तीन विश्वविद्यालयका उपकुलपति तीन महिने

त्रिविका दुई पदाधिकारी पनि निमित्तकै भरमा



काठमाडौं ।

तीन विश्वविद्यालयका उपकुलपति तीन महिने र त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिस्टार निमित्तै भरमा चलिरहेका छन्। प्रधानमन्त्री एवं तीनवटै विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपकुलपति सिफारिस समितिको कामलाई रोक्दै तीन विश्वविद्यालयमा दैनिक कार्य सञ्चालन गर्न उपकुलपति नियुक्ति गर्नुभएको छ।

कुलपति प्रचण्डले फागुन १८ देखि रिक्त रहेको पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा तीन महिने उपकुलपति नियुक्ति गर्नुभएको हो। विश्वविद्यालयको ऐनमा उपकुलपतिको समयावधि सकेपछि बढीमा ३ महिनासम्मको लागि कुलपतिले उपकुलपति नियुक्ति गर्नसक्ने व्यवस्था छ।

सोही आधारमा प्रचण्डले नयाँ उपकुलपति छनोट नभएसम्म दैनिक काम चलाउनको लागि तीन महिने उपकुलपति नियुक्ति गर्नुभएको हो। स्रोतका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुनः नयाँ मापदण्ड बनाएर उपकुलपति नियुक्ति गर्ने तयारी गरेको छ। त्यतिबेलासम्मको लागि उपकुलपतिको छनोट प्रक्रिया शुरू नगरी निमित्त उपकुलपति नियुक्ति गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वाञ्चल विश्वविद्यालयमा चिकित्सा शास्त्र संकायका डीन डा. शैलेषमणि पोखरेल, सुदूरपश्चिम विश्वविद्यालयमा कानुनका डीन कर्णबहादुर थापा र मध्यपश्चिम विश्वविद्यालयका केशरसिंह रानालाई नियुक्त गरिएको हो । तत्कालका लागि उपकुलपति नियुक्त गरेर समस्या समाधान गरे पनि तीनवटै विश्वविद्यालयले उपकुलपति कहिले पाउने भन्ने विषय अन्योल छ । तीन महिने उपकुलपतिको जिम्मेवारी दिँदा विश्वविद्यालयमा आर्थिक, प्रशासनिक र नीतिगत काम गर्न समस्या पर्ने देखिएको छ ।

तीनवटै विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले कुनै पनि विश्वविद्यालयमा राजनीतिक भागबण्डा नगर्ने प्रतिबद्धता जनाउनुभएको परिवेशमा अब ती विश्वविद्यालयमा पार्टीको भागबण्डाबाट उपकुलपति छनौट हुन्छ कि हँुदैन प्रश्न उठ्न थालेको छ।

सहकुलपति एवं शिक्षामन्त्री श्रेष्ठले पदबहाल भएको दिन विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र मन्त्री सहकुलपति रहने व्यवस्था हटाउने प्रतिबद्धतासमेत जनाउनुभएको थियो । मन्त्रीको प्रतिबद्धताअनुसार विश्वविद्यालयमा स्वतन्त्र विज्ञ उपकुलपति हुन्छन् कि पार्टीका कार्यकर्ता भन्ने विषय पेचिलो बन्दै गएको छ ।

सहकुलपतिले भनेजस्तै स्वतन्त्र व्यक्तिलाई विश्वविद्यालयको उपकुलपति बनाउन सक्ने अवस्था छैन। यसअघि तीनवटै विश्वविद्यालयको उपकुलपति छनोट गर्न सिफारिस समिति गठन गरिएको थियो। पूर्वाञ्चल विश्वविद्यालयको छनोट अन्तिम चरणमा पुगेको र सो विश्वविद्यालयमा १८ जनाले आवेदन दिइसकेको अवस्थामा उपकुलपति सिफारिस गर्न छाडेर तीन महिने उपकुलपति नियुक्ति गरिएको छ।

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा भने प्राध्यापक संघ संगठनको विरोधका कारण प्रक्रिया नै रोकिएको छ । दुवै विश्वविद्यालयको उपकुलपति हुन ९ र ९ जनाले दर्खास्त दिएका थिए।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको संयोजकत्वमा दुवै विश्वविद्यालयको उपकुलपति छनोट समिति बनेको थियो। उक्त समितिले काम जारी राखेको जनाए तापनि खासै प्रतिफल आउन सकेको छैन।

त्यस्तै, त्रिविमा पनि दुई पदाधिकारीलाई निमित्त दिइएको छ। कानुनका डीन डा. कृष्णप्रसाद बस्याललाई निमित्त रजिस्टार र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डीन प्रा. भार्गब धिताललाई निमित्त रेक्टरको जिम्मा दिइएको छ।

प्रतिक्रिया दिनुहोस्