थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरी जवानको मृत्यु 



दार्चुला। 

दार्चुला प्रहरीको मुद्दा शाखाबाट थुनुवा भाग्न खोज्दा उनलाई समात्ने क्रममा भिरबाट लडेर आज एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत कैलालीको कैलारी गाउँपालिका घर भएका सोहन चौधरीको लडेर मृत्यु भएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

 जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षामा रहेका महाकाली नगरपालिका–१ का उमेश कुवरलाई मुद्दा शाखामा सोधपुछ गर्ने क्रममा भाग्न खोजेको तथा उनलाई समात्न जाँदा प्रहरी कार्यालय पछाडि रहेको भिरबाट लडेर मृत्यु भएको बताइएको छ । झन्डै एक सय मिटर तल खसेका प्रहरी जवान चौधरीको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको उनले बताए । हतकडीसहित हाम फालेका कुवरसँगै प्रहरी जवान चौधरी पनि हुत्तिएर भीरबाट लडेको सूचना अधिकारी सिंहले जानकारी दिए।

   टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान चौधरीको जिल्ला अस्पताल दार्चुलामा पु¥याउँदा मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए ।

 प्रहरीको मुद्दा शाखाबाट भागेका कुवर महाकाली नदी तरेर पारी भारत पुगेका थिए । महाकाली नदी किनार नजिकै भारतमा रहेका गोरखा रेजिमेन्टको सहयोगमा प्रहरीले कुवरलाई नियन्त्रणमा लिएको छ । गत माघ ७ गते ड्युटीमा खटिएका दुईजना प्रहरीमाथि चक्कु प्रहार गरी फरार रहेका कुवरलाई फागुन २२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आफ्नै श्रीमती धनिसा कुवरलाई बन्धक बनाएर हिंसा गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई सोधपुछ गर्ने क्रममा प्रहरी हवल्दा जयबहादुर खड्का र जवान डम्बरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट ठगुन्नाको आँखामा चोट लागेको थियो । प्रहरीले कुँवरविरुद्ध अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योग र जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्