बाउली पुल अलपत्र, बालबालिकालाई स्कुल जानै सकस



बाजुरा ।

बाजुरा सदरमुकाम मार्तडी प्रवेश गर्ने मूल बाटो बाउली खोलाको पुल अलपत्र परेको छ। जसले गर्दा बालबालिकालाई स्कुल जानसमेत सकस भएको हो।

मार्तडी–कोल्टी सडक खण्डअन्तर्गत मार्तडी जोड्ने आरसीसी ब्रिज निर्माण सम्झौता भएको अढाइ वर्ष बितिसक्दा पाँच प्रतिशत पनि काम भएको छैन। टीडीआर जुगल कौशिक जेभीले उक्त पुल गत असार १२ गतेसम्ममा सम्पन्न गरिसक्ने गरी जिम्मा लिएको थियो। म्याद थपेर पनि अझै निर्माण कार्य नगरेको सडक डिभिजन साँफेबगर अछामले जनाएको छ।

बडिमालिका नगरपालिकालगायत उत्तरपूर्वी क्षेत्रका चारवटा स्थानीय तह जोड्ने मुख्य पुल निर्माणको तीन वर्ष पुग्न लाग्दा पनि बनेको छैन। पुल नहुँदा सदरमुकाम आवागमनमा निकै असहजता छ। यातायात सेवा नियमित नहुँदा यात्रुले पैदल तथा चर्को भाडा तिर्नुपरेको बिछ्याँ माध्यमिक विद्यालय बिछ्याँका शिक्षक नहकुल जोशीले बताउनुभएको छ ।

बाउली खोलामा पुल नबन्दा वर्षेनी खच्चडमा महँगो भाडा तिरेर सामान ढुवानी गर्नुपरेको छ। महँगीको मारमा स्थानीय परेका उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले बताउनुभयो।

द्वारी भीरबाटोमा रहेको जीर्ण झोलुङ्गे पुल तरेर बालाबालिका स्कुल जान सक्दैनन् । काठे साँघु वर्षाको भेलले बगाएर लैजाने गरेको छ। जिल्ली, पानीखाल, रतुडा, झराउले खर्सेखाडाबाट मार्तडी पढ्न आउने बालबालिकालाई सकस छ। त्यसै गरी, द्वारी देवताको मन्दिरमाथिबाट पुरानो झोलुङ्गे पुल छ।

देउता रिसाउने भन्दै रजस्वला भएकी महिला उक्त बाटोबाट हिँड्दैनन्। जसले गर्दा महिनावारी हुँदा रतुडा, झराउले जिल्ली, पानीखाल, रजातोली र ढम्कनेकी स्थानीय महिला तथा छात्रा सदरमुकाम मार्तडी आउन नपाउने गरेको बडिमालिका–८ झराउलेकी अप्सरा रावलले बताउनुभयो । ‘बाउलीमा पक्की पुल बनेको भए हामीलाई यति समस्या हुने थिएन’ –उहाँले भन्नुभयो ।

तीन महिना काम गरेको मजदुरले ज्याला पनि पाएका छैनन् । काम गराउने ठेकेदार सम्पर्कविहीन छन् । ‘न त पुल बन्यो, न काम गरेको ज्याला पाइयो’ –बडिमालिका–८ का जयबहादुर अयडीले भन्नुभयो । ‘दिनको १२ सय रुपियाँमा खोलाको किनारामा रात–दिन डेड महिनासम्म श्रीमान्ले काम गरे । ज्याला पाउने बेला ठेकदार भाग्यो । दशैंमा भुक्तानी गर्छु भन्थे । आजकाल सम्पर्कविहीन छन्’ –स्थानीय चन्दा अयडीको गुनासो छ ।

‘कन्ट्याक्टरको मान्छे पंकज भट्टलाई भेटेर काम छिटो चालु गर्न निर्देशन दिएको छु । पाँच/सात दिनमा काम सञ्चालन गरेर असारमा सकाउँछु भनेका छन्’, प्रमुख जिल्ला अधिकारी भीमकात्न पौडेलले भन्नुभयो– ‘विकास कार्यमा स्थानीयलाई सुझाउन पालिकालाई पनि भनेको छु ।’

गत जेठमा आएको बाउली खोलाले निर्माणाधीन पुल बाढी–पहिरोमा परेपछि काम अवरुद्ध भएको थियो। ‘पहिलो काम जिम्मा लिएको पेटी कन्ट्याक्टर भोजराज बुढाले कामै गरेनन्। पैसा मात्रै खाए’, टीडीआर जुगल कौशिक जेभीका प्रतिनिधि पंकज भट्टले भन्नुभयो– ‘झन्डै ३०/३५ लाख रुपियाँ तिर्न बाँकी छ । पहिले श्रमिकको रकम तिर्छौं अनि काम सञ्चालन गर्छौंं ।’

२० महिनामा सम्पन्न गर्ने गरी सो पुल ५ करोड ५८ लाख ८८ हजार रुपियाँमा सम्झौता भएको थियो। मोबिलाइजेसन पेस्की भनेर २४ लाख ७५ हजार रुपियाँ ठेकेदार कम्पनीलाई भुक्तानी दिइसकिएको छ।

प्रतिक्रिया दिनुहोस्