रुपनीमा विपन्न लक्षित छात्रवृत्तिमै अनियमितता

जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा ४९ जना फर्जी विद्यार्थीलाई पौने १२ लाख छात्रवृत्ति 



राजविराज ।

सप्तरीको रुपनी गाउँपालिकामा विपन्न लक्षित विद्यार्थीको छात्रवृत्तिमै अनियमितता भएको पाइएको छ ।
गाउँपालिकाबाट गत वर्ष वडा नम्वर १ स्थित श्री कन्छु नरप्रताप माध्यमिक विद्यालय नकटीरायपुरलाई लक्षित विपन्न छात्रवृत्तिका लागि पौने १६ लाख रुपैयाँ निकासा भएको थियो । उक्त छात्रवृत्ति रकम विज्ञान संकायमा अध्ययनरत ६४ जना विपन्न विद्यार्थीहरुलाई वितरण गरेको पाइएपनि सो विद्यालयमा विज्ञान संकायमा जम्मा १५ जना विद्यार्थी मात्रै रहेको खुलेपछि सो विषय बाहिरिएको हो ।

गत वर्ष गाउँपालिकाले पाएको १७ लाख ४० हजार रुपैयाँ बजेटमध्ये विज्ञान संकायका ६४ जना विद्यार्थीलाई २४ हजारका दरले र २ जना विद्यार्थीलाई ६ हजारका दरले गरी कुल १५ लाख ४८ हजार रुपैयाँ वितरण गरेको छ । तर, सो विद्यालयमा विज्ञान संकायका जम्मा १५ जना विद्यार्थी मात्रै छन् ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर विज्ञान संकायमा थप ४९ जना फर्जी विद्यार्थी खडा गरेको छ भने फर्जी विद्यार्थीको नाममा कुल ११ लाख ७६ हजार रुपैयाँ निकासा गरेर अनियमितता गरेको श्रोतको दावी छ । ‘गौसवारा भौचर नम्वर १७१–०८० असार २१ गते छात्रवृत्तिका लागि कुल १५ लाख ७२ हजार रुपैयाँ निकासा दिएको थियो’ श्रोतले भन्यो, ‘फर्जी विद्यार्थीको नाममा निकासा भएको पौने १२ लाख रुपैयाँ जनप्रतिनिधि र कर्मचारीले नै खल्तीमा गएको छ ।’

‘नेपाल समाचारपत्र’लाई प्राप्त आर्थिक वर्ष ०७९-८० को महालेखापरीक्षकको लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनअनुसार पनि छात्रवृत्ति बापतको रकम र खर्चको श्रोत नखुलेको बाँकी २४ हजार गरी कुल १५ लाख ७२ हजार रुपैयाँ असुल गर्नुपर्ने हो । ‘नियमानुसार सामूदायिक विद्यालयमा नियमित अध्ययनरत नरहेका विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गर्ने अधिकारी-पदाधिकारीलाई समेत जिम्मेवार बनाई विज्ञान संकाय पढाईको सम्बन्धमा पालिकाले आवश्यक छानबिन गरी नियम विपरीत वितरण गरिएको छात्रवृत्ति बापतको रकम र खर्चको श्रोत नखुलेको बाँकी २४ हजार गरी कुल १५ लाख ७२ हजार रुपैयाँ सम्बन्धित व्यक्तिसँग असुल गर्नुपर्ने’ प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक परशुराम यादवले गत वर्ष विद्यालयमा १५ जना मात्रै विज्ञान संकायका विद्यार्थी रहेको बताएका छन्  । ‘के कति विद्यार्थीले छात्रवृत्ति पाउनुपर्ने संकाय उल्लेखित फारम भरेर हामीले गाउँपालिकालाई दिने र गाउँपालिकाले नै अनलाइन गर्ने प्रक्रिया छ र हामीले त्यसै गरेका छौं पनि’ उन्ले भने, ‘विज्ञान संकायमा १५ जना मात्रै विद्यार्थी छन्, ६४ जनालाई कसरी २४ हजारका दरले छात्रवृत्ति दिइयो, त्यो गाउँपालिकाललाई थाहा होला ।’ गाउँपालिकाले नै विद्यार्थीको खाता खोल्नेदेखि अन्य कार्य गरेको प्रधानाध्यापक यादवको भनाई छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तारणीप्रसाद यादवले आफू  केही समयअघि मात्रै आएकोले छात्रवृत्तिको विषयमा जानकारी नरहेको बताएका छन् । ‘त्यो विषयमा अध्यक्ष ज्यूलाई जानकारी होला, एक पटक सोध्नुहोला ।’, उनले  भने  ।
गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवलाई सो विषयमा बुझ्न खोज्दा फोन उठेन ।

प्रतिक्रिया दिनुहोस्