको स्थानमा १६औं मिनेटमा दिनेश हेन्जन मैदान प्रवेश गरेका थिए। ८७औं मिनेटमा इब्राहिम अल खतलले गोल गर्दै बहराइनलाई ४–० को अग्रता दिलाए। त्यसपछि इन्जुरी टाइममा प्राप्त पेनाल्टीमा इस्माइल अब्दुल लतिफले गोल गर्दै बहराइनलाई ५–० को जित दिलाए।

समूह एचमा दोस्रो जितपछि बहराइनको तीन खेलबाट ६ अंक भएको छ । नेपाल लगातार तीन हारबाट अंकविहिन हुँदै पूछारमा छ।

प्रतिक्रिया दिनुहोस्