प्रदीप नेपालले गरे एमालेको सदस्यता नवीकरण



काठमाडौँ । 

नेपाली कम्युनिस्ट आन्दोलनका हस्ती प्रदीप नेपालले नेकपा एमालेको संगठित सदस्यता नवीकरण गरेका छन् । पूर्वसञ्चारमन्त्री समेत रहेका नेता नेपालले आज एमालेको संगठित सदस्यता नवीकरण गरेका हुन् ।

एमाले संगठन बिभागका प्रमुख काशीनाथ अधिकारीले दिएको जानकारी अनुसार नेता नेपालले एमालेकै संगठित सदस्य रहेको भन्दै नवीकरण गर्ने जानकारी दिएका थिए । संगठन विभाग पमुख अधिकारी आज बरिष्ठ नेता नेपाललाई भेट्न उनकै निवास गोठाटारगएका थिए । सो क्रममा नेता नेपालले सदस्यता आफू एमालेको सदस्य कायम रहेको भन्दै नवीकरण गर्ने जनाउ दिएका हुन् ।

‘मेरो पनि नेता भएकोले उहाँलाई भेट्न गएको थिएँ, उहाँले संगठित सदस्यता एमालेमै रहेको र नवीकरण गरिदिन भन्नुभयो, दिउँसो सहयोगी पठाएर सदस्यता नवीकरण गर्नुभएको छ,’ अधिकारीले भने ।

नेता नेपालले सुरुवाती चरणदेखि नै आफूलाई राजनीतिक यात्रामा सघाउँदै आएका भान्जा सुरेश निरौलालाई पार्टी सदस्यता नवीकरणका लागि पार्टी कार्यालय पठाएका थिए । निरौलाले दशौं महाधिवेशनयताको बाँकी शुल्क तिरेर नवीकरण गरेका हुन् । ‘महाधिवेशनपछि बाँकी रहेको शुल्क तिरेर प्रदीप कमरेडको पार्टी सदस्यता नवीकरण भएको छ,’ निरौलाले भने ।

नेकपा एमालेका स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहेका  नेता नेपाल एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक अध्यक्षको उम्मेदवार बन्दा उनकै टीमबाट महासचिवको उम्मेदवार भई पराजित भएका थिए । अध्यक्ष ओली दोस्रो पटक अध्यक्षको चुनाव लडेर माधव नेपाललाई पराजित गर्दा पनि नेता नेपाल उपाध्यक्षको उम्मेदवार बनेका थिए । तर, पराजित भए । त्यसपछि स्वास्थ्यको कारण पार्टी काममा सक्रियता केही कम गरेका  नेपालले नेकपा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरिदिएका थिए ।

घरमै आएका  माधवको आग्रहमा सनाखत गरेपनि नेपाल सो पार्टीको कुनै पनि बैठक र छलफलमा सहभागी भएनन् । जनताको बहुदलीय जनवादको पक्षमा दृढ उभिँदै आएका  नेता नेपाल सो पार्टीमा संस्थापक केन्द्रीय सदस्यको हैसियतमा राखेपनि ‘माधव नेपालका लागि अन्तिम सहयोग’ मात्र गरेको भन्दै नेकपा एकीकृत समाजवादीमा गएनन् । नेपालले आज एमालेको आफ्नो सदस्यता नवीकरण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्