कान्ति लोकपथ डेढ महिना बन्द हुने



काठमाडौं ।

ललितपुरको सातदोबाटोबाट हेटौँडा पुग्ने कान्ति लोकपथ आगामी चैतदेखि डेढ महिना बन्द हुने भएको छ। ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि चैत १ गतेदेखि वैशाख १५ सम्म राजमार्ग बन्द गर्न लागिएको हो।

मर्मत सम्भारका लागि काल्चेदेखि बगुवा खण्ड बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्द हुनेछ। करिब डेढ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो। चौडा गर्ने क्रममा सडकमाथिका कडा चट्टान कटिङ गर्न ४५ दिन लाग्ने सडक आयोजनाको कार्यालयको अनुमान छ।

विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि अझै निर्माणाधीन अवस्थामै छ। विसं २०१३ सालमा शिलान्यास गरिएको काठमाडौंलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी नै छ।

कान्ति लोकपथको हेटौँडा बुद्ध चोकदेखि ललितपुरको सातदोबाटोसम्मको लम्बाइ ९२ किलोमिटर छ। ललितपुरको टीकाभैरवदेखि तिनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन हुँदै हेटौँडा पुग्ने सजिलो मार्गका रूपमा विकास गरिन लागेको हो।

प्रतिक्रिया दिनुहोस्